गोपालपछि ‘गोपालय’मा उनिएकी रिञ्छेन
२९ वर्ष गोपाल योञ्जनसँगै सुमधुर स्वर सुनेर बिताएकी रिञ्छेन योञ्जनले पछिल्ला २५ वर्ष भने गोपालका गीतहरूसँग बिताइन्, ओल्टाइपल्टाइ गर्दै। जुन गोपालय बनेर पुस्तकाकारमा आएका छन्।
फेवा ताल किनारको बाराहीघाटमा पुस ७ साँझ रिञ्छेन योञ्जन ओहोरदोहोर गरिरहेकी थिइन्। पुसको चिसो सिरेटोले ७२ वर्षीया रिञ्छेनको जोश र जाँगरमा कत्ति पनि फरक परेको थिएन। उनी गोपालय अर्थात् गोपाल योञ्जनका गीतहरूको साङ्गीतिक प्रस्तुति लिएर बाराहीघाट पुगेकी थिइन्, नेपाल साहित्य महोत्सवमा।
रिञ्छेन गीत गाउँदिनन्, न गीत लेख्छिन् न त सङ्गीत भर्छिन्। साङ्गीतिक प्रस्तुतिका लागि खटाइ देख्दा सबै चकित थिए। हुन पनि गएको २५ वर्षदेखि रिञ्छेनको व्यस्तता झन् झन् बढ्दै गएको छ। “गोपालजी बितेपछि उहाँको गीतको संरक्षण गर्नुपर्छ, मैले नगरे कसले गर्ने भन्ने लाग्यो,” रिञ्छेन भन्छिन्, “त्यसैले आफैं संरक्षणमा लागें, लागिरहेकी छु।”
२०५४ सालमा गोपाल योञ्जनको निधन भयो। त्यसयता कुनै दिन यस्तो छैन, जुन दिन रिञ्छनले गोपालको गीत नसुनेको होस्। पहिलो श्रोताका रूपमा गोपालका गीतहरू सुनेर आनन्द लिने गरेको बताउँदै उनी भन्छिन्, “संगृहीत गर्न उहाँका गीतलाई पहिला त मैले नै बुझ्नुपर्यो नि! त्यसैले यो ७२ को उमेरमा पनि अझै बुझ्दै, कोशिश गर्दै छु।”
गोपाल पत्नी रिञ्जेनले गीतहरू संगृहीत गर्ने, साङ्गीतिक प्रस्तुतिमा सघाउने काम गर्दै आएकी छन्। यसमा छोरीले पनि सघाउँदै आएकी छन्। गोपालले लेखेका २५० भन्दा बढी गीतलाई संगृहीत गरिसकेकी छन्। गीतको भावका आधारमा १६ वटा श्रेणीमा विभाजन गरेको उनी बताउँछिन्। गोपालका गीतलाई सुरक्षित संगृहीत गर्ने रिञ्छेनको प्रयास जारी छ।
हार्मोनियम बजाउने त्यो युवक
सन् १९६८ फ्रेबुअरी, दार्जिलिङ। १६ वर्षीया रिञ्छेनको सेन्ट जेभियर्समा शिक्षकका रूपमा पहिलो दिन थियो। खाजा खाने क्यान्टिनमा बसिरहेकी रिञ्छेनले विद्यालयका भित्ताहरू सुमधुर सङ्गीतले गुञ्जिएको सुनिन्।
खोज्दै जाँदा एक युवक हार्मोनियम समाएर सङ्गीतमा मग्न भइरहेको भेटिन्। ती युवक थिए- गोपाल योञ्जन। योञ्जन त्यति वेला सेन्ट जेभियर्समा सङ्गीतको कक्षा लिन्थे। सहकर्मीका रूपमा गोपाल र रिञ्छेनको त्यो पहिलो भेट थियो।
रिञ्छेनको सम्झनामा गोपाल योञ्जन आज पनि उही हार्मोनियम समाएर गाइरहेका त्यो युवक हो, जो २९ वर्षसम्म जीवनसाथी भए, त्यसपछि पनि शब्द र सङ्गीतको सागरमा डुबाएर गए।
अंग्रेजी विद्यालयमा पढेर हुर्किएकी रिञ्छेन सानैदेखि रोमान्टिक उपन्यास पढ्न मन पराउँथिन्। उपन्यासका पात्रबाट प्रभावित पनि हुन्थिन्। नभन्दै त्यस्तै भयो, योञ्जनलाई भेटेको केही महीनामा नै नेपाली भाषाको कक्षा लिन थालिन्।
त्यही दौरान दुवै जना नजिकिए। पाँच वर्ष जेठो योञ्जनसँग रिञ्छेनले बिहे गरिन्। “हाम्रो बौद्धिक स्तर मिल्थ्यो। किताबको कुरा गर्थ्यौं। शब्द र सङ्गीतको कुरा हुन्थ्यो,” गोपालसँगको सम्बन्ध स्मरण गर्देै रिञ्छेन भन्छिन्, “यसर्थमा उहाँ र मेरो ‘फिजिकल’ भन्दा ‘मेन्टल कनेक्शन’ बढी थियो।”
रिञ्छेन र गोपाल एकअर्काका लागि परिपूरक थिए। रिञ्छेनको अधैर्य, छिटो रिसाउने स्वभाव थियो भने गोपाल धैर्य गर्ने, कम बोल्ने र शान्त स्वभावका थिए। गोपालको परिपक्वता र नारीको सम्मान गर्ने बानीले नै तानिएको बताउँदै उनी भन्छिन्, “श्रीमान्-श्रीमतीभन्दा बढी एक सहयात्रीको सम्बन्ध रह्यो।”
घरमा होस् कि स्कूलमा उनले कहिल्यै केटा र केटीबीच भिन्नता महसूस गरिनन्। गोपालसँग बिहेपछि पनि सहयात्रीका रूपमा रहेको उनी सुनाउँछिन्। “गोपालजीले मलाई कहिल्यै केही कुरामा रोक्नुभएन,” रिञ्छेन भन्छिन्, “बिहेअघि जति स्वतन्त्र थिएँ, बिहेपछि पनि उस्तै स्वतन्त्र भएर हिंडें, आफ्ना विचार र आफूले गर्ने काममा।”
‘म दोस्रो प्रेम’
क्याम्पसमा पढाउने बाहेक गोपाल बाजा बजाउने, चेस खेल्ने, घरमा बालबालिकासँग क्यारम खेल्ने गर्थे। साथै, साथीभाइसँगको भेटघाटमा रमाउँथे। दिनभरि घटेका कुनै घटनाले प्रभाव पारेको छ भने बेलुका लेख्ने गर्थे। “हरेक दिन लेख्नुहुन्थ्यो, पढ्नुहुन्थ्यो। सङ्गीतमा मग्न हुनुहुन्थ्यो,” उनी भन्छिन्। रिञ्छेनलाई लाग्छ, सङ्गीत गोपालको पहिलो प्रेम हो र दोस्रो उनी। त्यसमा उनलाई कहिल्यै रिस उठ्दैनथ्यो? “त्यो त हरेक पत्नीलाई हुन्छ, तर मैले उहाँको सङ्गीतप्रतिको प्रेमलाई बुझेको छु।”
गोपाल बालबालिकालाई खूब माया गर्थे। घरमा पनि हेरचाह गर्थे। “बच्चाहरूका लागि मभन्दा बढी राम्रो आमा हो, गोपाल। बच्चाका लागि धेरै समय दिने गर्नुहुन्थ्यो। गीत गाउने, कथा सुनाउने पनि गर्नुहुन्थ्यो,” रिञ्छेन भन्छिन्।
१० महीनाको छँदा गोपालले बुबा गुमाएका थिए। “आमा र दिदीले गरेको संघर्ष देखेकाले पनि गोपालमा नारीप्रतिको सम्मान बढी नै थियो,” उनी सम्झिन्छिन्। हरेक विषयलाई गहिराइमा पुगेर हेर्ने बानीले नै नारी र बालबालिकाको भावलाई बुझ्न सकेको जस्तो रिञ्छेनलाई लाग्छ।
सेन्ट जेभियर्समा बालबालिकालाई सङ्गीत पढाउन थाल्दा बालगीत थिएनन्। आफैंले बालगीत लेख्ने र गीत बनाउने गरेको उनी बताउँछिन्। छोराछोरी जन्मिएपछि झनै उनीहरूको भाव बुझेर बालगीततिर लागेको रिञ्छेन सुनाउँछिन्।
गोपाल विनाका २५ वर्ष
स्कूलमा सङ्गीतको कक्षा लिएकी रिञ्छेनमा साङ्गीतिक चेत सानैदेखि थियो। बिहेपछि साङ्गीतिक माहोलमै दैनिकी बित्थ्यो। उनलाई लाग्छ- शब्द र सङ्गीतमा रम्नेहरू व्यावहारिक हुन सक्दैनन्। गोपालको सहयात्रीका रूपमा रिञ्छेनलाई व्यावहारिक हुनुपर्ने बाध्यता आइलाग्यो। उनी गोपालका साङ्गीतिक कार्यक्रमको व्यवस्थापनमा लाग्न थालिन्। कतिपय गीत उनले ‘ब्याकस्टेज’ मै सुनिन्।
नयाँ गीत लेख्ने बित्तिकै गोपाल रिञ्छेनलाई सुनाउँथे। रिञ्छेनकै लागि पनि गीत लेखे, ‘यति चोखो यति मिठो दिउँला तिमीलाई माया।’ यो उनको सबैभन्दा मन पर्ने गीत पनि हो। रिञ्छेनलाई अझै पनि धेरैले प्रश्न गर्छन्, “तिमीहरूको माया यस्तै थियो त?” उनको छोटो जवाफ हुन्छ, “वास्तविकता त्यही नै थियो, हाम्रो प्रेमको।”
त्यस्तै, गोपालले रिञ्छेनका लागि लेखेका ‘मेरो गीत मेरो प्रतिबिम्ब हैन’ र ‘फुलेका फूलहरू बोटमै रमाउन दिनु’ गीत पनि उनलाई असाध्यै मन पर्छ। “गोपालजीको जीवनको दर्शन नै यी गीतमा भेट्छु,” उनी थप्छिन्, “उहाँ यसरी नै बाँच्नुभयो, अरूलाई सहयोग गर्दै र अरूलाई बुझ्दै।”
ती गीत, यी गीत
रिञ्छेन पछिल्लो २५ वर्षदेखि गोपालकै शब्दहरूमा घोत्लिरहेकी छन्, धुनहरूमा भुलिरहेकी छन्। २५० भन्दा बढी गीत संगृहीत गर्दा बल्ल तिनको मर्म बुझेको बताउँछिन्। “त्यति वेला उहाँका गीतहरूलाई मैले श्रोताका रूपमा आनन्द लिएँ, जिम्मेवारी लिएकी थिइनँ। तर, गोपालजी बितेपछि भने उहाँकोे गीतको संरक्षण गर्नुपर्छ, मैले नगरे कसले गर्छ भन्ने लाग्यो,” उनी भन्छिन्, “गीत सुन्दै र बुझ्दै गएँ। यसो भनूँ, गीतको माध्यमबाट यो २५ वर्षमा गोपालसँग झन् नजिक भएकी छु।”
उनले गोपालका पूरा नभएका गीत, क्यासेटमा मात्र रेकर्ड भएका गीतलाई पुन: रेकर्ड गराएर सुरक्षित राखेकी छन्। यो क्रममा उनले गोपालका गीतको भाव बुझ्ने कोशिश गरेकी छन्। जसले उनलाई अहिलेको गीत-सङ्गीतप्रति चिन्तित बनाएको छ। त्यति वेला गोपालका गीत-सङ्गीतमा स्वर भर्नका लागि गायक-गायिकालाई महीनौं लागेको सम्झिन्छिन्, तर अहिले बिहान हातमा परेको गीत साँझ निस्केको देख्दा छक्क पर्छिन्। “सङ्गीतप्रतिको साधना भएन,” रिञ्छेन भन्छिन्, “एकाध घण्टामा गाउँदा कसरी गीत ‘इन्टर्नलाइज्ड’ हुन्छ त? गीतका शब्दमा आफूलाई समर्पण गर्न सक्नुपर्यो।”
अहिले गीत सुन्नका लागि भन्दा हेर्नका लागि बन्न थालेको उनको अनुभव छ। “गीतको भिडिओमा बढी खर्च हुन्छ, गीत सुन्नका लागि बन्नुपर्छ भन्ने मलाई लाग्छ,” रिञ्छेन भन्छिन्, “गोपालजी भन्ने बित्तिकै ‘देशले रगत मागे’ भन्ने गीत सम्झिन्छन्। सङ्गीतमा आउनुभएकाहरूले कुन गीतबाट आफू चिनिनुपर्छ भन्ने प्रश्न गर्नुपर्योे?”
रिञ्छेन भने आफैंसँग प्रश्न गरिरहेकी थिइन्, गोपालयबारे। नेपाल साहित्य महोत्सवको छेको पारेर गोपालका गीतहरूको संग्रह गोपालय पुस्तक पोखरामा पनि सार्वजनिक भएको छ। जसमा गोपालका २४१ गीत छन्, जुन रिञ्छेनले नै संगृहीत गरेकी हुन्, २५ वर्ष लगाएर। अहिलेसम्म सुनिंदै आएका गोपालका शब्द अब पढिने पनि छन्, गोपालयमा।