आधाभन्दा बढी नेपाली वित्तीय साक्षर, ब्यांकबाट कर्जा लिने १७ प्रतिशत मात्रै
आधाभन्दा बढी नेपाली वित्तीय रूपमा साक्षर रहेको नयाँ सर्वेक्षणले देखाएको छ।
नेपाल राष्ट्र ब्यांकले पहिलो पटक गरेको वित्तीय साक्षरता सम्बन्धी सर्वेक्षण अनुसार, ५७.९ प्रतिशत नेपाली वित्तीय रूपमा साक्षर छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै वित्तीय साक्षरता रहेको देखिएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम वित्तीय साक्षरता रहेको अध्ययनले देखाएको छ।
वित्तीय साक्षरतामा सबैभन्दा बढी अङ्क बागमती प्रदेशको ६४.५ प्रतिशत पाइएको छ भने मधेश प्रदेशको सबैभन्दा कम ५२ प्रतिशत रहेको छ।
सर्वेक्षणले तीन मुख्य आयाम वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्तिका आधारमा निष्कर्ष निकालेको हो। जस अनुसार, वित्तीय ज्ञानको स्तर ४७.३ प्रतिशत, वित्तीय व्यवहारको स्तर ६३.५ प्रतिशत र वित्तीय मनोवृत्तिको स्तर ६२.९ प्रतिशत छ। २७.५ प्रतिशत वयस्कले मात्रै सबै अवधारणाको आधारमा न्यूनतम अङ्क पाएको देखिएको छ।
सर्वेक्षणले वृद्धमा भन्दा युवामा, महिलामा भन्दा पुरुषमा, अनौपचारिक क्षेत्रमा काम गर्नेभन्दा औपचारिक क्षेत्रमा काम गर्ने जनशक्तिमा बढी वित्तीय साक्षरता रहेको देखिएको छ।
सर्वेक्षणले ७१ प्रतिशत वयस्कले बचत खाता सञ्चालन गरेको, २६.८ प्रतिशतले जीवन बीमा गरेको देखाएको छ। यद्यपि, ब्यांकबाट ऋण लिने वयस्क जम्मा १७.६ प्रतिशत मात्रै छन्। सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसंख्याले कर्जा प्रयोग गरेको भए पनि १७.६ प्रतिशतले मात्र ब्यांकबाट कर्जा लिएको देखिएको हो।
राष्ट्र ब्यांकले देशभरिका १८ वर्षमाथिका नौ हजार ३६१ जनासँग सर्वेक्षण गरेको थियो।