सीके राउतको कार्यक्रममा स्वयंसेवक हुँदै मन्त्री
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री भएका छन्।
एक समय सीके राउतले स्वतन्त्र मधेश राज्य बनाउने अभियान चलाइरहेका थिए। जसका कारण उनी चर्चामा आइरहन्थे। चर्चामा आइरहने उनै राउतसँग कसरी जोडिने भन्ने ध्याउन्नमा थिए अब्दुल खान।
आफ्नो उद्देश्य पूरा गर्न खान लागिपरेका थिए। यही सिलसिलामा काठमाडौंमा उनीहरूको भेट भयो। २०६८ सालमा राउतले काठमाडौंमा कार्यक्रम आयोजना गरेका थिए। उक्त कार्यक्रममा खान स्वयंसेवकका रूपमा सहभागी भए। त्यही वेलादेखि उनी राउतसँगै राजनीतिमा लागे। २०७५ मा राउतलाई प्रहरीले नियन्त्रणमा लिएपछि खानले भूमिगत रूपमा स्वतन्त्र मधेश अभियानलाई अगाडि बढाए। विभिन्न जिल्लामा संगठन विस्तार गरे।
सरकारले र आफू नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच सहमति भएपछि राउतले स्वतन्त्र मधेश राज्यको माग छाडे। त्यसपछि उनले जनमत पार्टीको स्थापना गरे। त्यस पार्टीको संस्थापक वरिष्ठ उपाध्यक्षमा खान चुनिए। जनमत पार्टीको २०७७ सालमा जनकपुरमा भएको महाधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भए। उनी पार्टीको दोस्रो वरीयताका नेता हुन्।
बर्दियाको गुलरिया नगरपालिका–११, जिगिरियाका असगरा बेगम र इमान खानका कान्छा छोरा खानको जन्म २०४३ भदौ १ गते भएको हो। सामान्य परिवारमा जन्मेका उनले मदरसाबाट शिक्षा लिएका थिए। कण्ठपुर माविबाट एसएलसी गरेका खानले पब्लिक हेल्थमा स्नातक गरेका छन्।
राजनीतिमा आउनुअघि गैरसरकारी संस्थामा काम गरिरहेका थिए। “म पहिला कुनै पनि पार्टीमा आबद्ध थिइनँ, एउटा एनजीओमा जागीर खान्थें‚” उनले भने, “माननीय डा. सीके राउतसँग भेट भएपछि उहाँको प्रभावले जागीर छोडेर राजनीतिमा आएँ।”
खान गत मंसीर ४ गते भएको आम निर्वाचनमा जनमत पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए। प्रत्यक्षमा एक सीट मात्र जितेको जनमत पार्टीले समानुपातिकमा चार सीट हात पारेको छ। तीमध्ये एकमा खान निर्वाचित भएका हुन्। गत सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले खानलाई संसदीय दलको उपनेता चयन गरेको थियो। उनी पार्टी अध्यक्ष राउतका विश्वासपात्र हुन्।
एमाले-माओवादी सहितको गठबन्धनमा रहेको जनमत पार्टीले सरकारमा ३६ वर्षीय खानलाई पठाएको छ। शपथ लिइसक्दासम्म मन्त्रालयको भने टुङ्गो लागेको छैन। मन्त्री खानले आफूले पार्टीको घोषणपत्रको आधारमा काम गर्ने बताएका छन्। “हाम्रो पार्टीले गत निर्वाचनमा १० हजार युवाका लागि स्वदेशमा रोजगारीको सिर्जना गर्ने, किसानलाई समयमा मल, बीउ उपलब्ध गराउने जस्ता घोषणापत्रमा उल्लेख गरेको छ,” उनले भने‚ “तिनलाई कार्यान्वयन गर्न मेरो पहिलो प्राथमिकता रहनेछ।”