ब्याजदर घटाउन माग गर्दै वीरगञ्जका व्यवसायी आन्दोलित
ब्यांकको ब्याजदर घटाउन र मौद्रिक नीति सच्याउन माग गर्दै वीरगञ्जका उद्योगी व्यवसायी आन्दोलित भएका छन्।
नेपाल राष्ट्र ब्यांकको ल्याएको चालू पूँजी कर्जा मार्गदर्शनको विरोधमा तीन दिनदेखि वीरगञ्जका उद्योगी व्यवसायीले प्रदर्शन गर्दै आएका छन्। राष्ट्र ब्यांकले ल्याएको चालू कर्जा नीतिले उद्योगधन्दा चल्न सक्ने स्थित नरहेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघ सहित १६ वटा उद्योग वाणिज्य संघ र १० वटा वस्तुगत संघसंस्थाहरूको समर्थनमा विरोध भइरहेको छ।
उद्योगी व्यवसायीले दबाब स्वरूप बुधबार पनि वीरगञ्जस्थित राष्ट्र ब्यांक कार्यालय अगाडि धर्ना दिएका छन्। उनीहरूले मौद्रिक नीति सच्याउन माग गरेका छन्। त्यस्तै, ब्यांकहरूको ब्याजदर पनि चर्को भएकाले घटाउन माग गरेका छन्।
“कोरोना महामारीका वेला पनि हामीले सरकारको ढुकुटी खाली हुन दिएनौं, जतिसुकै आपत्विपत् हुँदा पनि राज्यसँग कहिल्यै कुनै विरोधमा गएनौं,” उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले भने, “गोजी रित्तो पारेर भए पनि सरकारलाई पुससम्मको आयकर बुझाउन लागेका छौं। तर, राज्यले दोहन मात्रै गरिरहेको छ।”
अहिले ब्यांकहरूको ब्याजदर ६ प्रतिशतबाट बढेर १६ प्रतिशत पुगेकाले तिर्न नसक्ने अवस्था आएको उनको भनाइ छ। त्यसमा पनि तरलता अभावलाई देखाएर ब्यांकहरूले ऋण समेत नदिएकाले झन् समस्या भएको उनीहरूको भनाइ छ।
राष्ट्र ब्यांकले लागू गरेको चालू पूँजी कर्जा मार्गदर्शन खारेजी नभएसम्म आन्दोलनलाई निरन्तरता दिने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले बताए। यसले उद्योगी व्यवसायी मर्कामा परेको उनको भनाइ छ।