कांग्रेसले सरकार बनाउन नसकेपछि नैतिक बाध्यताले दाहाललाई समर्थन गर्यौं: महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नैतिक बाध्यताले गर्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री स्वीकार गरेको बताएका छन्।
राष्ट्रपतिले आह्वान गरेको अवधिमा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि सहमति जुटाउन नसकेपछि आफूहरू अघि बढ्नुपरेको पोखरेलको भनाइ छ। माओवादीका अध्यक्ष दाहाललाई सात दलले समर्थन गर्ने निर्णय गरेपछि पोखरेलले यस्तो धारणा व्यक्त गरेका हुन्।
“संविधानको धारा ७६ को उपाधारा २ अन्तर्गत सरकार गठनका लागि दिएको समय समाप्त हुने दिन आजै हो। मंसीर ४ को निर्वाचनले कांग्रेसलाई पहिलो दल बनाए पनि उसले अग्रसरता र पहलकदमी लिएर निष्कर्षमा पुर्याउन सकेन,” पोखरेलले भने, “पहिलो दलले उपधारा २ अनुसार सरकार बनाउन नसकेपछि दोस्रो ठूलो दललाई पहलकदमी लिन नैतिक बाध्यता आइलाग्यो, त्यसै अनुसार छलफल गर्दा प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने सहमतिमा पुग्यौं।”
धारा ७६ को ३ अनुसार सरकार बनाउँदा कांग्रेसको एकल सरकार बन्ने र त्यो एमालेका लागि स्वीकार्य नभएको पोखरेलको धारणा छ। उनले भने, “धारा ७६ को उपधारा ३ अनुसार एउटा दलविशेषको सरकार रहने कुरा आम निर्वाचनमा व्यक्त जनादेशको विपरीत हुने कुरालाई ध्यानमा राखेर दाहाललाई समर्थन गर्ने निर्णय गर्यौं।”
धारा ७६ को उपाधारा ३ मा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ।