चार्ल्स शोभराजलाई फ्रान्स पठाइँदै, अध्यागमन विभागबाट विमानस्थल लगियो
सिरियल किलरका रूपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आजै फिर्ता पठाइने भएको छ।
शोभराजलाई शुक्रबार साँझ ५ बजे अध्यागमन विभागबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ। आजै साँझ साढे ६ बजेको उडानबाट फ्रान्स पठाउन लागिएको उनका कानून व्यवसायी गोपाल सिवाकोटीले बताए।
सर्वोच्च अदालतको आदेशमा केन्द्रीय कारागारले आज बिहान शोभराजलाई रिहा गरेको थियो। उनलाई सुन्धारास्थित कारागारबाट अध्यागमन पुर्याइएको थियो। दिनभर अध्यागमनमा कागजात तयार गरेपछि अहिले विमानस्थल लगिएको हो।
सर्वोच्च अदालतले बुधबार शोभराजलाई रिहा गर्न आदेश दिएको थियो। उमेरका कारण उनको बाँकी जेल सजाय मिनाहा गरेर सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो।
यससँगै सर्वोच्चले उनलाई १५ दिनभित्र फ्रान्स फर्काउने व्यवस्था गर्न पनि आदेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार उनलाई अब फ्रान्स पठाइने भएको छ।
उनी २०६० असोज २ मा काठमाडौंको रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेका थिए। उनी पक्राउ परेसँगै हत्या र फर्जी राहदानीको अभियोगमा जिल्ला अदालत, काठमाडौंले सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो।
२०३२ पुस ६ मा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र लरेन्टको हत्या आरोप लागेपछि उनी भाग्दै आएका थिए। कोन्नी र लरेन्टको हत्याको प्रकृति एकै खालको भएकाले कोन्नीको हत्या अनुसन्धानमा फेला परेका प्रमाण नै लरेन्ट हत्यामा प्रमाणका रूपमा प्रस्तुत गरियो।
शुरूआतमा चार्ल्सले कोन्नी र लरेन्टलाई आफूले नचिन्ने दाबी गरेका थिए। पछि प्रहरीसँगको बयानका क्रममा उनले कोन्नी र लरेन्ट एकै गेस्ट हाउसमा बस्ने गरेको जानकारी दिएका थिए।
शोभराजलाई कोन्नीको हत्यामा सर्वस्व सहित जन्मकैदको सजाय २०७१ मा भुक्तान भए पनि त्यही समय लरेन्टको हत्याको मुद्दाको कारबाही प्रक्रिया अगाडि बढेको हो। भक्तपुर अदालतले शोभराजलाई जेल सजाय सुनाएको थियो। उनी त्यस विरुद्ध तत्कालीन पुनरावेदन अदालत पुगेका थिए। पुनरावेदनले पनि भक्तपुर अदालतकै आदेश सदर गरेको थियो।