प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष दाहालद्वारा दाबी पेश
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन्।
आइतबार साँझ राष्ट्रपति कार्यालय पुगेका दाहालले सात दलको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गरेका हुन्।
उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके), नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको समर्थनमा दाबी पेश गरेका हुन्।
त्यस्तै, स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि समर्थन गरेका छन्।
सात दलका अध्यक्षले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘हामी हस्ताक्षरकर्ता दलहरूले प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य संख्या कुल प्रतिनिधि सभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिदिनहुन अनुरोध छ।’
संविधानको धारा ७६ को उपधारा २ मा प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत नभएका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउने दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। यही व्यवस्था अनुसार प्रधानमन्त्रीका लागि दाबी पेश गर्न राष्ट्रपतिले पुस १० गते साँझ ५ बजेसम्मको समय दिएकी थिइन्।
प्रतिनिधि सभामा एमालेका ७८, माओवादीका ३२, स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्। त्यस्तै, तीन जना स्वतन्त्र सांसद सहित दाहाललाई १६९ जना सांसदको समर्थन पुगेको छ।