यस कारण मैले हेरिनँ विश्वकप फूटबल
फूटबलमा लगाव भए पनि मैले कतार विश्ववकप हेरिनँ। कतारमा ज्यान गुमाउनुभएका मेरा मामाको आत्माले हेर्ने अनुमति दिएन।
म फूटबल भनेपछि सानैदेखि मरिहत्ते गर्थें। गुल्मीमा खेतका गह्रामा खाली खुट्टाले नै फूटबल खेल्थें। बल नहुँदा दाइहरूले फ्याँकेका हावा गएको भलिबललाई फूटबल बनाएर खेल्थ्यौं। सानो छँदा मलाई मन पर्ने खेलाडी ब्राजिलका रोनाल्डो थिए। २००२ को विश्वकप सानो टेलिभिजन सेटमा हेरेको याद अझै ताजा छ।
डीभी परेपछि हामी सपरिवार सन् २००३ मा अमेरिका आयौं। अमेरिका आएपछि टेक्ससमा मेडिकल पढ्न शुरू गरें। त्यो वेला मेरो गाउँका साथीहरू भने कामको खोजीमा विदेश जानुपर्ने अवस्थामा थिए। सशस्त्र द्वन्द्व, भ्रष्टाचार र राजनीतिक खिचातानी आदिले नेपालको अर्थतन्त्र ठप्प झैं थियो। देशभित्रै रोजगारी पाउन गाह्रो थियो। त्यसैले रोजगारीको खोजीमा कोही खाडी मुलुक जान्थे त कोही भारतमा घरेलु वा कृषि कामदारका रूपमा जान्थे।
रोजगारीका लागि नै विदेश जानुपर्ने बाध्यतामा पर्नेमध्ये मेरो मामा पीताम्बर भट्टराई पनि हुनुहुन्थ्यो। सन् २०१० मा एक वर्षका लागि पढ्न म भारत गएको थिएँ। उक्त समयमा दिल्लीमा पीताम्बर मामासँग भेट भयो। रेस्टुरेन्टमा काम गर्ने उहाँ लामो यात्रा गरेर मलाई भेट्न आउनुभयो। भान्जालाई दिल्लीको मिठाई खुवाउनुपर्छ भनेर मिठाई पसल लानुभयो। भेटमा मेरी स्वर्गीय आमा (मामाकी बहिनी)बारे कुराकानी भयो। म सात वर्षको हुँदा अज्ञात रोगले आमाको निधन भएको थियो। यस्तो विपत्ति कसैलाई नपरोस् भन्ने लागेर नै मलाई डाक्टर बन्न मन लागेको थियो।
मामा-भान्जाको केही क्षणको कुराकानीपछि हामी आआफ्नो बाटो लाग्यौं। छुट्टिने वेला मामाले कतार जाने सोच छ भन्नुभएको थियो। गाउँमा वृद्धा आमा, श्रीमती र तीन सन्तानलाई छाडेर मामा कतार जानुभएछ। दुई वर्षपछि अकल्पनीय खबर आयो- काम गर्दागर्दै मृत्यु भएकाले मामाको शवलाई अन्तिम संस्कारका लागि नेपाल लगिंदै छ।
मामा जवान र स्वस्थ हुनुहुन्थ्यो। त्यसैले अचानक मृत्यु हुनुपर्ने कारण नै थिएन। कतारमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘कार्डियाक अरेस्ट’ को कारण मृत्यु भएको उल्लेख रहेछ। मेडिकलको विद्यार्थी भएकाले मलाई थाहा छ‚ कार्डियाक अरेस्ट मृत्युको कारण होइन। त्यो त अन्त्य हो। त्यसैले मृत्युको कारण खोज्ने प्रयास गरे पनि थाहा पाउन सकिएन।
सन् २०१३ मा मानव अधिकारवादी संस्थाहरूले कतारमा आप्रवासी कामदारहरूले भोग्नुपरेको दुःख बाहिर ल्याए। सञ्चार माध्यमहरूले कतारमा रहेका कामदारहरूको अवस्था प्रकाशन तथा प्रसारण गर्न थाले। असुरक्षित रूपमा काम गर्नुपर्ने बाध्यताले कामदारको मृत्यु हुने गरेको तथ्य बाहिर आउन थाल्यो। रोजगारदाताले कतारबाट नेपाल सहित भारत, बाङ्लादेश, पाकिस्तान र अफ्रिकी देशहरूबाट आएका कामदारको राहदानी कब्जा गरी बन्धक बनाएर काम गर्न लगाएको समाचार आउन थाले।
विश्वकपका लागि आवश्यक भौतिक संरचना बनाउने क्रममा कति नेपालीको ज्यान गयो भन्ने यकीन तथ्याङ्क छैन। ६५ सयभन्दा बढीको ज्यान गएको अनुमान छ। यसको असर लाखौं नेपालीमा परेको छ। जसमध्ये म पनि एक हुँ। विश्वकप सफल बनाउन ज्यान गुमाउनेका परिवारका लागि फिफाले यसबारे केही गरेको छैन। फिफाले कतार विश्वकपबाट करीब ६ अर्ब डलर नाफा गरेको अनुमान छ। ब्राजिल, दक्षिण अफ्रिकामा विश्वकप हुँदा पनि यसरी नै कामदारहरूको मानव अधिकार हनन भएका समाचार आएका थिए।
सन् २०१० मा कतारले वर्ल्डकप आयोजना गर्ने अधिकार पाउँदा यति सानो देशले विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता कसरी आयोजना गर्न सक्छ भनी प्रश्न उठेको थियो। तर‚ कतारसँग प्रतियोगिता सफल बनाउने योजना थियो। नेपाल जस्ता देशबाट कामदार ल्याएर उनीहरूको रगत र पसिनाले भिजाएर भौतिक संरचना निर्माण गर्ने योजना बनाएको थियो। काम गर्दागर्दै कामदार मरे अर्को ल्याउने योजना मात्र थियो। कामको सिलसिलमा धेरै नेपालीको ज्यान गयो। धेरै अपाङ्ग भए। धेरै दीर्घरोगी भए।
कतारलाई जसरी पनि विश्वकप सफल बनाउनु थियो। त्यसैले ऊ त्यही अनुसार अघि बढ्यो। तर‚ आफ्नो नागरिक पठाउने नेपाल यसबारे शुरूमै गम्भीर हुनुपर्थ्यो। अहिले पनि सरकारको जिम्मेवारी धेरै छ। कामका क्रममा दुर्घटनामा परी अपाङ्ग भएका र जोखिमयुक्त कामले दीर्घरोगी भएकाहरूको राहतका लागि सरकारले काम गर्नुपर्छ। ज्यान गुमाएका परिवारले पाउने राहत दिलाउनुपर्छ। र‚ विश्वकपको संरचनामा खटिएका कामदारले भोगेका अन्याय अत्याचार विरुद्ध नेपाल सरकारले पहल चाल्नुपर्छ।
फूटबलमा जति लगाव भए पनि मैले कतार वर्ल्डकप हेरिनँ। फिफालाई खासै फरक नपारे पनि मैले २०२२ को वर्ल्डकप बहिष्कार गरें। किनकि‚ कतारमा ज्यान गुमाउनुभएका मेरा मामाको आत्माले हेर्ने अनुमति दिएन। अहिलेको युगमा विश्वकप सफल बनाउन असुरक्षित र अमानवीय श्रममा नै निर्भर हुनुपर्थ्यो? न्यायभन्दा नाफालाई प्राथमिकता दिनुपर्थ्यो?
(डा. खरेल ब्राउन विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर हुन्। उनी आकस्मिक चिकित्साका विशेषज्ञ हुन्।)