चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन चैतभित्र सञ्चालनमा ल्याउने तयारी
त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेशनको निर्माण ७० प्रतिशत सकिएको छ।
प्रसारण लाइन र सबस्टेशनको निर्माण आगामी चैतभित्र सक्ने गरी काम धमाधम भइरहेको प्राधिकरणले जनाएको छ। आयोजना अन्तर्गत रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेसीमा २२०/१३२/३३ केभीको क्रमश: चिलिमे हब र त्रिशूली-३ ‘बी’ हब सबस्टेशन निर्माणाधीन छन्। साथै, रसुवाको चिलिमे-त्रिशूली-३ ‘बी’ हब २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ।
दुवै सबस्टेशन सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ। सबस्टेशनमा रहने पावर ट्रान्सफर्मर, जीआईएस लगायतका महत्त्वपूर्ण उपकरण आयोजनास्थलमा ल्याइसकिएको छ। यता, प्रसारण लाइनका टावर, कन्डक्टर लगायतका सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेको प्राधिकरणले जनाएको छ।
कुल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये ४३ वटाको जग हालिएको छ। १४ वटा टावरको जग हाल्ने काम भइरहेको छ। २५ वटा टावर खडा गरिएको छ। खडा गरिएका टावरमा तार तान्न छिटै शुरू हुनेछ। चिलिमे-त्रिशूली-३ ‘बी’ हब प्रसारण लाइन अन्तर्गत चिलिमे-मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ-त्रिशूली-३ ‘बी’ हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट निर्माण गर्नेछ।
२७ वटा मल्टिसर्किट टावरमध्ये १० वटाको जग हालिएको छ। दुई वटा खडा गरिएको र सात ठाउँमा जग हाल्ने काम भइरहेको छ। प्रसारण लाइन अन्तर्गत रसुवाको तिरुडाँडामा रहने एउटा टावरबाट खड्गुडाँडासम्म रहने अर्को टावरसम्म मैलुङ खोलामाथि एक हजार २३४ मिटर लामो दूरीमा लाइन तान्नुपर्नेछ।
कोरियन कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टिसर्किट लाइन बनाउन लागिएको हो। माथिल्लो त्रिशूली-१ ले मल्टिसर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्नेछ।
भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गा, गिटी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड-१९ लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ। उत्तरगया गाउँपालिकाको तिरुमा पर्ने टावरहरू निर्माणका लागि आयोजनाले त्रिशूली नदीबाट उक्त स्थानसम्म करीब १५ किलोमिटर पहुँच सडक बनाएको छ। यसबाट त्यस भेगका बासिन्दाको आवतजावत पनि सहज भएको छ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार निर्माणाधीन सबस्टेशन तथा प्रसारण लाइनको स्थलगत अनुगमन गरी आगामी चैतभित्रको समयसीमाभित्रै काम सम्पन्न निर्देशन दिएको छ।
आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीव्रता दिन निर्देशन दिंदै टोलीले प्रसारण लाइन अत्यन्तै संवेदनशील र उच्च प्राथमिकतामा रहेकाले पटक पटक जनाएको प्रतिबद्धता अनुसार निर्माण जतिसक्दो छिटो सम्पन्न गर्न आग्रह गरेको प्राधिकरणले जनाएको छ।
आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रूप अफ कम्पनीज्ले अहिले आयोजनाको निर्माणमा तीव्रता दिइएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत् चिलिमे हबमा जोडिनेछ।
आगामी चैतसम्म सबस्टेशन तथा प्रसारण लाइन निर्माण हुन नसकेमा आयोजनाहरूको विद्युत् खेर जाने अवस्था आउनेछ। प्राधिकरणको टोलीले प्रसारण लाइन अभावमा आयोजनाहरूको विद्युत् खेर जाने अवस्था आउन नदिन गम्भीर भएर काम गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेको हो।
प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि पिङ्गाओसँग २०७४ कात्तिकमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०७४ पुसमा कार्यान्वयनमा आएको थियो। आयोजनाको परामर्शदाता भारतको पावर ग्रिड हो।
अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास ब्यांक, यूरोपेली लगानी ब्यांकको सहुलियतपूर्ण ऋण रहेको छ।