नेपाली कालियदमनको कान्ति
राजा प्रताप मल्लले कतै भेटेर हनुमानढोका दरबारको भित्री चोकमा स्थापना गरेका सातौं वा आठौं शताब्दीको उठानमा निर्मित कालियदमनको यति सुन्दर मूर्ति दक्षिणएशियामै अन्त कतै छैन।
मल्लकालमा बनेका काठमाडौं उपत्यकाका अरू राजदरबार जस्तै हनुमानढोका दरबार पनि नेपाली प्राचीन वास्तुकलाको अनुसरण गरी बनेको छ। चोकभित्र फेरि अर्काे चोक भएर जानुपर्ने गरी बनाइएका संरचना यस वास्तुकलाको विशेषता हुन्। उपत्यकाका विहारहरू मात्रै होइन, नेवारहरूका प्राचीन बस्ती पनि यही शैलीमा बनेका छन्।
कालियदमनको मूर्ति (चित्र १) रहेको सुन्दरचोक वा सुन्दरीचोकमा जान पनि दुई चोक पार गर्नुपर्छ। हनुमानढोका दरबारको मुख्य द्वार सुनढोकाबाट प्रवेश गरेपछि ठूलो नासलचोकमा पुगिन्छ। यस चोकमा पस्नासाथ देखिने बायाँपट्टि रहेको नरसिंहको मन्दिर पछाडि सानो काठको ढोकाबाट भित्र पसेपछि मोहनचोकमा पुगिन्छ।
त्यस चोकको पनि अझ भित्र पश्चिमोत्तर भागमा रहेको ढोकाबाट पसेपछि मात्रै चिटिक्क परेको सानो सुन्दरीचोकमा पुगिन्छ। केही वर्ष अघिसम्म पनि यो चोकमा अनुमति विना जान पाइँदैनथ्यो। मैले सन् १९७३ तिर हनुमानढोकाको अनुसन्धान गर्नुअघि कालियदमनको मूर्ति देखेकै थिइनँ। स्टेला क्राम्रिशको आर्ट अफ नेपाल किताबमा प्रकाशित तस्वीरमा मात्रै यो भव्य मूर्तिको दर्शन पाएको थिएँ।
भाषावंशावलीमा लेखिए अनुसार, कालियदमनको यो मूर्ति विशालनगरतिर थियो। राजा प्रताप मल्ल (१६४१-१६७४)ले
त्यहाँबाट ल्याएर आफ्नो दरबारको चोकमा स्थापना गरे। यसबारे वंशावलीमा लेखिएको छः
विशाल नगरका प्राचीन साकुह्ना भन्ने स्थानमा काली नाग मथन गरी रहयाका ध्यानले संयुक्त भयाको नारायण माटोले छोपिरह्याको गरुड सहित कान्तिपुर लैजाइ सुन्दरचोकमा स्थापना गरि बसाया गरुडले इ राजाकन धेरै दुःख दिया र नारायणधाराको नारायण संधिमा यथाक्रमले बसाया (देवीप्रसाद लंसाल सम्पादित भाषावंशावली, दोस्रो भाग, पृ. ८८)।
यहाँ उल्लिखित गरुडको मूर्ति नारायणहिटी दरबारस्थित नारायणको मन्दिर अगाडि अद्यापि विद्यमान छ। तर, साकुह्ना अथवा साकुना भन्ने ठाउँ कहाँ छ भन्ने हामीलाई थाहा थिएन। यो ठाउँ पत्ता लगाउन सके अरू पनि प्राचीन मूर्ति पाउन सकिएला भन्ने आशाले धेरै ठाउँमा खोज्यौं।
यस बस्तीको उल्लेख प्राचीन वा मध्यकालका अभिलेखमा कतै पाइएन। त्यस वेला मेरी पूज्या पितामही जीवित हुनुहुन्थ्यो। उहाँ लेखपढ गर्न नजान्ने भए पनि बुद्धिमती हुनुहुन्थ्यो।
उहाँले हामीलाई भन्नुभयो, “साकुना भन्ने ठाउँ लाजिम्पाटतिर हुनुपर्छ किनभने त्यहाँ रहेको सरस्वतीको नाम साकुना ससुमाँजु (साकुनाको सरस्वती माता) हो; र हरेक वर्ष श्रीपञ्चमीको दिन मेला लाग्छ।” यसरी प्राचीन बस्ती साकुना पत्ता लाग्यो। तर, अहिले यस सरस्वतीलाई नीलसरस्वती भन्ने नाम दिइएको हुनाले पुरानो नेवारी नाम लुप्तप्रायः भइसकेको छ।
यस सरस्वती मन्दिर नजिकै टुकुचा भन्ने सानो खोल्सो बग्थ्यो। अहिले पनि वर्षा ऋतुमा पानी बगेकै हुन्छ। यही सानो खोल्सोमा शिव-पार्वतीको लिच्छविकालीन मूर्ति पाइएको थियो।
यसको तस्वीर म्यारी स्लसरको नेपालमण्डल ग्रन्थको दोस्रो भाग (चित्र संख्या ३५०)मा छापिएको छ। झण्डै आठ फीट अग्लो कालियदमनको मूर्ति पनि कुनै वेला यही खोल्सोको किनारामा थियो होला।
सरस्वतीको मन्दिर वरिपरि टुटेफुटेका प्राचीन स्तम्भ र तोरणहरू देखेका थियौं। राजा प्रताप मल्लले आफ्नो दरबारमा धारा र पोखरी बनाउन पानीको स्रोत खोज्दै जाँदा अन्यत्र पनि प्राचीन मूर्ति फेला पारेका थिए। त्यसैले कालियदमनको मूर्ति पनि टुकुचाको किनारामा पानीको स्रोत खोज्ने सिलसिलामा पत्ता लगाएको हुनुपर्छ।
हरिवंश आदि पौराणिक ग्रन्थहरूमा लेखिएको कथा अनुसार, यमुना नदीको पानीभित्र बस्ने कालिय भन्ने एक अजङ्गको नागले सारा पानी विषाक्त पारिदिएको हुनाले किनाराका बासिन्दालाई जिउनै गाह्रो भयो। यो कुरो बुझेर बालक कृष्णले पानीभित्र पसेर कालिय नागलाई दमन गरेका थिए। यही पौराणिक कथाको आधारमा कालियदमनको भव्य मूर्ति बनेको छ।
नागपाशको बीचमा लामो सर्पको छडी लिएर उभिएको कालिय नागको काँध र टाउकोमा टेकेर सात-आठ वर्षको बालक कृष्णले रुमाल जस्तो वस्तुले हिर्काउन लागेको गतिशील नाटकीय दृश्य छ (चित्र २)।
बालकै भए पनि आत्मविश्वासले भरिपूर्ण विजयी कृष्णको हँसिलो मुख र आफ्नो दानवीय शक्तिमा घमण्ड गर्ने कालिय नागले हार स्वीकार गर्नुपर्दा भएको मानसिक दुःखको चित्रण गरी प्रस्तुत गरिएको नाटकीय दृश्य नै यस मूर्तिको विशेषता हो। वास्तवमा कालियदमनको यस्तो सुन्दर मूर्ति दक्षिणएशियामै अन्त कतै पाइँदैन भन्नेमा कलाको इतिहास लेख्ने सबै विद्वान् सहमत छन्।
तर, दुःखको कुरो के छ भने कालिय नागको मुख उहिल्यै फुटिसकेको थियो। अझ दुःखको कुरो, हालै सिमेन्टको चुच्चे नाक राखेर मर्मत गर्ने कोशिश गरिएको छ, जसले गर्दा मूर्तिको प्राचीन सौन्दर्यमा ठूलो आघात परेको छ। सौभाग्यवश, संस्कृतमा अभ्रपत्र भनिने बादलको बुट्टाले सिँगारिएको नागराजाको सुन्दर मुकुट चाहिं अहिले पनि जस्ताको तस्तै छ (चित्र ३)।
कालिय नागलाई दबाउनु सजिलो काम थिएन। एक पटक त नागले कृष्णलाई आफ्नो नागपाशले चल्नै नसकिने गरी बेरिसकेको थियो, आखिरमा बालक कृष्ण नागपाशबाट मुक्त भएर बाहिर निस्के, त्यसपछि मात्रै उनी कालिय नागलाई दमन गर्न सफल भए भन्ने कथाको वर्णन गर्न यो प्रस्तरमूर्तिमा बालक कृष्णलाई दुई चोटि देखाइएको छ। यस मूर्तिको तल्लो भागमा बायाँपट्टि सर्पकुण्डलीबाट फुत्केर बाहिर निस्किरहेका बालक पनि कृष्ण नै हुन् (चित्र ४)।
यस बालकको संस्कृतमा काकपक्ष भनिने कागको पखेटा जस्तो देखिने केटाकेटीहरूको केशविन्यास, नेवारीमा 'माकसि' भनिने सानो अन्जीर जस्तो देखिने कानको गहना, दुई लहरे मोतीको माला र बाजु दुवै बालकका गहना देखिन्छन् (चित्र ५)। दुवैको उमेर र हँसिलो अनुहार पनि मिल्दोजुल्दो छ। त्यसैले एउटै कथाको दुई दृश्य एउटै मूर्ति वा चित्रमा देखाउने प्राचीन कला परम्पराको अनुसरण बालक कृष्णको कलामा गरिएको हो भन्नेमा शङ्का गर्ने ठाउँ छैन।
यस्तो चलन लिच्छविकालका अन्य मूर्तिमा पनि देखिन्छ। उदाहरणका लागि राजा मानदेव (४६४-५०५)को त्रिविक्रम मूर्तिमा (चित्र ६) पनि अश्वमेध यज्ञ, वामनको रूप लिएर भिक्षा माग्न आएका पुड्के विष्णुलाई दान दिइरहेका बलिराजा, अनि आकाश-पाताल ढाक्ने गरी उभिएका विष्णु आदि एउटै कथासँग सम्बन्ध राख्ने विभिन्न दृश्य एकै ठाउँमा देखाइएका छन्। यस्तो परिपाटीलाई कलाको इतिहासमा ‘शृङ्खलाबद्ध वर्णन’ (कन्टिन्युअस न्यारेटिभ) भनिन्छ।
देश-देशावरको कलाको इतिहासमा मनोरञ्जक ढङ्गले यस परिपाटीको प्रयोग भएको पाइन्छ। नेपालमा पनि प्राचीन कालमा शृङ्खलाबद्ध वर्णन गर्ने प्रथा चलेको थियो भन्नेमा ध्यान नगएको हुनाले कला-ऐतिहासिकहरूले पनि नागपाशबाट उम्केर बाहिर आइरहेको बच्चालाई कृष्णको सट्टा गोठाले भनी लेखेका छन्।
यिनै बालक कृष्णको हाराहारीमा दायाँपट्टि नागकन्या वा नागरानीको सुन्दर मूर्ति छ (चित्र ७)। अहिले नागरानीको मुख फुटिसकेको छ, हामीले पहिलो पटक देख्दा भने फुट्न लागेको थियो। यो मूर्ति कालिय नागकी रानीको हुनुपर्छ भन्ने देखिएको छ। नागराजाले गरेको अत्याचारमा माफी मिलोस् भन्ने भावनाले माथि उभिएका बालक कृष्णतिर हेर्दै दुवै हात जोडेर नागरानी क्षमा मागिरहेकी छिन्।
लिच्छविकालमा कृष्णको सम्प्रदायले त्यति साह्रो प्रसिद्धि पाउन सकेको थिएन। त्यसैले कृष्णको प्राचीन मूर्ति पाउन गाह्रो छ। मध्यकालमा पनि कालियदमनको मूर्ति त एक/दुई बाहेक छँदै छैन भने पनि हुन्छ। यसको एक अपवाद हनुमानढोकामै रहेको काठमा कुँदिएको कालियदमनको दोस्रो मूर्ति हो (चित्र ८)।
मल्लकालको यो काष्ठमूर्ति राजा प्रताप मल्लले कृष्णको कथासँग सम्बन्ध राख्ने अरू मूर्तिसँगै मिलाएर मोहनचोकको भित्तामा राखेका हुन्। साकुनामा पाइएको प्रस्तरमूर्ति साह्रै राम्रो लागेको हुनाले उनले त्यसैको अनुकरणमा यो काष्ठमूर्ति बनाउन लगाएका हुन्।
५० वर्षअघि हनुमानढोका राजदरबार किताब लेख्दा कालियदमनको मूर्ति नजिकै सुन्दरीचोकको पेटीमा दशौं शताब्दीतिरको एक शिलालेख पाइएको थियो। त्यसमा विष्णु र गरुडको मूर्ति स्थापना गरिएको वर्णन पाइएकाले कालियदमनको मूर्तिसँगै पाइएको साकुनाको गरुडको मूर्ति यही हुनुपर्छ भन्ने विचारले कालियदमनको मूर्ति पनि दशौं शताब्दीको हो कि भन्ने लागेको थियो। तर, अहिले तुलनात्मक अध्ययन गरी हेर्दा यो कुरो नमिल्ने बुझिएको छ।
लिच्छविकालका धेरैजसो मूर्तिमा देवीदेवताको शरीर हृष्टपुष्ट मात्रै होइन, छुँदाखेरि न्यानो होला कि जस्तो देखिने गरी प्राणसञ्चार गरिएको हुन्छ। यस्तो प्राणवान् शरीरको महत्त्व बुझी प्राचीन कलाकारहरू गहनागुरियामा भन्दा जिउँदोजाग्दा शरीरका अवयव प्रदर्शनमा विशेष ध्यान दिन्थे। बालक कृष्णको सुकुमार शरीर यसैको ज्वलन्त उदाहरण हो।
बालकको आकृति बनाउँदा अक्सर सानो मानिसका रूपमा चित्रण गरिएको हुन्छ। तर, कालियदमनको मूर्ति बनाउने अज्ञात कलाकारले ससाना हृष्टपुष्ट हातखुट्टा, पोटिलो शरीर, हँसिलो-बाटुलो मुख, छोटो नाक, रुन्चे बालकको जस्तो अलि बाहिर निस्केको भरिलो तल्लो ओठको चित्रण गरी प्राणवान् मूर्ति सृष्टि गरेका छन्।
लिच्छविकालका मूर्तिहरूमा यस्तो बालकको मूर्ति यदाकदा देख्न पाइन्छ तापनि मध्यकालमा अति दुर्लभ छ। यसको एउटै मात्र विकल्प सन् ९२० मा स्थापना गरिएको यँगाल टोल नजिकै मञ्जुश्रीटोलको सानो मन्दिरभित्र विराजमान मञ्जुनाथको मूर्ति हो (चित्र ९)। कालियदमनको मूर्तिमा जस्तै यस मूर्तिमा पनि बालकको शरीरका अवयव प्राकृतिक शैलीमा चित्रित छन्।
यी दुई मूर्तिको समानता देखिएको हुनाले पनि कालियदमनको मूर्ति पनि दशौं शताब्दीकै हो कि भन्ने लागेको हो। तर, मञ्जुनाथको मूर्तिमा देखिने दशौं शताब्दीका विशेषता जस्तो कि मोतीको मालासँगै फेरि अर्काे सुनचाँदीको माला, फूल जस्तो शङ्खपत्र, मुकुटले पूर्णतया नछोपेको कपाल आदि कालियदमनको मूर्तिमा देखिँदैन।
शङ्खपत्र भनेको शिरपेच बाँध्न कानको पछाडि प्रयोग गरिने बुट्टेदार रिबनलाई बुझाउने संस्कृत शब्द हो। समुद्रमा पाइने सिपी अथवा शङ्ख जस्तो देखिने गरी रिबन बाँधिने हुनाले त्यसलाई शङ्खपत्र भनिएको हो। नेपालका धेरैजसो मूर्तिमा यो देखाइने हुनाले कलाकृतिको कालक्रम अध्ययन गर्न शङ्खपत्र अति उपयोगी ठहरिएको छ। (मञ्जुनाथ र कालियनागको शङ्खपत्र दाँजेर हेर्नुहोस्।)
कालियदमनको मूर्तिको समय निर्धारण गर्न मद्दत गर्ने अर्काे प्रमाण बालक कृष्णको शिरोभागमा प्रदर्शित प्रभावलि हो। यो प्रभावलि बाटुलो छ तापनि माथिल्लो भाग चुच्चो परेको हुनाले झट्ट हेर्दा अण्डाकार जस्तो देखिन्छ। यसको चारैतिर किनारामा मोती जस्ता ससाना दाना कुँदिएका छन्। अनि तिनै दानासँगै माथि किनारामा आगोको झिल्का जस्तो लहरै देखाइएको छ।
सातौं शताब्दीभन्दा पहिले नेपाली कलामा देखाइने प्रभावलि चुच्चो परेको हुँदैन तथा मोतीदाना र झिल्काहरूको संयुक्त प्रयोग पनि पाँचौं अथवा छैटौं शताब्दीको प्रभावलिमा देखिँदैन (चित्र १०)। विष्णुको चक्र अथवा शिलापत्रका वरिपरि मोतीदाना र झिल्काको संयुक्त प्रयोग प्राचीन कालमा कहिलेकाहीं देखिन्छ तापनि शिरको वरिपरि यस्तो प्रभावलिको प्रदर्शन त सातौं शताब्दीतिर मात्रै शुरू भएको हो।
त्यसैले यो कालियदमनको मूर्ति सातौं अथवा आठौं शताब्दीको उठानतिर बनेको हुनुपर्छ भनी अनुमान गरिएको हो। यस्तो प्रभावलिको प्रयोग आठौं शताब्दी र त्यसभन्दा पछि पनि कायमै रह्यो, तापनि कालियदमनको मूर्तिमा लिच्छविकालको पछिल्लो समयमा देखिन थालेका विभिन्न बुट्टा गहनाको प्रयोग भएको देखिँदैन। त्यसैले यो मूर्ति आठौं शताब्दीभन्दा पछिको हुनै सक्दैन।
साकुनाबाट ल्याइएको यो कालियदमनको मूर्तिबारे भन्नुपर्ने धेरै कुरा छन्। यो छोटो लेखमा ती सबै कुरा लेख्न सम्भव छैन। तर, यो लेख टुङ्ग्याउनुभन्दा पहिले राजा प्रताप मल्लले प्राचीनताको महत्त्व बुझेर गरेको पुरानो कलाकृतिको कदरबारे छोटकरीमा लेख्न आवश्यक छ।
वंशावली, ठ्यासफू आदि उपलब्ध पुराना सामग्रीका आधारमा विचार गर्दा हाम्रा पुर्खाले ऐतिहासिक घटनाहरूको मनन गर्नुपर्छ भन्ने बुझेको अनुमान गर्न सकिन्छ। तर, देवताका रूपमा पूजा गरिने हस्तलिखित ग्रन्थहरू बाहेक अरू कुनै प्राचीन वस्तु अथवा कलाकृतिको सुरक्षा हुनुपर्छ भन्नेमा उनीहरूको ध्यान गएको देखिँदैन।
हनुमानढोकाकै सुवर्णद्वारमा कुँदिएको एक अभिलेख अनुसार, राजदरबारको ढुकुटीमा प्राचीन कालदेखि संगृहीत अनेकन् ताम्रपत्र थिए। तिनै ताम्रपत्र तामाको मोलमा बेचेर त्यताबाट उठेको पैसाले सुवर्णद्वार बनाइएको त्यहाँ लेखिएको छ।
यस्तो कुरो सुन्दा आङ सिरिङ्ग हुन्छ। किनभने ती तामापत्रमध्ये एक/दुइटा प्राचीन हुन सक्छन्। भाग्यले बचेको लिच्छविकालको एक तामापत्र हनुमानढोकाको ढुकुटीमा हालै पाइएको छ। महेशराज पन्तले यो तामापत्र अहिले पूर्णिमा पत्रिकामा छापेका छन्।
धातुले बनेका कतिपय मूर्ति पनि यसरी नै नष्ट भएका छन्। त्यसैले धातुले बनेका लिच्छविकालका मूर्ति पाउनै गाह्रो छ। टुटफुट भएका देवताका मूर्तिको पूजा गर्नु हुँदैन, खोलामा बगाइदिनुपर्छ भनेर संस्कृत ग्रन्थहरूमा लेखिएको पनि पाइन्छ।
यस्तो परिस्थितिमा राजा प्रताप मल्लले खोल्सो नजिकै माटोमा गाडिएको कालियदमनको गह्रुंगो प्रस्तरमूर्ति साकुनादेखि उठाएर ल्याई आफ्नो दरबारको भित्री चोकमा राखेर प्राचीन कलाकृति महत्त्वपूर्ण हुन्छन् भन्ने आफ्नो अपूर्व ज्ञानको प्रदर्शन गरेका छन्। त्यसका लागि यी मल्ल राजाको प्रशंसा गर्नैपर्छ। नेपालका अरू कुनै पनि राजाले प्राचीनताको महत्त्व बुझेको अर्काे उदाहरण पाइँदैन।
(वज्राचार्य संस्कृत वाङ्मय र कलाको इतिहास जान्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध विद्वान् हुन्। हिमालको २०७९ पुस अंकबाट।)