बिर्सिइएका नारी कण्ठ
प्रारम्भिक समयका गायकहरूमध्ये धेरैको गीत र परिचय भेटिए पनि मेलवादेवीका समकालीन धेरै गायिका इतिहासको गर्तमा हराएका छन्।
विगतमा नेपाली शासकहरूले कलाकारलाई दरबारमै बोलाएर गीत-सङ्गीतको मनोरञ्जन लिन्थे। राणाकालीन समयमा खास गरी विदेशी कलाकारलाई बोलाएर दरबारमा गाना, बाजा र नृत्यको महफिल जमाइन्थ्यो। स्वदेशी कलाकारले वेलामौकामा मात्र कला प्रदर्शन गर्न पाउँथे।
त्यसरी बोलाइनेमा गायिकाको संख्या झन् थोरै हुन्थ्यो। नेपाली सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गरेको राजाराम फुयाँल लिखित पुस्तक नेपाली सङ्गीतमा नारीमा राणा शासकहरूले गायिका एकदमै थोरै संख्यामा बोलाउने गरेको लेखिएको छ।
राणाकालमा देशभित्रै गीत रेकर्ड गर्ने प्रविधि थिएन। गीत रेकर्ड गराउन भारत जानुपर्थ्यो। पहिलो पटक १९६५ सालमा सेतुराम श्रेष्ठले कलकत्ता गएर गीत रेकर्ड गराएसँगै नेपालमा रेकर्डिङ परम्परा शुरू भयो। तर, भारत गएर गीत रेकर्ड गराउनु जोकोहीको पहुँचमा थिएन।
त्यसमा पनि राणाकालीन सङ्कुचित समाजमा महिलाले गीत रेकर्ड गराउनु दुर्लभ घटना हुन्थ्यो। त्यो कठिन पारिवारिक, सामाजिक र राजनीतिक परिस्थितिबीच पनि केही गायिकाले गीत रेकर्ड गराएको पाइन्छ।
तर, त्यस बखत गीत गाउने, दरबारमा प्रस्तुति दिने, डिस्कमा गीत रेकर्ड गराउने गायिकाहरू को थिए? उनीहरू कहाँका थिए? उनीहरूले गाएका गीतका डिस्क र आधा-अपूरा नाम मात्र बाँकी रहेको अवस्थामा धेरै गायिका इतिहासको गर्तमा बिलाएका छन्। त्यति वेलाका गायकहरूको परिचय पारिवारिक पृष्ठभूमि सहित भेटिन्छ, उनीहरूका गीत पनि हामीमाझ नै छन्, समकालीन गायिकाको परिचय भने उनीहरूका गीतसँगै हराएको छ। ती गायिकाको इतिहासबारे सोच्दा मानसपटलमा थप प्रश्न घुम्छन्ः महिला भएर बाँच्न समेत मुश्किल त्यो परिवेशमा उनीहरू गीत रेकर्ड गराउन कसरी सफल भए? राणाका दरबारमा उनीहरू कसरी पुगे?
अनुसन्धानका क्रममा मैले नेपालकी प्रथम गायिका मेलवादेवी गुरुङबारे केही ऐतिहासिक प्रमाण र संस्मरण भेटेकी छु। उनी राणाको दरबारमा हुर्किइन्, त्यहीं सङ्गीत र गायन सिकिन्। तर, उनलाई पछि राणाको दरबारबाट गलहत्याइएको थियो। उनका गीत अहिले पनि सुन्न सकिन्छ। उनका केही गीत यूट्युबमा पनि भेटिन्छन्। तर, उनका समकालीन गायिकामध्ये प्रायः सबै इतिहासमा हराइसकेका छन्।
स्नातकोत्तर र एमफिल शोधका क्रममा मेलवादेवी बाहेक अन्य गायिकाका गीत सुन्न पाउनु मेरो निम्ति अहोभाग्य जस्तो भयो। जर्मन सरकारको सहयोगमा रेडियो नेपालका पुराना गीत डिजिटाइज गर्ने परियोजनाको काम भइरहेको वेला मैले ती गीत सुन्ने अवसर पाएकी थिएँ। मेलवादेवीका समकालीन गायिकामध्ये मिस पञ्चबालादासी, मिस प्रभा, मिस हिनादेवीबारे थाहा पाएँ र उनीहरूका गीत पनि भेटें। तर, ती गायिका र गीतबारे खासै चर्चा गरिएको पाइँदैन। उनीहरूका गीत यूट्युब जस्ता विद्युतीय माध्यममा पनि भेटिँदैनन्।
मिस पञ्चबालादासीले युगल गीतसहित पाँच-सात वटा गीत रेकर्ड गराएकी थिइन्। उनका गीत प्रेम, वियोग र भगवान् कृष्णबारे थिए। मिस हिनादेवीले मास्टर पूर्णमानसँग गाएको युगल गीत रेकर्ड गरिएको छ। प्रभाका तीन वटा नेपाली र एउटा हिन्दी गीत पाइएको छ। मेलवादेवी जस्तै रानुदेवी अधिकारीका केही गीत अनलाइन माध्यममा भेट्न सकिन्छ।
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीले रेडियोमा धेरै गीत रेकर्ड गराएकी थिइन्। तर, मिस पञ्चबालादासी, मिस प्रभा र मिस हिनादेवी इतिहासको छायामा हराएका छन्। रेकर्डको गुणस्तरका कारण उनीहरूका गीतका सबै शब्द पनि बुझिंदैन। शुरूआती समयमा गीत रेकर्ड गर्ने गायिकाहरू भएकाले उनीहरूलाई नेपाली गीतको इतिहासमा छुटाइनु हुन्न।
राणाकालमा गीत गाउने र रेकर्ड गराउने ती गायिका साधारण परिवारबाट आएका हुन सक्छन्। उनीहरूले गाएका गीतका रचनाकार आफैं पनि हुन सक्छन्। ती गीतहरूले तत्कालीन समाजको ऐतिहासिक र सामाजिक गतिलाई प्रतिविम्बित गरेका छन्। तिनमा उनीहरूका अनुभव अभिव्यक्त भएका छन्। हामीमाझ उनीहरूका गीत मात्र रहेको, कुनै लिखित ऐतिहासिक प्रमाण नभएको अवस्थामा प्रारम्भिक समयका ती गायिकालाई हामीले कसरी सम्झिने? कसरी सम्मान गर्ने?
(राणाकालमा नारी सङ्गीतबारे अध्ययन गरेकी डा. बानियाँ अमेरिकाको भर्जिनिया टेक युनिभर्सिटीमा पढाउँछिन्। हिमालको २०७९ पुस अङ्कबाट।)