शेर्पा: पहिले सहायक, अहिले नायक
भरिया शेर्पा अब नेतृत्वकर्ता बनेको छ, आफ्नो कथा आफैं भन्न सक्ने भएको छ।
शेर्पाहरूले धेरैलाई हिमाल चढाए, तर उनीहरू सधैं छायामा परिरहे। उनीहरूले जसलाई चढाए, ऊ चाहिं हिरो भइदियो। ‘काम गर्ने कालु मकै खाने भालु’ भने जस्तो। तर, पछिल्लो पुस्ताले यसलाई अस्वीकार गरेको छ। सँगै हिमाल चढ्ने आफूले पनि बराबर ‘क्रेडिट’ पाउनुपर्ने मान्यता राख्न थालेको छ।
अब शेर्पाले हिमाल चढेर नाम राख्ने कुरा स्थापित भइसकेको छ। यसका लागि आफैं पैसा जुटाउन सक्ने भएका छन्। पहिला शेर्पा जतिसुकै तगडा भए पनि कसैले प्रायोजन गर्दैनथ्यो। अहिले त शेर्पा भनेकै हिमाल चढ्ने जस्तो भइसक्यो। प्रायोजक पनि सजिलै पाइन्छ। यस्तो पहुँच बन्नुमा सामाजिक सञ्जालकै सहयोग छ। यसलाई म ‘डिजिटल लोकतन्त्रीकरण’ भन्न रुचाउँछु। आज यसै मार्फत कुनै पनि शेर्पाले गाउँमै बसेर संसारसँग सम्पर्क बनाउन सक्छ। पहिले केवल भरिया ठानिने शेर्पाहरूमा अब आफू गाइड हुँ भन्ने आत्मविश्वास झाँगिएको छ। आरोहीले आफ्नो सामान आफैं बोक्ने, शेर्पाले बाटो देखाउने भन्ने बुझाइ स्थापित हुँदै छ।
यसो भन्न सकिन्छ- आरोहणबाटै नाम र पहिचान कमाउन सकिने बुझेपछि उनीहरू अग्रभागमै आउन थाले। अन्तर्राष्ट्रिय मञ्चमा पनि अवसर पाउन थाले। यो परिवर्तनका सकारात्मक र नकारात्मक दुवै पक्ष छन्। कुनै शेर्पा ‘सर्टिफाइड गाइड’ का रूपमा आउँदा ऊ अझ प्रभावकारी हुन सक्छ। किनकि, उसलाई आफ्नो भूगोल र मौसमबारे पहिल्यैदेखि ज्ञान भइरहेकै हुन्छ। आरोहणको सीप पनि हुन्छ। यसले गर्दा अन्य आरोहीको सफलतासँगै सुरक्षाको सम्भावना अधिक हुन्छ। आरोहणमा महत्त्वपूर्ण पक्ष पनि सुरक्षा र सफलता नै हुन्।
यससँगै प्रश्न उठ्छ- भरियाको काम चाहिं कसले गर्ने त? शेर्पाले नबोके पर्यटकले आफैं बोक्नुपर्छ। तर, पर्यटक त्यसो गर्न सक्दैनन्। यही कारण भोलिका दिन पर्वतारोहण व्यवसाय खस्कने जोखिम पनि छ। भरिया राख्न अतिरिक्त रकम खर्चनुपर्दा आरोहण महँगो हुन्छ। त्यसको असर आरोहीको संख्यामा पर्न सक्छ।
जे भए पनि अहिले शेर्पाको नेतृत्व बढेको छ। यस्तोमा नयाँ बाटो खोल्ने, अरूले चढ्न नसकेका हिमाल चढेर तिनको प्रवर्द्धनमा लाग्नुपर्छ। शेर्पाहरू अन्तर्राष्ट्रिय आरोहण जगत्मै विश्वसनीय गाइडका रूपमा परिचित छन्। विश्वका अरू हिमाल चढ्न चाहने विदेशीहरू पनि दशौं हजार डलर खर्चेर यहाँबाट शेर्पा गाइड झिकाउँछन्। शेर्पाहरूले यो विश्वासलाई धूमिल होइन, अझ बलियो बनाउने काम गर्नुपर्छ।
हाम्रा हिमालयको आरोहणमा सबैभन्दा ठूलो चुनौती भनेकै व्यवस्थापनको हो। विगतमा विदेशी आरोहीले नै व्यवस्थापन सम्हाल्दा आरोहण असफलता दर उच्च थियो। विदेशीहरू टीम त बनाउँथे, तर उनीहरूबीच ‘इगो’ धेरै हुने रहेछ। त्यसैले आपसमै झगडा गर्थे। अहिले नेपालीहरूले व्यवस्थापन जिम्मा लिन थालेपछि त्यो समस्या छैन। नेपाली आरोहीको व्यवस्थापकीय नेतृत्व समेत राम्रो भएकाले यस्तो सम्भव भएको हो।
शेर्पाहरूले नेपालमा त राम्रो पैसा कमाइरहेकै छन्, विश्वमा पनि आफ्नो पहिचान बनाएका छन्। विश्वव्यापी रूपमै आरोहणमा जस्तो उपल्लो सम्मान नेपालीले अरू पेशामा शायदै पाएका होलान्। त्यसैले शेर्पाहरूसँग आरोहणको पुर्ख्यौली पेशालाई प्राज्ञिक रूपमा पनि अघि बढाउने अवसर छ।
सरकारले पर्वतारोहण प्रवर्द्धन गर्न एउटा मात्र होइन, धेरै ‘माउन्टेनीयरिङ एकेडेमी’ चलाउनुपर्छ। किनकि, भोलिको दिन साहसी खेलकूदको हो। त्यसमा अवसर बनाउन अहिलेसम्म हामीसँग औपचारिक ‘कोर्स’ छैन। पाठ्यसामग्रीमा आधारित तालीम छैन। विदेशमा त आरोहण सम्बन्धी विशेष पढाइ नै हुन्छ। त्यही सुविधा नेपालमा पनि हुनुपर्यो।
(शेर्पा पर्वतारोही एवं पर्यटन व्यवसायी हुन्। हिमालको २०७९ पुस अङ्कबाट।)