विमोचनकै दिन शीतल कादम्बिनीको ‘सिन्का पाउँरु’ पुरस्कृत
गीतकार, गजलकार तथा कवि शीतल कादम्बिनीको उपन्यास सिन्का पाउँरु विमोचनकै दिन पुरस्कृत भएको छ।
गुरुङहरूको मुख्य चाड तमू ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उपन्यास सार्वजनिक गरेका हुन्। गुरुङ समुदायको कथामा आधारित उपन्यास भएकाले विमोचनका लागि तमू ल्होसारको सन्दर्भ पारिएको जनाइएको छ।
सार्वजनिक भएकै दिन उपन्यासले ‘तमू वर्ष पुस्तक पुरस्कार–२०२२’ प्राप्त गरेको छ। तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले गुरुङ समुदायभित्र अध्ययन तथा लेखन संस्कृति अभिवृद्धि गर्ने उद्देश्यले सन् २०२० देखि हरेक वर्ष तमू ल्होसारमा पुरस्कार प्रदान गर्दै आएको छ।
परिषद्ले तमू समुदायबारे लिखित तथा प्रकाशित पुस्तक पुस ६ गतेसम्म बुझाउन सूचना जारी गरेको थियो। “दुई साताअघि नै पुस्तक प्रकाशित भए पनि विमोचनका लागि ल्होसार पर्खिरहेका थियौं। त्यही सन्दर्भमा पुस्तकले पुरस्कार पनि प्राप्त गर्दा दोब्बर खुशी लागिरहेको छ,” कादम्बिनीले भनिन्।
कादम्बिनीका ‘कहाँ थियौं तिमी रङ्गमञ्च उठेपछि आयौ’, ‘धेरै चोटि मरें म त धेरै चोटि बाँचें’, ‘झुमा झुम्कावाली’ लगायतका गीत लोकप्रिय छन्।
सिन्का पाउँरू उनको पहिलो उपन्यास हो। यसलाई यात्रा पब्लिसिङ हाउसले प्रकाशन गरेको हो।