बार्बेडोसमा शुरू भएको वार्ताप्रति भेनेजुयलाका राष्ट्रपति मदुरो आशावादी
भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार बार्बेडोसमा शुरू भएको सरकार र प्रतिपक्षीबीचको वार्ताप्रति आफू ‘आशावादी’ बनेको बताएका छन्।
यसै वर्षको जनवरीमा भेनेजुयलाका राष्ट्रिय सभाका अध्यक्ष हुआँ गुएइदोले आफू देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राष्ट्रपति मदुरोमाथि प्रत्यक्ष चुनौति खडा भएको थियो ।
प्रतिपक्षी दलका नेता गुएइदोको घोषणालाई संयुक्त राज्य अमेरिकाले तत्काल समर्थन गरेको थियो भने यूरोपेली केही मुलुकसहित विभिन्न ५० मुलुकहरूले पनि अमेरिकी निर्णयलाई पछ्याएका थिए ।
भेनेजुयलाका राष्ट्रपति निर्वाचनबाट जनमत प्राप्त अधिकारी भएको भन्दै रूस, चीन र क्युवाले समाजवादी नेता मदुरोलाई दह्रो साथ दिएका थिए। जसका कारण मदुरो सरकारलाई आन्दोलनको बलमा सत्ताबाट हटाउने प्रतिपक्षीको चाहना विफल बनेको थियो ।
सरकार र प्रतिपक्षी दलका प्रतिनिधिहरूबीच वार्ताको वातावरण निर्माण गर्न नर्वेको ओस्लोमा भएका छलफलपछि दुवै पक्षका प्रतिनिधि औपचारिक वार्तामा सहभागी बन्न बार्बेडोस पुगेका छन् ।
सोमबार भएको वार्तापछि राष्ट्रपति मदुरोले राज्य सञ्चालित टेलिभिजन भीटीभीमार्फत गरेको सम्बोधनमा भने, "म निकै नै आशावादी छु । सोमबार वार्ताटोलीले करिब पाँच घण्टा छलफल गरेको छ । मलाई लाग्छ, एकपछि अर्को गर्दै हुने छलफल र रणनीतिक धैर्यबाट हामीले शान्तिको बाटो खोज्न सक्छौँ । वार्ता टोलीले मुलुकका सम्पूर्ण हितलाई ध्यानमा राख्दै विभिन्न छ वुँदामा छलफल गरिरेको छ,” राष्ट्रपतिले थपे।
तर छलफलका ती छ बुँदा के के रहेका छन् भन्नेबारे भने उनले केही बताएनन् ।
राष्ट्रपति मदुरोले भेनेजुयलाको सङ्कटमा अमेरिकाले प्रतिपक्षीलाई उत्तेजित पारेको आरोप लगाउँदै उनले भने, “यदि प्रतिपक्षीले सद्भावका साथ छलफलमा सहभागी हुने र अमेरिकी हस्तक्षेपवाद हावी नहुने हो भने म ढुक्क छु हामी सहमतिमा पुग्नेछौँ ।”
बार्बेडोसमा भइरहेको वार्ता ओस्लोमा गत मेमा भएको छलफलपछिको तेस्रो चरणको वार्ता हुनेछ । प्रतिपक्षी नेता गुएइदोले गत मङ्गलबार मदुरोसँग पुनः वार्ता गर्ने योजना नरहेको दाबी गरे पनि सोमबार लामो समयसम्म दुबै पक्षका बुँदामा केन्द्रित बनेर छलफल भएको सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिपक्षी समूहको सहयोगी मानिएका नौसेनाका अवकास प्राप्त उच्च अधिकारी राफेल अकोस्टा अरेभालोको शङ्कास्पद मृत्युले प्रतिपक्षी तथा अमेरिका तथा यूरोपेली मुलुक राष्ट्रपति मदुरोप्रति थप आक्रोशित बनेका थिए।