उपचार कक्षमा जान राेक लगाएपछि विरोध
विराटनगरको नोबेल मेडिकल कलेजले अनधिकृत व्यक्तिलाई उपचारकक्षमा जान रोक लगाएपछि औषधी पसले र एम्बुलेन्स चालकले विरोध गरेका छन् ।
आकस्मिक कक्ष र वार्डहरुमा बिरामी कुरुवा, चिकत्सक र कर्मचारीबाहेकका व्यक्तिहरुलाई रोक लगाएपछि उनीहरुले विरोध गरेका हुन् ।
अस्पत्तालले १८ असारमा सूचना जारी गरी फार्मेसीका मानिसहरु, एम्बुलेन्स चालक र अन्य असम्बन्धित व्यक्तिलाई आकस्मिक कक्ष र वार्डहरुमा प्रवेश गर्न रोक लगाएको थियो ।
बिरोध गर्नेहरुले कलेजभित्र उपचार र औषधीमा बढी शुल्क लिएकाेले थाहा पाउंन सक्ने जानकारहरुलाई रोक लगाएको आरोप लगाएका छन् ।
तर मेडिकल कलेजका प्रवन्धक नारायण दाहालले भने अनधिकृत आवजतजावतले बिरामीको उपचारमा समस्या भएकोले रोक लगाइएको बताए ।
मेडिकल कलेजमा हाताभित्र र बाहिरका फार्मेसी सञ्चालक तथा एम्बुलेन्स चालकबीच पटक पटक झगडा हुने गरेको छ ।
२३ असारमा सुस्वास्थ्य फार्मेसीका कर्मचारी कर्मचारी सागर कोइराला र प्रियबन्धु फार्मेसीका सञ्चालक राजकुमार यादवबीच कुटाकुट भएपछि प्रहरीले पक्राउ गरेको छ ।
अस्पत्तालमा एम्बुलेन्स चालकसंग पनि झगडा हुने गरेको एम्बुलेन्स चालक संघ मोरङका अध्यक्ष चन्द्र पराजुलीले बताए ।
रु ३ हजार सम्म पर्ने ‘डीजे गार्ड’ नामक औषधी अस्पताल हाताभित्र रु ९ हजार लिने गरेको व्यवसायीको आराेप छ ।
कलेजका सुरक्षागार्डले फार्मेसी सञ्चालकलाई बाहिर निकाल्दै गरेको फोटो खिच्ने क्रममा सञ्चारकर्मीलाई समेत दुर्व्यवहार गरेका थिए ।