लुम्बिनी प्रदेश सभा बैठक देउखुरीमा बस्ने
लुम्बिनी प्रदेश सभा अधिवेशन पुस १८ गते शुरू हुने भएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा बुधबार विज्ञप्तिमा उल्लेख छ।
प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरीमा पहिलो पटक प्रदेश सभा बैठक बोलाइएको हो। यस अघि प्रदेश सभाको बैठक अस्थायी राजधानी मुकाम बुटवलमा बस्दै आएको थियो।
साविक राप्ती प्राविधिक शिक्षालय हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा नव निर्मित प्रदेश सभाको भवनमा बैठक बस्नेछ। नव निर्मित भवन पाँच करोड २० लाख लागतमा निर्माण गरिएको हो।