घूस रकम सहित डीएसपी ठगबहादुर केसी सीआईबीको नियन्त्रणमा
घूस लिएको रकम, चेक र सुन सहित सीआईबीको टोलीले इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत डीएसपी ठगबहादुर केसीलाई नियन्त्रणमा लिएको छ।
२०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवर रुपन्देहीको सर्वोत्कृष्ट प्रहरी भन्दै पुरस्कृत भए। जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको पर्सिपल्ट भने कुँवरको विना कारण काज सरुवा भयो।
कुँवरलाई प्रतिस्थापन गरेर काजमा आएका थिए, डीएसपी ठगबहादुर केसी। विवादित विगत भएका केसी घुससहित पक्राउ परेका छन्। शक्तिको आडमा बारम्बार कारबाहीबाट जोगिंदै आएका डीएसपी केसीलाई नगद र चेक सहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो। सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले केसीको साथबाट नौ लाख ५० हजार रुपैयाँको चेक र साढे आठ लाख रुपैयाँ नगद बरामद भएको पुष्टि गरे।
केसी जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएपछि रमाना बुझ्ने तयारीमा थिए। डीएसपी केसीले बुटवलका सुन व्यापारी खिलेन्द्र जिसीको ३५ किलो सुन नियन्त्रणमा लिएर छोड्नका लागि घूस मागेको एआईजी सुवेदीले बताए।
जिसीले सुन घरबाट पसलमा लैजाँदै गर्दा नियन्त्रणमा लिएको र केसीले प्रहरी कार्यालयमा अभिलेख नराखी आफ्नै साथमा राखेर मोलमोलाइ गरेको पाइएको छ। उक्त सुन पनि सीआईबीले बरामद गरेको छ। “नियन्त्रणमा लिएको सुन र घूस लेनदेन गरेको दसी नै भेटिएको छ,” एआईजी सुवेदी भने।
छानबिन समितिको प्रतिवेदनपछि केसीलाई कस्तो कारबाही हुने भन्नेबारे प्रहरी प्रधान कार्यालयले टुङ्गो लगाउनेछ। उनको आचरणबारे यसअघि पनि बारम्बार प्रश्न उठेको थियो। गत साउनमा तिलोत्तमा नगरपालिकाको एउटा विवादमा डीएसपी केसीले एक जना वडाअध्यक्षलाई लात्तीले हानेर पोखरीमा लडाएको भिडिओ सार्वजनिक भएको थियो। यो घटनापछि केसीलाई कारबाही गर्न त्यहाँका जनप्रतिनिधिले दबाब दिए पनि शक्तिको आडमा जोगिएका थिए।
उनले बुटवलमा अवैध रूपमा सञ्चालित ब्लु स्काई बिजनेश सोलुशन नामक कल सेन्टरबाट समेत घूस मागेको आरोप छ। तर, रकम नदिएपछि गत साउनमा प्रहरीले छापा मारेको थियो। घूस लेनदेनमा कुरा निमलेर छापा मारेको सूचना पाएपछि सीआईबीले आफू मातहतको साइबर ब्यूरो मार्फत अनुसन्धान थालेको थियो।