अनधिकृत रूपमा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन
रवि लामिछानेले कार्यभार सम्हालेको भोलिपल्ट नै गृह मन्त्रालयले भीआईपी र भीभीआईपीका लागि खटाइएको अनधिकृत सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ।
नियम विपरीत कति सुरक्षाकर्मी विशिष्ट व्यक्तिहरूको अगुवापछुवा (अङ्गरक्षक)का रूपमा खटिएका छन् भन्ने चाहिं गृहले सार्वजनिक गर्न आनाकानी गरेको छ। मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले त्यस्तो संख्या मातहतका निकायबाट माग गरिरहेको बताए। विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार सरकारले बहालवाला तथा पूर्व भीआईपी/भीभीआईपीहरूलाई सुरक्षाकर्मी खटाउँदै आएको छ।
प्रहरी र सशस्त्र प्रहरीका उल्लेख्य जनशक्ति विशिष्ट व्यक्तिको सुरक्षा अधिकृत (पीएसओ)का नाममा गैरकानूनी रूपमा खटिएको बताइन्छ। केही समय पीएसओ फिर्ता बोलाउने र समयक्रममा पुनः पुरानै प्रवृत्तिमा फर्काउने गरिंदै आएको छ। २०७७ सालमा नयाँ कार्यविधि जारी भएपछि झण्डै ५०० सुरक्षाकर्मी फिर्ता भएका थिए। तर, पछि गैरकानूनी रूपमा खटाउने क्रम भने रोकिएन।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जनशक्ति वर्तमान तथा पूर्व विशिष्ट पदाधिकारीको सुरक्षाका नाममा खटिंदै आएका छन्। सुरक्षा ‘थ्रेट’ मूल्याङ्कनका आधारमा विशिष्ट पदाधिकारीको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइँदै आएका छन्। तर, त्यसरी खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा प्रयोग गरिएको भन्दै बारम्बार आलोचना हुने गरेको छ। नयाँ गृहमन्त्री आएपछि यस्ता सुरक्षाकर्मी हटाउने निर्णय भए पनि दिगो कार्यान्वयन भने भएको पाइँदैन।