नोबल किशोर राईलाई किन रिस उठ्छ?
‘जी’ वा ‘ज्यू’ नेपालीमा हरेक हिसाबले आदरार्थी सम्बोधन रहँदै आएको देखिए पनि कनिष्ठ उमेरकाले नामका पछाडि जी राखेर पुकार्दा मित्र नोबल किशोर किन झोक्किन्छन्?
नोबल किशोर राई साह्रै रिसाउँछन्, उमेरमा आफूभन्दा कनिष्ठ ठिटाठिटीले उनको नामका पछाडि जी थपेर सम्बोधन गरेमा। फुच्चाफुच्चीले मलाई जी भन्ने भनेर झोक्किन्छन्। जर्मनी र स्वीट्जरल्यान्डका लागि नेपालको राजदूत भइसकेका राई भाषाशास्त्रमा विद्यावारिधि गरेका विद्वान् हुन् र मभन्दा दुई-चार भोटा बढी फटाएका भए पनि धरानको महेन्द्र कलेजमा बीए पढ्दादेखिका मेरा मित्र हुन्।
आफू भने परियो सात सालदेखिकै खाँट्टी कम्युनिष्ट पिताको पुत्र र अंकल भन्ने चलन भित्रिनसकेको जमानाको समाजमा हुर्केको, पिताका राजनीतिक नेता-साथीहरूलाई पनि जी भनेर पुकार्ने। सप्तरीका प्रख्यात कम्युनिष्ट नेता थिए कृष्णराज वर्मा, यदाकदा धरान आएका बखत मेरा बालाई भेट्थे। म उनलाई वर्माजी नै भन्थें। विराटनगरमा थिए मनमोहन अधिकारी, भरतमोहन अधिकारी र डीपी अधिकारी।
मभन्दा कता हो कता सिनियर भएर पनि यी तीनै अधिकारी बन्धुका नाम पछाडि जी लगाएरै सम्बोधन गर्थें। विराटनगरकै कम्युनिष्ट नेता थिए केदारप्रसाद उपाध्याय, जो स्वास्थ्योपचारका लागि २०२२/२३ सालतिर मेरा बासँगै सोभियत संघ गएका थिए। उनलाई मैले उपाध्यायजी नै भनें।
पढ्न भनेर काठमाडौं आएपछि चिनजान भयो कमर शाह, पीबी मल्ल, विष्णुबहादुर मानन्धर, कृष्णप्रसाद भण्डारी, केशरजंग रायमाझी, मदनमणि दीक्षित, महेशमणि दीक्षित आदिसित, सबै जना कम्युनिष्ट भनेर चिनिएका। यिनलाई मैले शाहजी, मल्लजी, विष्णुबहादुरजी, भण्डारीजी भनेरै बोलाएँ। डाक्टर हुनाले जोगिए केशरजंग रायमाझी। ‘माड्साब’ कहलिएका कारण मदनमणि दीक्षितको हकमा मैले जी थपिरहन परेन। तर, महेशमणि दीक्षितलाई मैले महेशमणिजी नै भनेर बोलाएँ, यद्यपि उनको जेठो छोरो प्रभात मेरो साथी थियो।
धरानका अर्का वामपन्थी बुद्धिजीवी कृष्णप्रसाद श्रेष्ठ भने अपवाद थिए। मैले अरूको सिको गरी उनलाई सधैं ‘सर’ सम्बोधन गरें। अरू हेरी धेरै पछि काठमाडौंमा चिनजान र भेट भएको शम्भुराम श्रेष्ठलाई पनि शम्भुरामजी नै भनें। बनारसमा पुष्पलाल श्रेष्ठलाई भेट्दा पनि सम्बोधनको त्यही शैली प्रयोग गरेको थिएँ। ती सिनियर व्यक्तिको उदारता थियो या उनीहरूले अँगालेको राजनीतिक दर्शनबाट प्रेरित समानताको व्यवहार थियो कुन्नि, उनीहरू आफ्नो नाम पछाडि जी राखेर मैले गरेको सम्बोधनलाई सहजतासाथ लिन्थे।
हजुर भन्न सिकेको त यही काठमाडौं खाल्डोमा आएर हो। नत्र कोदाको बाला जस्तो ठाडो र अरिमठ्ठे पूर्वेली लबजमा हजुरको ठाउँ नै थिएन।
प्रत्युत्तरमा आफ्नो नाम पछाडि पनि जी थपिएको सम्बोधन पाउँथें। म मात्र होइन, मेरा दौंतरीहरू पनि ती सिनियरलाई त्यसरी नै पुकार्थे। हामीलाई सिकाइएको नै यस्तै थियो वा हामीले सिकेको यस्तै थियो।
हजुर भन्न सिकेको त यही काठमाडौं खाल्डोमा आएर हो। नत्र कोदाको बाला जस्तो ठाडो र अरिमठ्ठे पूर्वेली लबजमा हजुरको ठाउँ नै थिएन। दाइ भनेर झ्याम्मिन नसकिने तर मान्नुपर्ने र तपाईं भन्नुपर्ने व्यक्तिलाई नामका पछाडि जी थपेर बोलाउनुपर्छ भन्ने बुझाइ थियो मेरो। कसैको नाममा जी जोड्नु आदरभावकै अभिव्यक्ति जस्तो लाग्थ्यो। यस सन्दर्भमा मित्र नोबल किशोरको घोर आपत्ति रहेको थाहा नपाउँदासम्म।
जी आदरभावकै अभिव्यक्ति हो भन्ने लाग्नुमा पहिलेदेखि नै हिन्दू देवीदेउताहरूको नाममा समेत जी जोडिएको देखिराखेकाले पनि हुन सक्छ। जस्तो- गणेशजी, कृष्णजी, रामजी, सीताजी, शिवजी आदि। सय वर्षसम्म अत्याचारी शासन चलाउने राणाहरूलाई पनि हामीअघिको पुस्ताका नेपाली मान गरेर राणाजी भन्थे। त्यही सुनेर हुर्केको पुस्ताको परियो आफू।
उता, हिन्दुस्तानतिर हेर्यो, त्यहाँ त झन् जी नजोडिएको नाम, पद, विशेषण, नातागोता र साइनो नै नहुने जस्तो देखिन्छ। जी नजोडिए कुनै नाम अधुरो प्रतीत हुन्छ। गान्धी मात्र कसैले भन्दैन, गान्धीजी भन्छन्। त्यस्तै, भारतको पहिलो प्रधानमन्त्री जवाहरलाललाई नेहरूजी (पछि त चाचाजी) र सुभाषचन्द्र बोसलाई नेताजी भन्छन्। गुरु, बाबा, स्वामी, सन्त आदि आफैं सम्मानबोधक विशेषण हुन्। तैपनि जी थपेपछि मात्रै तिनले पूर्णता पाउँछन् शायद, र त भन्छन्- गुरुजी, बाबाजी, स्वामीजी, सन्तजी।
राजा, सरदार, सर जस्ता पहिलेबाटै रोबिला पदवीमा पनि जी थपेर भन्छन्- राजाजी, सरदारजी, सरजी, दरोगाजी। पारिवारिक नातागोतामा त जी थप्नु अनिवार्य झैं देखिन्छ, जस्तोः माताजी, पिताजी, सासजी, ससुरजी, दादाजी, दादीजी, चाचाजी, चाचीजी आदि। यो सूची निकै लामो छ। बहन, भाभी, देवर, भाइ, दामाद, जीजा, बुआ, ताउ आदि सबैमा जी अनिवार्य जोडिन्छ। कहाँसम्म भने आफ्नो मायालु बुझाउने ‘सैयाँ’ शब्दमा पनि जी जोडेर ‘सैयाँजी’ भन्छन्। माताजी, पिताजी त नेपालीमा पनि मजासित चल्छ (‘खुप् सत्यवादी त पिताजि थीया’- भानुभक्त रामायण)।
हामी नेपालमा कसैको नामका पछाडि जी लगाउँछौं भने उता दार्जीलिङतिर ज्यू लगाउँछन्। रोचक कुरा के छ भने, कुमाउनीहरू दाजुलाई ‘दाज्यु’ भन्छन् र त्यस्तै लेख्छन् पनि।
यसको मतलब जी सम्मानबोधक आदरार्थी शब्द भएकोमा शङ्का गर्नुपर्ने ठाउँ देखिंदैन। हुन त नेपाली व्यावहारिक शब्दकोशले जीलाई शब्दांश भनेको छ। तर, फेरि हिन्दीमा त यो एक सग्लो र सिङ्गो शब्द हो। हिन्दीमा जी भनेको हृदय, दिल, ज्यान वा शरीर हुन्छ।
नेपालीमा पनि ‘जिउ’ भन्नाले त्यही अर्थ लाग्छ। तर, त्यसरी शरीर या ज्यान बुझाउने जी वा ज्यू कुनै अर्को शब्दको पुच्छर लाग्दा फेरि कसरी सम्मानबोधक हुन गयो? कहाँबाट आयो यो जी? नेपाली भाषाले उमारेको हो या हिन्दी, उर्दू वा फारसीबाट भित्रिएको हो?
हामी नेपालमा कसैको नामका पछाडि जी लगाउँछौं भने उता दार्जीलिङतिर ज्यू लगाउँछन्। उनीहरू भन्छन् शर्माज्यू, प्रधानज्यू वा कुमारज्यू। रोचक कुरा के छ भने, कुमाउनीहरू दाजुलाई ‘दाज्यु’ भन्छन् र त्यस्तै लेख्छन् पनि।
उसो त हामी पनि चलाउँछौं ज्यू, तर किञ्चित् औपचारिक तवरमा। जस्तैः सचिवज्यू, अध्यक्षज्यू, मन्त्रीज्यू आदि। अब यसको सम्बन्ध बज्यु, जिज्यु, बराज्यु, च्याप्जु र नेवार भाषाको जुजुसँग पनि छ कि?
यो जी वा ज्यूको उत्पत्ति कसरी भयो र यसको व्युत्पत्ति के हो भन्ने मेरो खसखसलाई देखेर एक मित्रले २०२८ सालको मधुपर्कमा छापिएको भाषाविद् गोपाल पाँडे ‘असीम’ द्वारा लिखित एउटा लेखको फोटोकपी पठाइदिए हालसालै। त्यसमा लेखिएको रहेछ संस्कृतको शब्द ‘जीव’ बाट जी आएको भनेर। यो भनाइ ठीक वा बेठीक भन्ने हैसियत आफूसँग छैन। यो भाषाशास्त्रीहरूले पर्गेल्ने विषय हो।
जे होस्, नाम वा सम्बोधनमा जी थप्नु कसैको मान घटाउनु बिल्कुल होइन भन्ने त प्रष्ट छ, चाहे नेपालीमा होस् वा हिन्दीमा। जी भने पनि ज्यू भने पनि नेपालीमा यो हरेक हिसाबले आदरार्थी सम्बोधन नै रहँदै आएको पक्का देखिन्छ। मैले बुझ्न सकेको छैन, कनिष्ठ उमेरकाले आफ्नो नामका पछाडि जी राखेर पुकार्दा मित्र नोबल किशोरलाई रिस किन उठ्छ?
(लेखक/सम्पादक थापा अनुवादक समाज नेपालका संस्थापक अध्यक्ष समेत हुन्। हिमालको २०७९ पुस अङ्कबाट।)