मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार, पक्राउ पर्नेमा ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङ रहेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले एक जनालाई ठमेलबाट र अर्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको जनाएको छ।
उनीहरूले तीन जना नेपाली नागरिकलाई फ्री भिसा र फ्री टिकटमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने प्रलोभनमा लाओस पठाएका थिए। महिनाको एक हजारदेखि एक हजार ५०० सय डलरसम्म कमाइ हुने प्रलोभन देखाएर भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्यान्ड हुँदै लाओस पुर्याइएको प्रहरीले जनाएको छ।
त्यहाँ पुगेका नेपालीलाई गैरकानूनी काममा लगाएको प्रहरीको भनाइ छ। उनीहरूबाट तीन लाख ९० हजार रुपैयाँ लिएर उल्टै मानसिक यातना दिएको प्रहरीले जनाएको छ। तीनै जना आफन्तको सहयोगमा गत कात्तिक २५ गते नेपाल फर्किएका थिए।
पक्राउ परेका दुवै जना चिनियाँ नागरिकलाई पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय, सुन्धारा पठाइएको छ।