माओवादी अध्यक्ष दाहाल तेस्रो पटक प्रधानमन्त्री
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। दाहाल तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका छन्।
उनी नेकपा (एमाले) लगायत सात दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री भएका हुन्। उनलाई सात दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थन रहेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसदको आवश्यकता पर्छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर ढकालले विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेको जनाइएको छ। प्रतिनिधि सभामा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।
दाहाललाई नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँगै स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि समर्थन गरेका छन्।
प्रतिनिधि सभामा एमालेका ७८, माओवादीका ३२, स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्। त्यस्तै, तीन जना स्वतन्त्र सांसद सहित दाहाललाई १६९ जना सांसदको समर्थन पुगेको छ।
को हुन् दाहाल?
२०११ मंसीर २६ गते कास्कीको ढिकुरपोखरीस्थित लेवाडेमा जन्मिएका दाहालले स्थानीय प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिएका थिए। उनले २०२६ सालमा चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका थिए।
पाटन बहुमुखी क्याम्पसबाट २०२९ सालमा आईएस्सी गरेका दाहालले २०३३ सालमा चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी-एजी गरेका थिए।
कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरेका थिए। उनी २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड उपनामले परिचित बनेका थिए।
२०२८ सालमा नेकपाको पुष्पलाल समूहमा लागेर राजनीतिक जीवन प्रारम्भ गरेका दाहालले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए। २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्य बनेका थिए। त्यसपछि २०३८ सालमा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० सालमा संघको केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए।
२०४१ सालमा नेकपा (मशाल)को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी २०४२ सालमा पोलिटब्यूरो सदस्य र २०४६ सालमा महामन्त्री बनेका थिए। त्यसपछि २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री भएका थिए।
त्यस्तै, २०५१ सालमा तत्कालीन नेकपा-एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको तेस्रो विस्तारित बैठकबाट पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि उनी महामन्त्री भएका थिए। २०५२ सालदेखि शुरू भएको सशस्त्र विद्रोहको नेतृत्व गरेका दाहाल दोस्रो जनआन्दोलनपछि शान्तिपूर्ण राजनीतिमा आएका थिए। २०६३ असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गरी १० वर्षे भूमिगत जीवनबाट सार्वजनिक भएका थिए।
२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो। उनी २०६५ साउनमा पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। त्यति वेला उनी काठमाडौं-१० र रोल्पा-२ बाट संविधानसभामा निर्वाचित भएका थिए।
संविधान नबनेपछि २०७० सालमा फेरि संविधानसभाको निर्वाचन भएको थियो। त्यसमा उनी सिरहा-५ बाट निर्वाचित भएका थिए। त्यसपछि उनी २०७३ साउन १९ गते व्यवस्थापिका-संसद्मा ३६३ सदस्यको बहुमत प्राप्त दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए।
राजनीतिमा लाग्नुअघि उनी शिक्षण पेशामा संलग्न थिए। उनले २०२९ देखि २०३५ सालसम्म शिवनगरस्थित नारायणी विद्या मन्दिर, नवलपरासीको डण्डा मावि, गोरखाको आरुघाटस्थित भीमोदय माविमा अध्यापन गराएका थिए। त्यस्तै, उनले २०३२ सालमा यूएसएडमा पनि काम गरेका थिए।
२०१९ सालमा कास्कीको ढिकुरपोखरीबाट चितवनको भरतपुरमा बसाइँसराइ गरेका दाहालले २०२६ वैशाखमा सीता पौडेलसँग विवाह गरेका थिए।