सत्यजीतको कञ्चनजंघा
कञ्चनजंघा र सिक्किम चलचित्र निर्माणबाट विख्यात फिल्ममेकर सत्यजित रेले हिमालप्रतिको प्रेम दर्शाउँदै कला र सौन्दर्यको उत्कृष्टता प्रस्तुत गरेका छन्।
सन् १८९१ मा उपेन्द्रकिशोर रे चौधरी जब दार्जीलिङ पुगे, धेरै मानिस जस्तै उनी पनि त्यो मनोरम पहाडको सौन्दर्यबाट मोहित भए। त्यस ठाउँको वर्णन गर्दै लेख र चिठीहरू लेख्न थाले। पहाड-पर्वतप्रतिको उनको त्यो प्रेम उनका नाति सत्यजित रेमा पनि सर्यो, जसले लेखन र सिनेमा दुवै क्षेत्रमा उत्कृष्ट सिर्जना गरे। विख्यात फिल्ममेकर रेलाई कुनै परिचय चाहिँदैन, तर हिमालप्रति उनको प्रेमबारे धेरैलाई थाहा नहुन सक्छ।
सत्यजित रेका प्रायः चलचित्र अन्य कथाकारका कथामा बनेका थिए। सन् १९६२ मा उनले आफैं पटकथा लेखे, र त्यसमै आधारित आफ्नो पहिलो रङ्गीन चलचित्र बनाए- कञ्चनजंघा। छुट्टी मनाउन दार्जीलिङ गएको बंगाली धनाढ्य राय बहादुर इन्द्रनाथ रोय चौधरीको परिवार भोलिपल्ट कोलकाता फर्कन लागेको विषयमा चलचित्र केन्द्रित छ। चलचित्रका घटनाक्रम दार्जीलिङको अब्जर्भेटरी हिल नजिकैबाट शुरू हुन्छ।
समय र स्थानको निकै सानो दायरामा खिचिएको यो चलचित्र प्रयोगात्मक र आफ्नो समयभन्दा धेरै अगाडि थियो। रेका अन्य चलचित्रमा जस्तो यसमा कुनै मुख्य पात्र छैन, बरु कथानक नै खण्डित छ। रङ र प्रकृतिले चलचित्रको कथानकमा चमक थपेका छन्।
दार्जीलिङमा झलमल्ल घाम लागेको दृश्यबाट चलचित्र शुरू हुन्छ- सबै कुरा ठीकठाक छ, सबै जना खुशी र शान्त छन्। त्यसपछि बादल लाग्छ, र डरलाग्दा रहस्य एकपछि अर्को गर्दै बाहिर निस्किरहन्छन्।
त्यसपछि त्यो सानो नगरमाथि कुहिरो लाग्न थाल्छ, र हरेक पात्रको मनमा हामी शङ्का देख्न थाल्छौं। कुहिरो हटेपछि ती शङ्का निर्णयमा बदलिन्छन्। र, झलमल्ल घाम लागेपछि कथाको सुखान्त हुन्छ र कञ्चनजंघाको सुन्दरता देखा पर्छ।
रेले कञ्चनजंघाको पटकथा १० दिनमा लेखेका थिए र छायाङ्कन २४ दिनमा सकेका थिए। त्यो उनले त्यति छोटो समयमा कसरी गरे भनेर अचम्म लाग्न सक्छ। शायद त्यसको एउटा कारण उनको सिर्जनात्मक शक्ति थियो, र अर्को उनको प्रेरणाको स्रोत- कञ्चनजंघा। उनले दार्जीलिङको विन्डमेयर होटलको कौसीमा बसेर पटकथा लेखेका थिए। उनले करिअरकै सबभन्दा अद्भुत सिर्जनात्मक ‘स्टन्ट’ कसरी गरे भन्ने प्रश्नको उत्तर चलचित्रमा एउटा पात्रले बोलेको संवादले दिन्छः
‘शायद यो ठाउँको कमाल हो... मैले यस्तो ठाउँ कहिल्यै देखेको थिइनँ। यो भव्य हिमालय, यी सल्लाका शान्त रूख, घाम, बादल र कुहिरोको अनौठो लुकामारी। यो एकदम काल्पनिक जस्तै छ, सपना जस्तो। मेरो दिमाग घुमिरहेको थियो, मेरो आँखासामु सबै कुरा बदलिरहे जस्तो लाग्थ्यो।’
रेको अनुपम शैलीमा प्रस्तुत सिक्किम उनको सिने यात्राको अर्को रत्न हो, जसलाई ४० वर्षको अन्तरालमा दुई वटा देशले काँटछाँट मात्र गरेनन्, प्रतिबन्धित समेत गरे।
विगतमा सिक्किम भारतको हिस्सा थिएन, राजाले शासन गरेको स्वतन्त्र राज्य थियो। संसारलाई सार्वभौम राष्ट्र सिक्किम चिनाउन सन् १९७१ मा त्यहाँका राजा छोग्याल पाल्देन थोन्डुप नाम्ग्याल र उनकी रानी (अमेरिकी नागरिक होप कुक)ले सत्यजित रेलाई वृत्तचित्र बनाउन लगाए।
रेले सिक्किमको इतिहास, भूगोल, जीवजन्तु, कला, संस्कृति र मानिसको बारेमा बनाएको त्यो चलचित्र छोग्याललाई मन परेन। सिक्किमका जनताको गरीबीको दृश्यबारे उनले नकारात्मक प्रतिक्रिया दिएपछि ती दृश्य काटिए।
सन् १९४७ मा ब्रिटिश राजबाट भारत स्वतन्त्र बनेपछि सिक्किममा पनि प्रजातन्त्रका लागि राजतन्त्रविरोधी आन्दोलन हुन थाल्यो। छोग्यालले आन्दोलन दबाउन भारतको सहयोग मागे। चीनसँग प्रतिस्पर्धा गर्ने क्रममा भारतले सन् १९५० मा छोग्यालसँग एउटा सन्धि गर्यो, जस अन्तर्गत सिक्किम भारतको संरक्षित राज्य बन्यो।
समयक्रममा सन् १९७५ मा सिक्किम भारतमा विलय भयो। त्यस लगत्तै भारत सरकारले रेको वृत्तचित्रमाथि प्रतिबन्ध लगायो। सन् २०१० मा भारतको विदेश मन्त्रालयले प्रतिबन्ध हटाएपछि यो वृत्तचित्र फेरि देखा पर्यो। त्यसै वर्षको १६औं कोलकाता चलचित्र महोत्सवमा सिक्किम प्रदर्शन गरिएको थियो।
वृत्तचित्रको शुरूआतमा रेले सिक्किमको भूगोलको वर्णन गर्छन्- ‘विशाल हिमालयको मुटुमा एउटा सानो टीका। विशाल भए पनि कलिला हिमशृङ्खला हुन् हिमालय, जुन अहिलेसम्म बढ्न छोडेका छैनन्।’ सिक्किमको क्षेत्रफल सानो भए पनि त्यहाँ सुन्दर दृश्य भएको बताउँदै रे बयान गर्छन्- कुहिरोले ढाकेका हिमाल, हिउँ पग्लेर बनेका भव्य झरना, उर्वर र हरिया उपत्यका, गर्जिंदै बग्ने खोला र ठाडो पहाडले धर्तीमा स्वर्गको आभास दिन्छन्।
त्यसपछि रे त्यहाँको वनस्पतिबारे बताउँछन्- सयौं प्रकारका सुनगाभा र गुराँस जुन अनेकौं रङमा फुल्छन्। सिक्किमका मानिसको उद्गम, धर्म, पेशा र आनीबानीको वर्णनमा उनी थुप्रै समय खर्चन्छन्। सिक्किममा लेप्चा, नेपाली, भुटिया, तिब्बती र भारतका अन्य ठाउँबाट आएका मानिस कसरी आआफ्नो पहिचानका साथ बस्छन् भन्ने हामी थाहा पाउँछौं।
वृत्तचित्रले सिक्किममा शिक्षा निःशुल्क भएको र देशले बजेटको २० प्रतिशत भावी सन्ततिका लागि खर्च गर्ने बताउँछ। रे त्यहाँका विभिन्न जातजातिको धार्मिक अभ्यासको व्याख्या गर्दै यो सहिष्णु राज्य रहेको बताउँछन्। वृत्तचित्रको अन्त्यतिरको भाग सिक्किमका चाडपर्व र उत्सवमा केन्द्रित छ। लामाहरूले भूतप्रेत भगाउन नाच्ने एउटा नाच देखाइन्छ।
तिब्बती वर्षको अन्त्यमा राजदरबारको ढोका खोलेर एउटा उत्सव मनाइन्छ, जहाँ जुवातास खेलिन्छ, रक्सी खाइन्छ र रमाइलो गरिन्छ। तर, त्यो रमाइलो माहोलमा पनि सिक्किमी जनताबीच आय र अन्य स्थितिमा असमानता दर्शकले देख्न सक्छ।
वृत्तचित्रमा सौमेन्दु रोयको क्यामेराले त्यहाँका दृश्य बडो प्रेमपूर्वक कैद गरेको छ। कल्पना गर्नुहोस्- कुहिरोको सेतो पर्खाल, त्यहाँबाट बिस्तारै निस्किँदै गरेको केबलकार, त्यसको छेउमा धरापमा उभिएको एउटा कर्मचारी, तर पनि दह्रो खुट्टा टेकेको- एउटा अद्भुत दृश्य। त्यसपछि झनै काव्यात्मक दृश्य आउँछ- टेलिग्राफको तारमा वर्षात्को थोपा तप्किरहेको। वा कञ्चनजंघाको काखमा बच्चाहरू हाँस्दै विद्यालय गइरहेका र गान्तोकको बजारमा किसानले सामान मिलाइरहेका।
रे र उनका छायाकार रोयले यस्ता दृश्य देखाउँछन् जुन अरू मानिसले शायदै याद गर्छन्। यो वृत्तचित्रले सिक्किम राज्यको इतिहास मात्र नभएर आधुनिकताले नछोएको साधारण समय पनि देखाउँछ। यो वृत्तचित्र हेर्दा मनमा एउटा कुरा आउँछ, काँटछाँट गरेर बाँकी भएको अंश यस्तो छ भने पूरै फिल्म कति सुन्दर हुँदो हो!
000
सत्यजीत रेले लेखेका बंगाली उपन्यास र कथाका पात्र हुन् प्रोदोश चन्द्र मित्तर अर्थात् फेलुदा। रेले ती कथामा फेलुदा पुगेका ठाउँका छोटो विवरण, इतिहास र भूगोल पनि राख्ने गर्थे। थुप्रै कथामा फेलुदा हिमालय पुगेका थिए। फेलुदा र गोएन्दागिरि, गान्टोके गोन्डोगोल, जोतो कान्डो काठमाण्डुते (काठमाडौंका अपराधीहरू), एबार कान्डो केदारनाथे, दार्जीलिङ जोमजोमात, भूस्वग्र्य भयङ्कर जस्ता कथाहरूमा रेले हिमालका जीवन्त वर्णन गरेका थिए। साथै, उनले यी सबै कथाका शीर्षकको कलिग्राफी पनि आफैं गरेका थिए र चित्र पनि आफैं बनाएका थिए।
रेको सिर्जना शिल्पको चर्चा गर्न लामो समय लाग्छ, त्यसैले यहीं रोकिन्छु। माथि चर्चा गरिएका दुई चलचित्र मार्फत रेले तपाईंले प्रेम गर्ने हिमालबारे नयाँ प्रकाश पारिदिनेछन्।
(हिमाली प्रकृति र जीवनबारे गहिरो चासो राख्ने भारत, कोलकाताका चक्रवर्तीको यो लेख द हिमालयन जर्नलबाट सेवा भट्टराईले भावानुवाद गरेकी हुन्।)