अब्बल अमीर
घाँटीमुनिका अङ्ग नचले पनि पालुङका अमीर कलामा भने पारङ्गत छन्। चित्रकला र सङ्गीतबाट आफूलाई चिनाइरहेका उनले यसबाट आउने आम्दानीबाट घरव्यवहार पनि चलाइरहेका छन्।
मकवानपुर‚ पालुङका २३ वर्षीय अमीर बम्जनको घाँटीमुनिको भाग चल्दैन। जन्मँदै अपाङ्गता भएका उनलाई एक ठाउँबाट अर्को ठाउँमा जान र नित्यकर्मका लागि दोस्रो व्यक्तिको सहयोग चाहिन्छ।
हात‚ खुट्टा नै नचल्ने उनै अमीर कलामा भने पारङ्गत छन्। उनी चित्र कोर्छन्, गीतमा लय र स्वर भर्छन्। यी तीनै विधाबाट आफूलाई चिनाएका मात्र छैनन्‚ घरव्यवहार पनि चलाइरहेका छन्।
आफ्नो कलालाई चिनाउन केही दिनअघि पोखरामा आयोजना भएको नेपाल लिटरेचर फेस्टिभलमा श्रीमती, छोरी र बहिनीका साथ अमीर पालुङबाट आएका थिए। ‘फरक अब्बल’ शीर्षकको कार्यक्रममा वक्ताका रूपमा उनी आएका थिए।
पहिलो पटक पोखरा आएका अमीरले पहिलो पटक नै डुङ्गा शयर गरे। पोखराको सुन्दरताले मोहित बनाए पनि अपाङ्गतामैत्री पूर्वाधार नहुँदा असहज भएको उनले अनुभव सुनाए। फेवा ताल किनारको एक दृश्यले भने उनको मन अमिलिएको रहेछ। फेवा तालको फूट ट्र्याकमा पल्टिरहेका आफू जस्तै शारीरिक रूपमा अपाङ्गता भएका एक व्यक्तिलाई बेवास्ता गर्दै मान्छेहरू हिंडेको दृश्यले भने अपाङ्गता भएका व्यक्तिहरूको अवस्था चित्रित गरेको उनले बताए।
शारीरिक अपाङ्गताका कारण नै अमीर विद्यालय जान पाएनन्। आफ्ना उमेरका साथीहरू विद्यालय गएको देख्दा उनलाई पनि जाने रहर लाग्थ्यो। त्यसैले विद्यालय गइरहेका साथीहरूलाई झ्यालबाट हेर्दा डाँडामा रहेको गुम्बा पनि देख्थे। गुम्बा देख्दा त्यहाँ पुगेर आफ्ना कुरा भगवान्लाई सुनाउन चाहन्थे। त्यहाँसम्म पुग्ने उनको अवस्था थिएन।
त्यति वेला अमीरलाई लाग्थ्यो‚ भगवान् टाढा छ र सुनेन। त्यसैले आफैंले कागजमा गुम्बा बनाए। त्यही गुम्बालाई आफ्नो वेदना सुनाए। त्यति मात्र होइन‚ ‘दैवले ठगे तापनि म ठग्ने छैन मेरो जीवनलाई...’ बोलको गीत पनि लेखे। पछि त्यसमा धुन भरे।
“एक्लो थिएँ, कुरा सुनाउने साथी थिएनन्, रुन, चिच्याउन मन लाग्थ्यो। गफ गर्न मन लाग्थ्यो, तर साथी नभएपछि मनका ती कुरा चित्रमा कोरें। गीतहरूमा त्यसलाई लेखें‚” अमीरले आफ्नो कथा सुनाए। उनी ओठले कुची‚ कलम च्यापेर चित्र कोर्छन्, गीत लेख्छन्। गीतमा स्वर पनि भर्छन्। उनी भन्छन्‚ “चित्र बनाउन आफैं सिकें। लेख्न‚ पढ्न भने छिमेकी अनिता लामा दिदीले सिकाइन्।”
अमीरको घरको आर्थिक अवस्था नाजुक थियो। त्यसैले ऋण चुक्ता नगरेकाले पटक पटक मान्छेहरू आएर घरको सामान लैजाने, गाली गर्ने गरेको उनले बाल्यकालमा देखे। त्यो देखेर कुनै दिन उनीहरूको पैसा तिर्छु भन्ने अठोट मनमा आउने गरेको उनी बताउँछन्। तर‚ आफ्नो शारीरिक अपाङ्गताले उनलाई पिरोल्थ्यो। अपाङ्गता भएकाले पैसा कमाउन सक्दिनँ कि भन्ने उनलाई लाग्थ्यो। तर‚ उनलाई कमाइ गर्न अपाङ्गताले छेकेन। अहिले चित्र बिक्री गरेर घरव्यवहार धानिरहेको अमीर बताउँछन्। पोखराको लिटरेचर फेस्टिभलमा पनि अमीरले आफ्नो चित्र बिक्रीमा राखेका थिए।
अमीरले दुई वर्षअघि रोल्पाकी पुष्पासँग प्रेमविवाह गरेका रहेछन्। अमीरको बानीव्यवहार र बोलीले आफूलाई आकर्षित गरेको पुष्पा बताउँछिन्। “घरछिमेकमा अझै पनि हाम्रो विवाह भएको स्विकार्दैनन्,” पुष्पा भन्छिन्‚ “पछि माया गर्दैन, छोडेर जान्छ भन्ने सोच्छन्। तर, म आफ्नो सास रहुन्जेल उहाँलाई साथ दिन्छु।”
सानामा कलम र कागजमा चित्र कोरेका उनले करुणा फाउन्डेशन नामक गैरसरकारी संस्थाको सहयोग पाएपछि आफ्नो सिर्जना निखार्न पाए। करुणा फाउन्डेशनको सहयोगपछि क्यानभासमा चित्र बनाउन थाले। उनी प्रायः प्रकृतिका चित्र कोर्छन्। अमीरलाई एउटा चित्र बनाउन एकदेखि दुई सातासम्म लाग्छ।
“मेरो प्रेरणा नै प्रकृति हो। म प्रकृतिमा नै रमाउँछु‚” अमीर भन्छन्‚ “सानामा घरका भित्ता र घर नजिकका रूख, चराचुरुङ्गी हेरेर हुर्किएँ। यो बाहेक मसँग केही थिएन। आमाबाबा काममा बाहिर, भाइ स्कूल। म एक्लै हुन्थें। अनि यिनै प्रकृतिलाई हेरेर दिन काट्थें। त्यसैबाट चित्र कोर्न सिकें।”
२०७३ सालमा अमीरको एकल चित्रकला प्रदर्शनी भएको थियो। उनले सोही वर्ष राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरे। उनको कला अन्तर्राष्ट्रिय स्तरमा पनि पुरस्कृत भइसकेको छ। अमीर भन्छन्, “अपाङ्गता भएका व्यक्तिले उचित वातावरण पायौं भने धेरै गर्न सक्छौं। हामीलाई सम्मान र सहयोगको खाँचो छ।”