निराकारले तन्नाको डोरी छोटो भएपछि हामफालेका थिए
कोरोना संक्रमणपछि धुवाँधूलोबाट बच्न चिकित्सकको सल्लाह पाएका निराकार पाण्डे उद्धार नभएपछि आगलागीबाट बच्न १२औं तलाबाट हाम फाले पनि ज्यान जोगाउन सकेनन्।
पुस १२ गते राति साढे ११ बज्नै लागेको थियो। बिर्तामोड–१ अतिथि सदन रोडछेउ घरमा निदाइसकेका अग्निप्रसाद पाण्डेको मोबाइलमा घण्टी बज्यो। अग्निप्रसादलाई माइला छोरा निराकारले मेसेन्जरमा कल गरेका रहेछन्। त्यो घण्टीको आवाजले अग्निप्रसादको मात्र निद्रा खुलेन, पाण्डे परिवारमा वज्रपात नै गर्यो।
व्यापारको सिलसिलामा थाइल्यान्ड गएका निराकार काम सकेर सोमबार थाइल्यान्डको सीमावर्ती क्षेत्र कम्बोडियाको पाइपेडे पुगेका थिए। अघिल्ला दुई रात अर्कै होटलमा बसेका उनी त्यहाँ बस्न असहज भएको भन्दै बिहीबार राति ग्रान्ड डायमन्ड सिटी होटलमा बस्न पुगेका थिए। दुर्भाग्य सोही राति होटलमा आगलागी भयो।
कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटलमा गत बुधबार आगलागी हुँदा झापाको बिर्तामोड नगरपालिका-१ का ४० वर्षीय निराकारको निधन भयो। उद्धारका लागि आफन्तसँग घण्टौंसम्म भिडिओ कल र फोनमा याचना गरेका उनले ज्यान जोगाउनकै लागि होटलको १२औं तलाबाट हाम फालेका थिए। तर, उनकाे ज्यान जोगिएन।
भवनबाट हाम फाल्नुअघि उनले नौ वर्षीय छोरालाई भिडिओ सन्देश पठाएका थिए। बिर्तामोड नगरपालिका-१ का वडाध्यक्ष समेत रहेका निराकारका बुवा अग्निप्रसाद आफ्नो छोरा निडर भएको बताउँछन्। “यहाँभन्दा निडर पनि कोही हुन्छ र?” जिन्दगीको अन्तिम क्षणमा निराकारले आफ्ना छोरालाई भनेको कुरा सम्झिंदै अग्निप्रसाद भन्छन्, “मेरो छोराको शरीर मात्रै मरेको हो। उसको साहस, आत्मविश्वास कहिल्यै मर्नेछैन।”
निराकारका साइँला भाइ निश्चल दाइले बाँच्नका लागि गर्नुपर्ने सबै प्रयास गरे पनि सफल नभएको बताउँछन्। “दाइले आफू बस्ने कोठाको तन्ना काटेर डोरी पनि बनाउनुभयो,” उनी भन्छन्, “तर, त्यो सात तलासम्म मात्रै पुग्यो। सातौं र आठौं तलामा आगो दनदनी थियो। त्यसपछि दाइले बाँच्ने आशै नभएको सुनाउनुभएको थियो।”
निराकारकी बहिनी पर्ने एलिशा प्रसाईं दाइ सानोतिनो घटनामा नआत्तिने व्यक्ति रहेको स्मरण गर्छिन्। कामको सिलसिलामा भारत गएको वेला तीन वर्षअघि निराकारलाई कोभिड–१९ संक्रमण भएको घटना सम्झिंदै एलिशा भन्छिन्, “कोरोना महामारीको पहिलो लहरमा संक्रमण हुँदा दाइ कामको सिलसिलामा भारतमा हुनुहुन्थ्यो। उहाँ झण्डै दुई महीना कोरोनाले थलिनुभएछ। तर, फोनमा हामीलाई कहिल्यै म बिरामी छु, मलाई गाह्रो भएको छ भन्नुभएन। हामी अत्तालिएर दाइलाई फोन गर्दा उल्टै प्यानिक नहुन भन्नुहुन्थ्यो।”
कोरोना भएपछि चिकित्सकले निराकारलाई धुवाँ र धूलोबाट बच्न सुझाएका थिए। त्यसैले होटलमा आगलागीका वेला उनी धुँवाबाट बच्न झ्याल बाहिर बसेको निश्चल बताउँछन्।
सञ्चार माध्यमसँग असन्तुष्टि
निराकारको मृत्युको खबर पाएपछि निराकारका बुबा अहिले काठमाडौं पुगेका छन्। निराकारको घरमा शुभचिन्तकको घुइँचो लागेको छ। शनिबार बिहान बिर्तामोडस्थित निराकारको घर पुग्दा शुभचिन्तकहरू आउने-जाने गरिरहेका थिए।
उनीहरू घटना कसरी भयो? अहिलेसम्म शव ल्याउन के के प्रयास भए भनी जिज्ञासा राखिरहेका थिए। जिज्ञासाको उत्तर निश्चल दिंदै थिए। क्यामेरा सहित प्रश्न सोधे उनले श्रीमती संगीतालाई सोध्न अनुरोध गर्थे।
परिवारका सदस्यहरू टेलिभिजन, पत्रपत्रिका, यूट्युब र अनलाइनमा प्रकाशित तथा प्रसारित समाचार हेरिरहन्थे। १२ वर्षीया आर्या पाण्डेले (निराकारकी भतिजी) मोबाइलमा ठूलोबुवाका बारेमा आएका समाचारबारे आमा (संगीता)सँग भनिन्, “ममी, यसले त ठूलोबाबा क्यासिनोमा गएको भनेर लेखेछ।”
परिवारका सदस्यहरू निराकार क्यासिनोमा नगएको प्रष्टीकरण दिइरहेका थिए। कसैले सोधे ‘अहिले यो विषयमा बोल्नै मन छैन’ भनेर टार्थे। कतिलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली नलेखिदिन अनुरोध गर्दै थिए।
निराकारबारे आएको समाचार र सामाजिक सञ्जालमा लेखिएका कुराले परिवारलाई झनै पीडा दिएको छ। किनकि, क्यासिनोमा गएका वेला निराकार उक्त घटनामा परेको समाचारमा उल्लेख भएको उनीहरूको गुनासो छ। यति मात्र होइन, कतिले उद्धार हुँदाहुँदै निराकारले आत्महत्या गर्यो भनी सामाजिक सञ्जालमा लेखिएको परिवारका सदस्यहरू बताउँछन्।
सम्झनामा निराकार
निराकारलाई उनका साथीसँगी र आफन्तले विपिन भनी बोलाउँथे। २०५८ सालमा बिर्तामोडकै एक निजी विद्यालयबाट एसएलसी गरी काठमाडौं छिरेका उनी फुर्सद हुनासाथ बिर्तामोड पुग्थे।
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा निराकारका बुबा अग्निप्रसाद बिर्तामोड–१ बाट वडाध्यक्ष पदका उम्मेदवार थिए। चुनावी प्रचारमा निराकार भोकैप्यासै हिंडेको महिला वडा सदस्य यमुना आचार्य बताउँछिन्।
निराकारकाले निधनले अतिथि सदन रोड मात्रै होइन, सिङ्गो बिर्तामोड बजार शोकमा छ। उनको निधनले बिर्तामोडले एउटा इमानदार र आँटिलो युवा गुमाएको निराकारका साथी अभिषेक बताउँछन्।