अफगानिस्तानमा महिलालाई पढ्न नदिने निर्णयको दशिणएशियाका अधिकारकर्मीद्वारा विरोध
अफगानिस्तानमा महिलालाई विश्वविद्यालय जान रोक लगाउने तालिवान सरकारको निर्णयको मानव अधिकारकर्मीको संस्था ‘साउथएशियन फर ह्युमन राइट्स (एसएएचआर)’ ले विरोध जनाएको छ।
पुसको पहिला साता अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयले अर्को सूचना जारी नभएसम्म सार्वजनिक तथा निजी विश्वविद्यालयलाई महिला प्रवेशमा रोक लगाउने आदेश जारी गरेको थियो। मन्त्रालयका तर्फबाट आएको विज्ञप्तिमा उच्च शिक्षामन्त्री शेख नदा महोम्मद नमिदले हस्ताक्षर थियो।
एसएएचआरले अफगानस्तिानमा तालिवानले व्यवस्थित रूपमा महिला तथा बालिकाको अधिकार र स्वतन्त्रतालाई वञ्चित गर्दै आएको बताउँदै सरकारको पछिल्लो कदमको विरोध गरेको छ। अगस्त २०२१ मा तालिवानले अफगानिस्तानमा सरकार सम्हालेपछि महिलाको हिंडडुल र शिक्षाको अधिकार हनन हुँदै आएको जनाइएको छ।
विश्वविद्यालयमा उपस्थित हुने नपाउने आदेश दिनु भनेको आधारभूत मानव अधिकारको स्पष्ट उल्लंघन भएको जनाइएको छ। तलिवान सरकारको यस निर्मम निर्णयका कारण आगामी दिनमा अफगानिस्तानका महिला र बालिका साथै सम्पूर्ण जनसंख्यालाई अकल्पनीय क्षति हुने संस्थाको भनाइ छ।
एसएएचआरका सदस्यहरू डा. रोश्मी गोश्वामी र डा. पी सर्भानामुथुले जारी गरेको विज्ञप्तिमा तालिवानले अफगानिस्तानको राज्यसत्ता हातमा लिंदा विश्वसामु गरेका वाचालाई बेवास्ता गर्दै गएको पनि उल्लेख गरिएको छ।
तालिवानले महिलालाई विश्वविद्यालय जानबाट लगाएको रोक तत्काल खारेज गर्न र महिलालाई शिक्षा प्रदान गर्न दृढ आग्रह गर्दै इस्लामले पनि शिक्षालाई समाजका प्रत्येक व्यक्तिको अधिकार र कतर्व्यका रूपमा मान्यता दिएको स्मरण गराएको छ।