देशलाई एकताबद्ध गर्ने खेलाडी
सार्वकालिक महान् फूटबलर पेले हामीबीच नरहे पनि उनको स्मरण सदाका लागि रहिरहनेछ।
पेलेको निधनको खबर सुन्नासाथ अल्बर्ट आइन्स्टाइन अस्पताल बाहिर फ्यानहरू जम्मा हुन थाले। तीमध्ये केही पेलेले सान्तोस क्लबमा लगाए जस्तै १० नम्बरको जर्सी लगाएर आएका थिए। अस्पताल बाहिर टाँगिएको एउटा ब्यानरमा ‘अनन्त सम्राट् पेले’ लेखिएको थियो।
ब्राजिलियनहरू पेलेको अन्तिम दिन नजिक आएको महसूस गर्दै थिए र यसले उनीहरू त्रसित पनि थिए। पछिल्ला केही साता पेलेकी छोरी केली नासिमेन्तोले इन्स्टाग्राममा बुबाको अवस्थाबारे जानकारी गराउँदै आएकी थिइन्। पेलेका फ्यानहरूले ‘ओ रिई’ (सम्राट्)का हरेक पोस्ट वा स्टोरीलाई उत्साहसाथ पछ्याइरहेका थिए।
जब पेले बितेको समाचार आयो तब त्यो दु:खद क्षण थियो। अस्पतालले मेडिकल बुलेटिन जारी गर्दै कोलोन क्यान्सरले पेलेको शरीरका अधिकांश अङ्गले काम गर्न छोडेको जनायो। अस्पतालको विज्ञप्तिमा ‘फूटबलका प्रिय राजा’ गुमाउनुपर्दा परिवारजन र सबैले भोग्नुपरेको पीडाप्रति संवेदना पनि व्यक्त गरिएको छ।
यसबाट पेले ब्राजिलियनहरूका लागि कति महत्त्वपूर्ण छन् भन्ने देखिएको छ। निश्चय नै पेले संसारकै फूटबल ‘लेजेन्ड’ हुन्। तर, ब्राजिलमा भने उनी त्योभन्दा अझ बढी हुन्।
शपथ लिन बाँकी रहेका ब्रजिलका राष्ट्रपति लुला डी सिल्भाले गत आइतबार आफूले पेलेले खेलेको देख्ने सुअवसर पाएको बताउँदै उनको खेल खेलमा मात्र सीमित नभई ‘प्रदर्शन’ सरह रहेको अभिव्यक्ति दिएका थिए। उनी जत्तिको अर्को १० नम्बरको कोही नभएको ट्वीट गर्दै राष्ट्रपति सिल्भाले लेखेका छन्, ‘थोरै ब्राजिलियनहरूले मात्र हाम्रो देशको नामलाई उनले जत्तिको चम्काए।’
प्रत्येक ब्राजिलियनका लागि उनी विशेष थिए। पुरानो पुस्ताले उनलाई खेलाडीका रूपमा चिन्यो, युवा पुस्ताले उनको खेल शैलीबारे सुन्यो, तर उनले फूटबलप्रेमी राष्ट्रलाई खेलकै माध्यमले एकताबद्ध गरे।
ब्राजिल यस्तो देश हो जसको परिचय नै फूटबलबाट हुन्छ। विश्वकप प्रतियोगितामा आफ्नो देशको खेल हेर्न ब्राजिलमा बिदा दिइन्छ। कतारको विश्वकप प्रयिोगिता चलिरहँदा पेलेले अस्पतालको शय्याबाट ब्राजिल टोलीको हौसला बढाइरहेका थिए।
फूटबलबारे चासो नै नहुनेहरूले पनि उनलाई फूटबलको राजा भन्थे। पछिल्लो केही साता पेलेको विगतबारे निकै चर्चा भयो। सबैलाई थाहा थियो कि अब उनीबारे सुखद खबर सुन्न पाइनेछैन।
पेले विशेष ब्राजिलियन खेलाडी थिए। उनले ब्राजिलकै सान्तोस फूटबल क्लबमा रहेर धेरै वर्ष खेले। पेलेको गरिमा र महत्त्व कुन तहमा थियो भने सन् १९६१ मै राष्ट्रपति जानियो क्वार्डोसले उनलाई राष्ट्रिय सम्पत्ति घोषणा गरेका थिए। जसको अर्थ के थियो भने उनलाई विदेशको कुनै क्लबका लागि खेल्न लान पाइनेछैन। उनी राष्ट्रिय गौरव थिए।
जातीय भेदभाव र वर्गीय विभेद अझै पनि देख्न पाइने ब्राजिलमा पेले विपन्न समुदायबाट उदाएका खेलाडी थिए। उनको सफलताको कथा अविश्वसनीय र तिलस्मी थियो। उनले शायदै जातीयताको कुरा गरे। यसैलाई लिएर उनको वेलावेला आलोचना पनि हुने गर्थ्यो । तर, उनले फूटबलको शक्तिलाई राष्ट्रिय एकता र विपन्न ब्राजिलियनहरूको उत्थानका लागि अवसरहरू सिर्जना गरिरहे।
जब जब राजनीतिको कुरा आउँथ्यो तब पेले चूपचाप रहेन्थे। उनलाई थाहा थियो- यो उनको विषय होइन। यद्यपि, उनका आलोचकहरू विशाल प्रभावका बावजूद पनि राजनीतिक मामिलामा चूप रहनु पेलेको कमजोरी भएको टिप्पणी गर्थे। तर, राजनीतिक रूपमा मुलुक विभाजित हुँदै आएको ब्राजिलमा उनको मौनताले राजनीतिक रूपान्तरण गर्ने अवसर दिएको थियो। त्यसैले त उनलाई देशभित्र र बाहिर ब्राजिलियनहरूको राजाका रूपमा विश्वव्यापी प्रेम र सम्मान दुवै प्राप्त भएको थियो।
सार्वकालिक महान् फूटबलर त हामीबीच रहेनन्, तर फूटबलप्रेमीमाझ उनको स्मरण सदाका लागि रहिरहनेछ।
(बीबीसीकी दक्षिण अमेरिकी संवाददाता केटी वाट्सनको रिपोर्टको अनुवाद महेश्वर आचार्यले गरेका हुन्।)