शेर्पा-संघर्ष
नेपालका सबै शेर्पा हिमाल चढ्दैनन्, तर यहाँका सबै हिमालमा शेर्पा नभई हुँदैन। हिमालका लागि शेर्पा अपरिहार्य भए पनि शेर्पा बन्न सजिलो छैन।
सगरमाथा क्षेत्रमा म तीन पटक गएको छु। पहिलो पटक सन् २००९ मा एभरेस्ट म्याराथनमा सहभागी हुन गएको थिएँ। दोस्रो पटक त्यसै वर्षको अन्त्यमा सगरमाथाको काख कालापत्थरमा मन्त्रिपरिषद् बैठक हुँदा पुगेको थिएँ। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा निम्त्याएको सङ्कटबारे विश्वको ध्यान तान्ने उद्देश्यले नेपाल सरकारले विश्वको सर्वोच्च स्थानमा मन्त्रिपरिषद् बैठक राखेको थियो।
तेस्रो पटक गत अप्रिलमा नेपाल, भारत र बाङ्लादेशका पत्रकारसँग गएको थिएँ। तीनै पटक सगरमाथाको आधारशिविर समेत नपुगी फर्किएँ, त्यसभन्दा माथि त परकै कुरा। विदेश जाँदा नेपालबाट आएको भन्ने बित्तिकै प्रायः मानिस ‘सगरमाथा चढेका छौ’ भनेर सोध्छन्। जवाफमा म हाँस्छु र भन्छु, ‘त्यो चढ्ने होइन, हेर्ने चुचुरो हो।’ नेपाल नआएकालाई लाग्दो हो, सगरमाथा त नेपालीका लागि पानीपँधेरो झैं हो र हरेक नेपाली शेर्पा हो।
तेस्रो पटक पनि टाढैबाट चुचुरो हेरेर फर्केपछिको केही सातामा मैले २६ पटक सगरमाथा चढेका कामीरिता शेर्पासँग अन्तर्वार्तामा केही घण्टा बिताएँ। उनी बौद्धको एउटा क्याफेमा आउँदा न क्याफेको वेटरले चिन्यो न वरिपरिका कोही फोटो खिच्न आए। सोचें, यी कीर्तिमानी आरोहीलाई पनि कसैले किन चिनेन? २६औं पटक सर्वोच्च शिखर चुमेका उनी र एक पटक पनि आधारशिविर नपुगेको म उस्तै रहेछौं।
म उनलाई मिलाएर प्रश्न सोध्थें, उनी प्रश्नभन्दा पनि छोटा उत्तर दिन्थे। म लामो भूमिका बाँधेर बुझाउन खोज्थें, उनी फेरि केही वाक्यमै आफ्नो कुरा सकिहाल्थे। त्यतिका पटक सगरमाथा चढेको मान्छेसँग बोलेरै नसकिने अथाह कथा हुनुपर्ने हो, तर किन यति छोटो बोलेका होलान् भन्ने लाग्यो। तर, अर्को मनले सोचें, जसका लागि सगरमाथा चढ्नु एउटा काम हो उसले त्यसलाई कामभन्दा माथि सोचेकै हुँदैन शायद।
उनका लागि सगरमाथाको शिर एउटा गन्तव्य हो र त्यहाँ आफ्ना ग्राहक पुर्याउनु काम हो। त्यो काम गर्दा उनले कीर्तिमान बनाए वा त्यो आफैं बन्यो। त्यसैले उनीमा सामान्य भाव थियो। उनको अन्तर्वार्ता लेख्ने क्रममा भने म चौथो पटक सगरमाथा पुगें, घरी गुगल नक्शा मार्फत त घरी कसैले लेखेको लेख वा किताब मार्फत।
पाँचौं पटक भने प्रदीप बस्याल र अंकितबाबु अधिकारीको किताब शेर्पा मार्फत सगरमाथा गएँ। त्यस क्रममा आधारशिविर, खुम्बु आइसफलको तल्लो भागमा रहेको पपकर्न फिल्ड, अलि माथिको फूटबल फिल्ड, क्याम्प एकदेखि क्याम्प चारसम्म, साउथ समिट, बाल्कनी, हिलरी स्टेप हुँदै शिखरमै पटक पटक पुगें, पटक पटक झरें। कतै झस्किएँ, कतै मस्किएँ। कतै नाचें, कतै खुम्चिएँ।
नेपालबारे लेखिँदा सबैभन्दा धेरै लेखिएको विषय हो, सगरमाथा। र, धेरै पटक एउटै तरीकाले, एउटै समुदायका मानिसले लेखेको विषय पनि हो, सगरमाथा। खास गरी पश्चिमाहरूले आफ्ना आँखाले, आफ्ना गाथा धेरै लेखेका छन्। सगरमाथाको आरोहणबारे तिनको भयानक कठिन वा विस्तृत व्याख्याले भरिएका किताबहरूको कमी छैन। तर, आरोहणक्रममा जो तिनलाई बोक्छन् वा हरेक हिसाबले भरथेग बन्छन्, ती शेर्पा कि त संख्यामा गनिएको पढिन्थ्यो या भरियाका रूपमा गएको। तर, बस्याल र अधिकारी लिखित शेर्पा त्यो मानेमा भिन्न छ। शेर्पाको कथा प्रमुख रूपमा भनिएको किताबको उपशीर्षक नै ‘सगरमाथाका बिर्सिइएका संरक्षकबाट जीवन र मृत्युका कथा’ राखिएको छ।
हिमाल आरोहण यस्तो कुरा हो जहाँ कहिलेकाहीं ‘भाग्य’ लाई जस नदिई सुखै हुँदैन जस्तो लाग्छ। लेखकद्वयले भने झैं हिमालमा जीवन निकै यथार्थपरक हुन्छ भने मृत्यु पनि नजिकै हुन्छ। जस्तो, दोस्रो अध्याय ‘एंग्री गड्स’ मा मिङमा शेर्पालाई एक सर्को चुरोटको लोभले हिउँमा पुरिनबाट जोगाएको प्रसङ्ग छ। उनी चुरोट पिउन केही मिटर पर पुगेका वेला अकस्मात् हिउँ खस्दा हेर्दाहेर्दै १६ जना शेर्पा साथीले ज्यान गुमाए।
नेपालका सबै शेर्पा हिमाल चढ्दैनन्, तर यहाँका सबै हिमालमा शेर्पा नभई हुँदैन। हिमालका लागि शेर्पा अपरिहार्य भए पनि शेर्पा बन्न सजिलो छैन। शेर्पा बन्ने क्रममा गरेका संघर्ष, त्यसभित्रको हैरानी र तनाव, परिवारसँगको सम्बन्ध जस्ता अनेक पाटा किताबले उजागर गरेको छ।
शेर्पा एउटा थर वा समुदाय भए पनि यसलाई विश्वव्यापी बनाएको सगरमाथाले नै हो। तेन्जिङ शेर्पाले सन् १९५३ मा एडमन्ड हिलरीसँग पहिलो पटक सगरमाथा चढेपछि यसले व्यापकता पायो। शेर्पा आज पेशा पनि हो। शेर्पाहरूले हिमाल चढेर नाम र दाम कमाएका छन्, तर ती धेरै छैनन्। धेरैले आफ्नो नाम ठूलो भएको तब मात्र थाहा पाउँछन्, जब अरूको कीर्तिमान तोडिन्छ। तर, कीर्तिमान बनाउन वा तोड्न हिमाल चढ्ने शेर्पाहरू कमै हुन्छन्।
खासमा उनीहरू रोजीरोटीका लागि हिमाल चढ्छन् र कीर्तिमान बन्दै जान्छ। नामले उनीहरूलाई देशबाट धेरै टाढा पनि पुर्याइदिन्छ। आप्पा शेर्पा जस्ता नाम कमाएका शेर्पा पनि कालान्तरमा सुखी जीवनको रहरमा विदेशिएका छन्।
१२ वटा अध्यायमा बाँडिएको किताबको भाषा सामान्य अंग्रेजी बुझ्नेले पनि पढ्न सक्ने सरल छ। तर, निकै सरलीकृत गर्न खोजिँदा कतै कतै भाषामा खँदिलोपन नभएको आभास हुन्छ। पात्रहरूको सम्झना र इतिहास रोचक रूपमा प्रस्तुत गरिएको छ। कतै कतै भने यात्रावृत्तान्त अलि पट्यारलाग्दो गरी भनिएको छ, जुन पर्यटक लक्षित भएन भन्ने लाग्छ। नेपाली भएर पढ्दा र मेरो सन्दर्भमा धेरै पटक ती ठाउँमा पुगेकाले पनि त्यस्तो लागेको हुन सक्छ।
पछिल्लो समय हिमालसँग जोडिएर आएको प्रमुख विषय जलवायु परिवर्तन हो। तर, यो विषयले किताबमा धेरै ठाउँ पाएको छैन। शेर्पाहरूले हिमालमा देखेका जलवायु परिवर्तनलाई विस्तृत रूपमा समेट्न सकेको भए धेरैका लागि नयाँ सूचना हुन सक्थ्यो। उनीहरूले जलवायु परिवर्तनलाई कसरी बुझेका छन्, हिमाली क्षेत्रमा केकस्ता बदलाव भोगेका छन् र आफ्नो भविष्य कस्तो देख्छन् भन्ने सन्दर्भ रोचकसँगै त्यस क्षेत्रको यथार्थ बुझाउने माध्यम हुन्थ्यो। किनभने, त्यो उचाइमा शेर्पाले जति समय शायदै कुनै अनुसन्धानकर्ताले बिताउन सक्छ, र त्यहाँको सूचना अरू कसैले आधिकारिक रूपमा भन्न सक्छ।
सगरमाथा आरोहणले दिने नाम आरोहण नगर्नेका लागि निकै ठूलो र आकर्षक लाग्छ, तर जीविका चलाउनकै लागि हिमालमा हेलिने शेर्पाको जिन्दगी खुकुरीको धारमा उभिएको जस्तो देखिन्छ। कहिले त्यो खुकुरीले हिउँ काट्छ र विजयभाव उत्पन्न गराउँछ, कहिले त्यही धारले जिन्दगी सिध्याइदिन्छ। सगरमाथामा मृत्यु हरेक पाइलाको हिउँले बोकिरहेको हुन सक्छ। त्यो मृत्यु र त्यसलाई पटक पटक जितेर फर्कने वा धेरै पटक जितेर पनि फेरि हारेकाहरूको पनि कथा हो, शेर्पा।
हिमालमा लुकेका कैयौं कथालाई नेपाल बाहिरका पाठकलाई लक्षित गरी यसरी बाहिर ल्याउन जरुरी थियो र खास गरी नेपाली लेखकबाटै लेखिन जरुरी थियो। लेखकद्वयले शेर्पाका नलेखिएका कथा सरल, सरस तरीकाले लेखेर जीविकोपार्जनको चेपाचेपमा जोखिमसँग खेल्ने यी साहसीको पीडा र संघर्ष उधिन्ने गजब काम गरेका छन्।
(भुसाल द थर्ड पोलका नेपाल सम्पादक हुन्। हिमालको २०७९ पुस अंकबाट।)