हिमाल भन्नु आत्मबल
महिला भएर हिमाल चिन्नु-बुझ्नु धेरै अर्थमा फरक हुने रहेछ। हिमालले बेग्लै आत्मबल दिँदो रहेछ।
म २०४१ सालमा सोलुखुम्बुको खुम्जुङमा जन्मिएकी हुँ। बुबा सानैमा बित्नुभयो। त्यसपछि आमाले मलाई र बहिनीलाई लुक्लामा सानो चियापसल चलाएर हुर्काउनुभयो। यो सगरमाथा आरोहणको मुख्य द्वार हो। त्यहाँ सगरमाथाका प्रथम आरोही सर एडमन्ड हिलरीले खोलिदिनुभएको स्कूल छ। आधा घण्टा परको स्कूल आउजाउ गर्दा हिमाल चढ्न आएका विदेशीहरू देखिइरहन्थे। उनीहरूका राम्रा लुगा देख्दा मलाई पनि त्यस्तै लगाउन मन लाग्थ्यो। उनीहरू जस्तै साहसी भएर घुम्न मन लाग्थ्यो।
पासाङल्हामु शेर्पाले सगरमाथा चढ्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाउनुभएको थियो। आफ्नो पनि त्यही नाम भएकोमा मलाई गर्व लाग्थ्यो। अनि म पनि हिमाल चढ्ने सपना देख्न थालें। पहिले हिमाल चढ्नु शेर्पाहरूको पेशा थिएन। उनीहरू धेरैजसो व्यापारी थिए। ब्रिटिशहरू आरोहणमा आउन थालेपछि भने शेर्पाहरूले पनि यसलाई पेशा बनाए। तर, महिलाहरूमा पर्वतारोहणको सोचाइसम्म थिएन। मेरा पनि धेरै नातेदार पर्वतारोहणमा थिए। तर, हिमाल चढ्न इच्छा गर्ने महिला म मात्र थिएँ।
सानैदेखि हिउँसँग हुर्कियौं हामी। जाडोमा ४०-५० दिन स्कूल बिदा हुन्थ्यो। हिउँकै मान्छे बनाउँथ्यौं। लुक्ला एयरपोर्टतिर हिउँमा चिप्लेटी खेल्थ्यौं। म १५ वर्षकी हुँदा आमाको पनि मृत्यु भयो। आमा हामीलाई धेरै पढाउन चाहनुहुन्थ्यो। तर, मेरो मन भने हिमाल कसरी चढ्ने भन्नेमै थियो।
कक्षा १२ सकेपछि मैले सन् २००४ मा नेपाल पर्वतारोहण संघले दिने तालीम लिएँ। तालीममा महिलाको संख्या असाध्यै कम थियो। त्यही क्रममा लाङटाङ क्षेत्रको याला चुचुरो चढें। त्यसपछि मलाई किन आरोहणलाई नै पेशा नबाउने भन्ने लाग्यो। पुरुषले चढ्न सक्छन् भने महिलाले किन सक्दैनन् ? तालीम लिएपछि आत्मविश्वास अझ बलियो भयो।
सन् २००६ देखि पर्वतारोहण गाइडका रूपमा काम थालें। त्यसअघि महिला ‘गाइड’ छँदै थिएनन्। शुरूका वर्षमा केही असहज भयो। फ्रान्सबाट पनि तालीम लिएँ। बिस्तारै चिनजान बढेपछि काम पाउन थालें। सँगै प्रशिक्षण पनि दिन थालें। अर्को वर्ष सगरमाथाको सफल आरोहण गरें। सन् २०१० देखि अमेरिकामा गएर ‘गाइडिङ’ गर्न थालें। कामकै सिलसिलामा अर्जेन्टिना, यूरोप पनि पुगें।
बाहिरबाट हेर्दा यो पेशा धेरै जटिल लाग्छ। मानसिक, शारीरिक चुनौती उत्तिकै हुन्छन्। तर, अवसर पनि धेरै छन्। संसार घुम्दै नयाँ नयाँ मानिसहरू भेट्न पाइन्छ। प्रकृतिसँग नजिक हुन, त्यसलाई बुझ्न पाइन्छ। हाम्रो देशको पहिचान भनेकै हिमाल हो। विदेशमा अहिले पनि नेपालभन्दा हिमालयबाट आएको भन्दा धेरैले चिन्छन्।
महिलातर्फ सर्वाधिक १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएकी लाक्पा शेर्पा। तस्वीरः लाक्पा शेर्पाको फेसबूक।
मैले पाकिस्तानका केटू र नंगा पर्वत, नेपालका कञ्चनजंघा, अमादब्लम, ल्होत्से, मकालु, धौलागिरि जस्ता हिमाल पनि चढिसकें। सगरमाथाभन्दा धेरै गाह्रो छ त्यसभन्दा होचा अरू हिमाल चढ्न। केटूको आरोहण निकै चुनौतीपूर्ण लाग्यो। यसलाई कसैले ‘हार्डेस्ट माउन्टेन अफ द वल्र्ड’ त कसैले ‘सेभेज माउन्टेन’ पनि भन्छन्। त्यहाँ सन् २०१४ सम्म कुनै नेपाली महिला पुगेका थिएनन्। हाम्रो आरोहण दलमा नेपालबाट तीन महिला थियौं। हाम्रो अभियानको सन्देश थियो- ‘जलवायु परिवर्तनका लागि महिला आरोहण।’
हामीले आरोहणलाई जलवायु परिवर्तनसँग किन जोड्यौं भने यसबाट हिमाली जीवन प्रत्यक्ष प्रभावित छ। हिउँ पग्लिएर हिमाल नाङ्गिँदै छन्। खेतीपातीमै असर परेको छ। पारिवारिक रेखदेखको दायित्व लिएका महिलाहरू यी समस्यासँग शुरूमै ठोक्किन्छन्। केटू चढेर हामीले यही विषयमा विश्वको ध्यानाकर्षण गर्न चाहेका थियौं।
हामी जसरी पानी विना बाँच्न सक्दैनौैं, त्यसै गरी हिमाल विना पनि सक्दैनौं। हामीकहाँ पानीको स्रोत नै हिमाल हो। यहाँ धान फल्नु/नफल्नुमा, तराईमा बाढी आउनु/नआउनुमा पनि हिमालकै हात छ। अहिले हिउँ पर्ने समयमै हिउँ पर्न छाडेको छ। हिउँ परे पनि पानी बग्ने गरी पर्दैन। हिमालकै छेउमा बस्नेहरूलाई यसले प्रत्यक्ष असर पुर्याउँछ। पानीको अभावमा मुस्ताङको एउटा गाउँ नै विस्थापन भएको छ।
पहिलेको तुलनामा अहिले पर्वतारोहण धेरै सजिलो भएको छ। मौसम पूर्वानुमानमा भरपर्दो विधिले दुर्घटना कम गराएको छ। उन्नत सञ्चार प्रविधि छ। आरोही थपिएका छन्। समाजको सोच पनि क्रमशः बदलिँदै छ। पर्वतारोहण केटीले पनि गर्न सक्छन् भन्ने जमात ठूलै भइसक्यो। नत्र त २० वर्षअघिसम्म पनि पर्वतारोहणमा लाग्ने छोरीहरूले बाबुआमालाई मनाउन गाह्रै थियो।
व्यावसायिक पर्वतारोहण शेर्पा समुदायले मात्र गर्नुपर्छ भन्ने मान्यता पनि क्रमशः बदलिँदै छ। अन्य समुदायको पनि प्रवेश बढेको छ। जस्तो- मगर समुदायका निर्मल पुर्जाले हिमाल आरोहणमै लोभलाग्दो कीर्तिमान बनाउनुभएको छ। यो साहसिक कर्मलाई व्यवसाय बनाउन अब शेर्पा भइरहनु पर्दैन।
स्वतन्त्र रूपमा हिमाल चढ्दा प्रायोजक चाहिन्छ। तर, सधैं अरूसँग मागेर सम्भव हुँदैन। त्यसैले हामी नेपालीले यसलाई पेशाकै रूपमा अपनाउँदा आम्दानीसँगै आरोहणको इच्छा पनि पूरा गर्न सकिन्छ। हामीकहाँ २६ पटकसम्म हिमाल चढ्नेहरू छन्। महिला आरोही लाक्पा शेर्पाले पनि १० पटकसम्म सगरमाथा चढेर कीर्तिमान बनाइसक्नुभएको छ। एक पटक नाम बनाउन मात्र चढ्नेले हिमाललाई बिर्सन्छन्। आरोहणलाई पेशा नै बनाएकाहरूले भने कहिल्यै बिर्सन सक्दैनन्।
हिमालबाट आम्दानी लिने कुरा पनि ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ जस्तै भएको छ। अहिले पनि आरोहणलाई पेशाका रूपमा बुझ्नेहरू कम छन्। जबकि, विदेशी आरोही, फोटोग्राफर र गाइडहरू नेपालकै प्रकृति अनि साहसिक काम देखाएर पैसा कमाइरहेछन्। अलिकति इच्छा र आँट देखाए नेपाली महिलाले पनि यो काम गर्न सक्छन्।
एक पटक पसेपछि देशविदेश घुम्ने, नयाँ नयाँ हिमाल चढ्ने र सिक्ने-सिकाउने प्रक्रिया चली नै रहन्छ। मुख्य कुरा, आत्मविश्वास हुनुपर्यो। अहिले पनि कसैले व्यावसायिक महिला ‘गाइड’ खोजे पाउन मुश्किल छ। एजेन्सीहरू तालीम लिएका महिला खोज्दै हिंड्नुपर्ने अवस्था छ।
चोलात्से हिमालको आधारशिविरमा दुईवर्षे छोराका साथ पासाङल्हामु। तस्वीरः मिरर डट सीओ डट यूके।
फ्रान्स, अमेरिका लगायत देशमा आरोहण तालीम लिने महिलाको संख्या पुरुषकै हाराहारी हुन्छ। काममा खटिएपछि पैसा पनि समान पाउँछन्। नेपाली महिलाले पनि यसमा लागेर परिवारको जीवन उकास्न सक्छन्। हामीले गत नोभेम्बरमा महिला मात्रको एक्स्पिडिशन गर्यौं। त्यसमा गृहिणीदेखि मजदूरीमा लागेका महिला पनि सहभागी थिए।
पर्वतारोहणमा महिला र पुरुष गाडइले भोग्ने समस्या उस्तै हुन्छन्। तर, सामाजिक समस्या फरक हुँदा रहेछन्। पर्वतारोहणकै सिलसिलामा चिनजान भएपछि मैले २०६७ सालमा जापानी मूलका तोरा अकितासँग विवाह गरें। २०७४ सालमा छोरो जन्मिएपछि ममा केही शारीरिक परिवर्तन आए। वजन २० किलो बढ्यो। काममा फर्कन सहज थिएन। पहिले पनि मानिसहरू ‘छोरीमान्छेले के नै गर्न सक्छे, विवाह नहुँदासम्म त हो’ हो भन्थे। विवाहपछि ‘बच्चा नपाएसम्म त हो’ भन्थे।
अहिले म काममा फर्किसकें। तर, मानिसहरू भनिरहेकै छन्- ‘बच्चा छोडेर काम गर्न गएकी।’ यसै पनि बिहान-बेलुकी बच्चा हेरेर दिउँसो अफिस जानु र हिमाल जानुमा धेरै फरक छ। यस्ता कुराले ‘प्रेसर’ हुने रहेछ। बच्चा यति वर्षको भएपछि काममा जान्छु भन्ने मनस्थिति बनाए पनि छोडेर जान सहज हुँदो रहेनछ।
मैले पर्वतारोहणमै झण्डै दुई दशक बिताइसकें। फर्केर हेर्दा, संसारकै उत्कृष्ट पेशा रोजेको अनुभव हुन्छ। महिलाले सन्तान जन्माएपछि पनि यो काम गर्न सक्ने रहेछन् भनेर अरूलाई बुझाउन सकेकी छु। यसै मार्फत धेरैभन्दा धेरै साथीहरू कमाएँ। हिमालकै कारण नेशनल जियोग्राफिक २०१६ पिपुल्स चोइस एड्भेन्चर अफ दी इयर, जर्ज म्यालोरी, तेन्जिङ हिलरी लगायत अवार्ड-पुरस्कार पाएँ।
प्रकृतिलाई महिलाको किन भनिँदो रहेछ भन्ने बल्ल म थाहा पाइरहेकी छु। म जति जति हिमाल नजिक पुग्छु, उति नै आफूलाई बलियो भएको पाउँछु। हिमाल भनेको आत्मबल पनि रहेछ। त्यसैले म धेरै महिलाहरूलाई हिमाल चढ्न र यसलाई पेशा बनाउन आग्रह गर्छु।
(पर्वतारोही एवं हिमाली पथप्रदर्शक शेर्पासँग सुशीला बुढाथोकीले गरेको कुराकानीमा आधारित। हिमालको २०७९ पुस अङ्कबाट।)