हिमाल बुझाऔं
संसारमा हिमाली देशको परिचय पाए पनि नेपाली आफैंले भने हिमाल चिन्न र यसको महत्त्व बुझ्न पाएकै छैनन्।
२००७ सालअघि राणाशासनकालमा विदेशी पर्यटकलाई नेपाल आउन सहज थिएन। अनुमतिको कडा प्रबन्धका कारण पर्वतारोहण, पदयात्रा सहित पर्यटन क्षेत्र सुषुप्त थियो। राणाशासन ढलेर प्रजातन्त्र आएपछि पर्यटन गतिविधि क्रमशः बढ्न थाल्यो। विसं २०२० को दशकपछि पर्वतारोहण सहित पर्यटन क्षेत्र विस्तार भयो।
हामीकहाँ हिमाली क्षेत्रमा पर्यटनको विशाल सम्भावना छ र विदेशी पर्यटकलाई आकर्षित पनि गरिरहेका छौं। तर, मुलुकभित्रै चाहिं पर्वतारोहण, हिमाली क्षेत्रको पदयात्रा तथा हिमाल चिन्ने कुरा प्राथमिकतामै छैन। नेपालीले आफ्नै हिमाल चिन्न, यसको महत्त्व बुझ्न पाएका छैनन्। हिमाल चिन्नु भनेको हिमाली जनजीवन, संस्कृति, भूगोल र समग्रतामा मुलुक नै बुझ्नु भएकाले यो निकै आवश्यक छ।
तस्वीर हेरेर वा टेलिभिजनमा देखेर मात्र हिमाल चिनिंदैन। कुन हिमाल हो, त्यसको भूगोल कस्तो छ, आरोहणका कुन कुन बाटा छन्, पहिलो पटक कसले आरोहण गर्यो आदि सबै पाटोबाट नियाल्नुपर्छ। जब हिमाल चिन्ने नागरिकको संख्या बढ्छ र हिमाली वातावरण बुझेका दक्ष जनशक्ति तयार गरिन्छ, तब मात्रै हिमाली पर्यटनले गति पाउँछ।
मुलुकको पर्यटन एवं प्रकारान्तरले अर्थतन्त्रकै केन्द्र हिमाल बन्ने सम्भावना भएकाले हरेक नेपाली हिमाल र यसको महत्त्वबारे जानकार हुनुपर्छ। त्यही उद्देश्यले हिमाल र पर्वतारोहणबारे कक्षा ८, ९ र १० को पाठ्यक्रममा समेट्न सरकार समक्ष आग्रह गरिरहेका छौं। यो विषय विद्यालय तहको पाठ्यपुस्तकमा समेट्न सकिए विद्यार्थीलाई भूगोल, संस्कृति, समाज, अर्थव्यवस्था, विज्ञान सबै कुराको जानकारी दिन सकिन्छ।
पर्यटन क्षेत्रको विकासमा प्राविधिक सीपले मात्रै पुग्दैन, शैक्षिक ज्ञान पनि चाहिन्छ। २०५९ सालमा सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान स्थापना गरेपछि पर्वतारोहण, उच्च हिमाली पदयात्रा र अन्य गतिविधि सञ्चालन गर्न दक्ष जनशक्ति उत्पादन गर्ने तथा तालीम दिने काम भइरहेको छ। प्रतिष्ठानले ट्रेकिङ गाइड, स्की, उच्च हिमाली गतिविधिका तालीम सञ्चालन गर्दै आएको छ। २०७४ सालदेखि ब्याचलर अफ माउन्टेनीयरिङ स्टडिज र अहिले मास्टर अफ एड्भेन्चर टुरिज्म स्टडिज शुरू गरिएको छ। हाम्रै पहलमा पर्यटन र पर्वतारोहणबारे कक्षा ११/१२ मा पनि पाठ्यक्रम बनाएर लागू गरिएको छ।
जब हिमाल चिन्ने नागरिकको संख्या बढ्छ र हिमाली वातावरण बुझेका दक्ष जनशक्ति तयार गरिन्छ, तब मात्रै हिमाली पर्यटनले गति पाउँछ।
प्रतिष्ठानले ट्रेकिङ गाइडका २६ वटा तालीम चलाइसकेको छ। पर्वतारोहण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै महिलाको उपस्थिति बढाउने उद्देश्यले नेपाल पर्यटन बोर्डसँग मिलेर महिला ट्रेकिङ गाइडको निःशुल्क तालीम पनि शुरू गरिएको छ। नेपालको पदयात्रा क्षेत्र ट्रेकिङ गाइडहरूले नै चलाइरहेका छन्। ट्रेकिङ गाइडको तालीमले मात्र नपुग्ने देखेर स्नातक तहमा ट्रेकिङको औपचारिक कोर्स शुरू गरिएको छ।
सन् २०२० मै २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको नेपालले भविष्यमा स्वाभाविक रूपमा योभन्दा पनि फराकिलो लक्ष्य राख्नेछ। त्यस्तो अवस्थामा पर्वतारोहण, उच्च हिमाली क्षेत्रको पदयात्रामा आउने सम्भावित लाखौं पर्यटकलाई सेवा दिन पर्याप्त दक्ष जनशक्ति चाहिन्छ। नेपालमा २० हजारभन्दा बढी ट्रेकिङ गाइड र ७३ जना माउन्टेन गाइड छन्। मुलुकले पर्यटनमा फड्को मार्न सके यति जनशक्तिले नपुग्ने भएकाले आगामी वर्षहरूमा पर्यटक आगमनको अनुमानका आधारमा जनशक्ति उत्पादन गर्दै जानुपर्छ।
भविष्यसम्मै नेपालको पर्यटनको मुख्य आधार हिमाल बन्नेमा सन्देह छैन। यसबाट कसरी लाभ सिर्जना गर्ने वा धेरै नेपालीलाई रोजगारी दिने भन्ने महत्त्वपूर्ण विषय हो। पर्यटन सम्बन्धी हाम्रा विद्यमान नीति र योजना पर्याप्त र प्रभावकारी छैनन्। संसारभरिको पर्यटनको प्रवृत्ति हेरेर यी नीतिमा परिमार्जन गरिनुपर्छ। उदाहरणका लागि, आठ हजार मिटरमाथिका विश्वका १४ मध्ये नेपालमै आठ वटा र पाँच हजार मिटरमाथिका दुई हजार ७१ वटा हिमाल पर्छन्। हिउँदमा चार हजार मिटरमाथिका स्थानमा प्रशस्त हिउँ पर्छ। तर विडम्बना, विश्वका ६७ मुलुकले सञ्चालन गरिसकेको स्की खेल खेलाउने एउटा पनि स्की रिसोर्ट नेपालमा छैन। संसारले अभ्यास गरिरहेका पर्वतारोहणका नयाँ नयाँ गतिविधि, स्नो बोर्डिङ, स्की जस्ता हिमाली खेलकूद चलाउन सके पर्यटनको नयाँ आकर्षण र अवसर सिर्जना हुन्छ। पुरानो मानसिकता अँगालेर मुलुकको हिमाली पर्यटनले गति लिँदैन।
(पण्डित नेपाल सरकार, पर्यटन विभागले सञ्चालन गरेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका तालीम संयोजक हुन्। हिमालको २०७९ पुस अंकबाट।)