मधेश प्रदेशका सांसदले लिए शपथ
मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार प्रदेश सभामा विभिन्न १० दलबाट प्रत्यक्ष तथा समानुपातिकमा निर्वाचित १०४ सांसदले शपथ लिएका हुन्। उनीहरूलाई ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ खुवाएका थिए। यसअघि बिहीबार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट ज्येष्ठ सदस्य न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका थिए।
१०७ सदस्यीय मधेश प्रदेश सभामा नेकपा (एमाले)का २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६ र जनमत पार्टीका १३ जना सांसद छन्।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) का नौ-नौ तथा नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक-एक र स्वतन्त्र पाँच सांसद छन्।
मंसीर ४ गते सम्पन्न निर्वाचनमा मधेश प्रदेशमा ६ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए। जसमध्ये एक जना माओवादीमा प्रवेश गरेका छन्।