चार्ल्स शोभराज नेपालबाट निष्कासित
हत्या अभियोगमा १९ वर्ष जेल जीवन बिताएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट निष्कासन गरिएको छ।
शोभराजलाई शुक्रबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्स फिर्ता पठाइएको अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले हिमालखबरलाई बताइन्। उनलाई कतार एअरवेजको उडानबाट कतार हुँदै फ्रान्स पठाइएको हो।
निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार, शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी निष्कासन गरिएको हो। “शोभराजले १० वर्ष नेपाल आउन नपाउने गरी प्रतिबन्ध लगाइएको छ,” उनले भनिन्।
सर्वोच्च अदालतको आदेशपछि शोभराजलाई शुक्रबार बिहान जेलमुक्त गरिएको थियो। सुन्धारास्थित केन्द्रीय कारागारबाट छुटे लगत्तै उनलाई अध्यागमन विभाग पुर्याइएको थियो। विभागबाटै शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको थियो।
सर्वोच्च अदालतले बुधबार शोभराजलाई रिहा गर्न आदेश दिएको थियो। उमेरका कारण उनको बाँकी जेल सजाय मिनाहा गरेर सर्वोच्चले रिहा गर्न आदेश दिएको हो।
कारागार नियमावली, २०२० को नियम २९ (२ ख) मा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई असल चालचलन वा निको नहुने बिरामी भएको अवस्थामा ७५ प्रतिशत कैद भुक्तान गरेको भएमा बाँकी कैद मिनाहा गर्ने व्यवस्था छ। ७८ वर्षीय शोभराजले ९५ प्रतिशत कैद भुक्तान गरिसकेकाले उनलाई रिहा गर्नुपर्ने सर्वोच्चको ठहर छ।
यससँगै सर्वोच्चले उनलाई १५ दिनभित्र फ्रान्स फर्काउने व्यवस्था गर्न पनि आदेश दिएको थियो।
उनी २०६० सालमा नेपाल आएका थिए। नेपाल आएको केही समयपछि हत्या अभियोगमा पक्राउ परेका थिए।
काठमाडौंको रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा २०६० असोज २ मा पक्राउ गरेका थिए। उनी पक्राउ परेसँगै हत्या र फर्जी राहदानीको अभियोगमा जिल्ला अदालत, काठमाडौंले सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो।
२०३२ पुस ६ मा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र लरेन्टको हत्या आरोप लागेपछि उनी भाग्दै आएका थिए। कोन्नी र लरेन्टको हत्याको प्रकृति एकै खालको भएकाले कोन्नीको हत्या अनुसन्धानमा फेला परेका प्रमाण नै लरेन्ट हत्यामा प्रमाणका रूपमा प्रस्तुत गरियो।
शुरूआतमा चार्ल्सले कोन्नी र लरेन्टलाई आफूले नचिन्ने दाबी गरेका थिए। पछि प्रहरीसँगको बयानका क्रममा उनले कोन्नी र लरेन्ट एकै गेस्ट हाउसमा बस्ने गरेको जानकारी दिएका थिए।
शोभराजलाई कोन्नीको हत्यामा सर्वस्व सहित जन्मकैदको सजाय २०७१ मा भुक्तान भए पनि त्यही समय लरेन्टको हत्याको मुद्दाको कारबाही प्रक्रिया अगाडि बढेको हो। भक्तपुर अदालतले शोभराजलाई जेल सजाय सुनाएको थियो।
उनी त्यस विरुद्ध तत्कालीन पुनरावेदन अदालत पुगेका थिए। पुनरावेदनले पनि भक्तपुर अदालतकै आदेश सदर गरेको थियो। त्यसयता उनी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका थिए।