कर्णाली सरकारले स्थानीय पाठ्यक्रम बनाउने
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीमैत्री पाठ्यक्रम निर्माण गर्ने भएको छ।
आर्थिक वर्ष २०७६\७७ मा स्थानीय पाठ्यक्रम निर्माणका लागि मन्त्रालयले रु ५० लाख बजेट विनियोजन गरेको छ ।
सरकारले कर्णालीका विद्यार्थीले रैथाने भाषा, कला–संस्कृति प्राकृतिक र ऐतिहासिक सम्पदाका बारेमा ज्ञान हासिल गरुन् भन्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माणमा जोड दिएको हो ।
सामाजिक विकासमन्त्री दल रावलले पाठ्यक्रम निर्माण गरिँदा आफ्नो भूगोल, समुदाय र संस्कृतिलाई प्राथमिकतामा राखिने बताए।
उनले खस भाषाको जननी कर्णालीमै उक्त भाषा लोप हुन थालेकाले पाठ्यक्रम निर्माण गर्ने योजना अघि सारेको बताए।