नेपाल टी-२० लिग शुरू, उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्दै
नेपाल टी-२० लिग शनिबारदेखि काठमाडौंमा शुरू भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले प्रतियोगिताको उद्घाटन गरेका छन्। लामो समयदेखि स्थगित गरिंदै र सारिंदै आएको प्रतियोगिता अन्ततः शुरू भएको छ।
प्रतियोगितामा नेपालीसँगै विदेशी खेलाडी पनि सहभागी छन्। प्रतियोगिताका ३४ खेलमा देशका विभिन्न शहरका ६ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्।
उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गरिरहेका छन्। पोखराले टस जितेर काठमाडौंलाई ब्याटिङको निम्तो दिएको छ।
टी-२० लिगको विजेता टोलीले ५५ लाख नगद पुरस्कार पाउनेछ। त्यस्तै, दोस्रोले ३० लाख, तेस्रोले १० र चौथो हुने टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछ।