बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिएका छन्।
शुक्रबार पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएका हुन्। उनले बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ लिएका थिए।
पाण्डे नेकपा (एकीकृत समाजवादी)का तर्फबाट २०७८ कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्री बनेका थिए।
उनी बागमतीको तेस्रो मुख्यमन्त्री हुन्। पाण्डेभन्दा अघि नेकपा (एमाले)का तर्फबाट अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल मुख्यमन्त्री भएका थिए।
प्रतिनिधि सभा सदस्यको शपथ लिएपछि उनलाई नैतिक दबाब परेको थियो। स्पष्ट कानूनी व्यवस्था नभए पनि प्रतिनिधि सभा सदस्यको शपथ लिएकाले राजीनामा दिएको उनको भनाइ छ।
मंसीर ४ मा भएको निर्वाचनबाट नयाँ प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन्। नवनिर्वाचित प्रदेश सभा सदस्यलाई एक साताभित्र शपथ खुवाउने तयारी भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
नवनिर्वाचित सदस्यको शपथ ग्रहणसँगै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया शुरू हुनेछ।