शिक्षाका क्षेत्रमा नेपालले प्रगति गरेको भए पनि वर्षकै लाख विद्यार्थी विदेशिनु चिन्ताको विषय भएको विज्ञहरूले बताएका छन्।
शनिबार पिपुल्स क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै विज्ञहरूले विद्यार्थी नेपालमा पढ्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन्। “शिक्षाको आँकडा हेर्दा विद्यालय स्तरमा ९८ प्रतिशत भर्नादर देखिन्छ भने विद्यालयपछिको तहमा भर्नादर ७८ प्रतिशत छ,” नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा. शिलु मानन्धर बज्राचार्यले भनिन्, “यसर्थ हामी शैक्षिक रूपले राम्रै अवस्थामा छौं, तर यस वर्ष मात्र एक लाख २० हजार विद्यार्थी विदेशिए।”
यसरी लाख विद्यार्थी विदेशिनु देश ओरालो यात्रामा लाग्ने सङ्केत भएको उनको भनाइ थियो। साना मुलुकले शिक्षालाई प्राथमिकतामा राख्दा ठूला मुलुक सरह प्रतिस्पर्धी हुँदै आर्थिक र सामाजिक समृद्धि हासिल गरेको उदाहरण दिंदै मानन्धरले समृद्धि हासिल गर्न शिक्षा राष्ट्रको पहिलो प्राथमिकता हुनुपर्ने बताइन्।
दोस्रो विश्वयुद्धपछि कोरियाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेकाले उन्नतिको शिखरमा पुगेको बताउँदै पूर्व क्याम्पस प्रमुख मंगलदास मानन्धरले देश विकासका लागि शिक्षा नै अचुक अस्त्र भएको बताए। “धेरै दुःख गरेर सहयोग जुटाउँदै यहाँसम्म आइपुग्यौं,” उनले भने, “हालका दिनमा उपत्यकाका सामुदायिक कलेजलाई न स्थानीय सरकारको न त स्थानीयकै सहयोग प्राप्त छ। शुल्ककै भरमा चल्न गाह्रो छ।”
विद्यार्थीको उत्कृष्ट नतीजाले आफूहरूलाई हौसला दिने बताउँदै क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरीयताको प्रमाणपत्रका लागि आवश्यक प्रक्रिया पूरा गरेको र आयोगकै सहयोगमा कक्षाकोठा आधुनिक प्रविधियुक्त बनेको जानकारी दिए। क्याम्पसका विद्यार्थीले अमेरिकामा आयोजना हुने ‘अनलाइन बिजनेस स्ट्र्याटजी कम्पिटिशन’ मा पनि भाग लिंदै आएको जनाउँदै कुँवरले गुणस्तरीय शिक्षाका लागि क्याम्पस प्रतिबद्ध रहेको दोहोर्याए।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख रोजेश पण्डितले क्याम्पसको उन्नयनमा सहयोग गर्ने दिवङ्गत संस्थापक तथा क्याम्पस प्रमुखहरूको योगदानको चर्चा गर्दै क्याम्पसले जोगाएको साखलाई निरन्तर राख्न आफूहरू लागिपर्ने बताए। विद्यार्थीविहीन हुँदा आर्थिक क्षेत्रको मर्जरको जस्तै मारको अवस्था सामुदायिक क्याम्पसलाई पर्न थालेको पूर्व क्याम्पस प्रमुख निर्मलमणि पन्थीको अनुभव थियो।
कार्यक्रममा त्रिवि स्नातकोत्तर तह एमबीएस तर्फका उत्कृष्ट विद्यार्थी लहना श्रेष्ठ, सिरपा शाक्य, स्नातक तह बीबीएतर्फका उत्कृष्ट रिजन खड्गी, रोहन नकर्मी, कक्षा १२ को परीक्षामा क्याम्पस प्रथम हुने विद्यार्थी व्यवस्थापनतर्फ सागर जिसी, कपिलप्रसाद आचार्य, अङ्किता मगरलाई सम्मान तथा पुरस्कार प्रदान गरियो। उनीहरूले गुडविल फाइनान्स एन्ड इन्भेस्टमेन्ट लिमिटेडका तर्फबाट नगद पुरस्कार पनि पाए।
त्यस्तै, चारै जना विद्यार्थीले लक्ष्मीदेवी मानन्धर स्मृति नगद पुरस्कार तथा प्रमाणपत्र पनि पाए। एमबीएसतर्फ फाइनान्स विषय लिई क्याम्पस प्रथम हुने सिरपा शाक्यले मनोहरकृष्ण श्रेष्ठ पदक पाइन् भने कर्मचारीहरू रामकृष्ण थापा, शंकर ढोडारी र रामकृष्ण राजवाहकलाई दीर्घसेवा सम्मान प्रदान गरियो।