चीनपछि भारतमा पनि कोरोनाको त्रास, के भन्छन् विज्ञ?
चीनमा संक्रमण बढेसँगै भारतमा पनि कोरोनाभाइरसको त्रास फैलिएको छ भने विज्ञहरूले सतर्क रहनुपर्ने र मास्क लगाउनुपर्नेमा जोड दिएका छन्।
पछिल्ला केही दिनयता चीनमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि भारतले निगरानी तीव्र पारेको छ। चीन तथा अन्य चार वटा एशियाली मुलुकबाट आउने यात्रुलाई कोभिड-१९ नेगेटिभ भएको पक्कापक्की भएपछि मात्र प्रवेश गर्न दिने नीति भारतले अख्तियार गरेको छ।
भारतका अस्पतालहरूले बढ्दो बिरामी थेग्न सक्छन् कि सक्दैनन् भनेर मंसीर ११ मा परीक्षण गरिएको छ। सरकारको तथ्याङ्क अनुसार, हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार ४०० छ। चीनमा कोरोना संक्रमितको संख्या बढेसँग त्रास फैलिएको छ, किनभने भारतमा सन् २०२० र २०२१ मा फैलिएको कोरोनाले ठूलो संख्यामा मानिसको मृत्यु भएको थियो।
यद्यपि, विज्ञहरूले अहिले आत्तिनुपर्ने अवस्था नभएको बताएका छन्। “यदि भाइरससँग सम्पर्कमा नआएको जनसंख्या रहेको अवस्थामा संक्रमण दर बढ्नु स्वाभाविक हो। संसारमा केही पनि परिवर्तित भएको छैन, यो कुरा भारतको हकमा पनि लागू हुन्छ,” इपिडिमियोलोजिस्ट तथा स्वास्थ्य प्रणाली विज्ञ डा.चन्द्रकान्त लहरियाले भने।
अहिले चीन कोरानो संक्रमणको बढ्दो अवस्थासँग भिडिरहेको छ। खास गरी चीनले जिरो कोभिड-१९ अन्तर्गत गरेको बन्दाबन्दी, क्वारेन्टिन र सीमा बन्दका प्रावधानलाई हटाएपछि संक्रमण दर बढेको हो। कोरोना वृद्धिले स्वास्थ्य चुनौती दिन सक्ने भएकाले चीन हाल जोखिम समूहमा रहेका वृद्धवृद्धालाई कोरोना विरुद्धको खोप विकासमा लागिरहेको छ।
चीनमा कोरोना वृद्धि भएसँगै विगतमा आमरूपमा लगाइएका खोप सिनोभ्याक र सिनोफर्मको प्रतिरक्षा प्रभावकारिताबारे पनि शङ्का उत्पन्न भएको छ। “मानिसहरू बीएफ-७ (ओमिक्रोनको सबभेरियन्ट)ले अत्यधिक संख्यामा संक्रमित भएका छन्, जसले अघिल्ला सबै प्रतिरक्षालाई पार गरेका थिए,” भाइरोलोजिस्ट ज्याकोब जोन भन्छन्, “यदि मानिसमा प्रतिरक्षा छैन भने रोग लाग्ने सम्भावना अधिक हुन्छ र यस्तो अवस्थामा वृद्धवृद्धा र प्रतिरक्षा कमजोर भएको जनसंख्या मारमा पर्छन्।”
विगतमा केही महीनामा भारतमा बीएफ-७ का चार वटा केस देखिए पनि ती सबै संक्रमित सबै निको भइसकेको स्वास्थ्य अधिकारीहरूले बताए। “अहिले पनि कोभिड-१९ संक्रमण बढिरहेको छ। मान्छेहरू अस्पतालमा भर्ना भइरहेका छन्। यसको अर्थ के हो भने हामी कोभिड-१९ मुक्त भइसकेका छैनौं, बरु यो इन्फ्लुएन्जा जस्तै अर्को माथिल्लो श्वासनलीको संक्रमण सरह भएको छ,” इपिडिमियोलोजिस्ट डा.ललित कान्तले भने।
गत तीन वर्षमा तीव्र पारिएको खोप कार्यक्रमका कारण भारतमा संक्रमण दर कम भएको थियो। हजारौं कोभिड-१९ का बिरामी जाँचेका क्रिटिकल केयर विज्ञ डा. ए. फताउद्दीनका अनुसार, भारतको कोरोना विरुद्धको ‘ठिमाहा प्रतिरक्षा पर्खाल’ लाई सन्तोषजनक मान्नुपर्छ किनभने धेरै मानिसले दुई वटा खोप लिएका छन् भने कतिपय संक्रमितमा प्राकृतिक रूपमा प्रतिरक्षा प्रणाली विकसित भएको थियो।
उनका अनुसार, भारतमा उपयोग गरिएको खोप चीनको भन्दा प्रभावकारी थियो। भारतले दुई अर्ब २० करोड खोप लगाएको छ, त्यसमा दुई डोज र बुस्टर डोज सामेल छन्। तेस्रो पटक दिइएको बुस्टर डोजलाई भारतमा ‘सावधानी डोज’ नाम दिइएको थियो। यद्यपि, कुल जनंख्याको २७ प्रतिशतले मात्र खोप लिएका छन्। यदि कसैले अहिलेसम्म बुस्टर डोज नलिएको भए अब लिनका लागि उनी आग्रह गर्छन्।
यसमा अन्य सबै विज्ञको सहमति रहेको छ। “समय क्रममा प्रतिरक्षा शक्ति न्यून हुँदै जान्छ। त्यसैले तेस्रो खोप लाभदायक नै हुन्छ, जसले एन्टिबडीको तहलाई बढाउँछ,” डा. लाहरिया भन्छन्।
उनका अनुसार, यो डोजले ६० वर्षभन्दा माथिका मान्छेलाई फाइदा गर्छ। “१८ देखि ५९ वर्ष उमेर समूहका मान्छेहरू, जो उच्च जोखिममा छन् उनीहरूले बुस्टर डोज लिनुपर्छ। अन्य उमेर समूहलाई भने यो आफ्नो इच्छाको कुरा हो,” उनले भने।
सर्वसाधारण र सरकार दुवैको हितको लागि सबैले ‘राम्रोको आशा गर्ने र नराम्रोको तयारीमा बस्नु’ नै कल्याणकारी हुने डा. जोन बताउँछन्। “भीडभाडमा जाँदा मास्क लगाउने बानी गरौं। चाहे क्रिकेट वा फूटबल हेर्न जाँदा होस् वा बस वा रेलमा यात्रा गर्दा,” उनको सुझाव छ, “दीर्घकालमा दिगो व्यवहार परिवर्तन नै उपयोगी हुन्छ।”
कोरोना संक्रमण न्यून हुँदै गएसँगै वर्षको शुरूआतदेखि नै भारतले मास्क अनिवार्यलाई खुकुलो पारेको थियो। भीडभाडमा जाँदा सर्तकताका नियम पालना गर्नुपरेको थिएन। “मुख्य कुरा सावधान रहनु हो। त्यसका लागि मास्क लगाऔं र समाचार हेर्दै गरौं,” डा. जोन भन्छन्।
उनको सुझावमा डा. फताउद्दीनको पनि सहमति छ। अनावश्यक भीडभाड कम गर्न मान्छेहरूलाई प्रेरित गर्नुपर्ने र मास्क लगाउनुपर्ने कुरालाई बेवास्ता गर्न नहुने उनी बताउँछन्।
(बीबीसीमा प्रकाशित मर्ली सिबास्चियनको सामग्रीको भावानुवाद महेश्वर आचार्यले गरेका हुन्।)