विद्यालयमा बगैंचा बनाउँदै स्थानीय सरकार
स्थानीय सरकारहरूले विद्यार्थीलाई वनस्पतिसँग नजिक बनाउन सिकाइको वैकल्पिक उपाय अवलम्बन गरेका छन्। केही विद्यालयमा बगैंचा बनाउने त केहीमा विद्यार्थीलाई बिरुवा दिएर घरमै बिरुवा हुर्काउने कार्यक्रम अघि बढाइएको छ।
प्रदेश १ को मोरङको मिक्लाजुङ गाउँपालिकाले हरेक विद्यालयमा बगैंचा बनाउने कार्यक्रम अघि बढाएको छ। विद्यालयमा बगैंचा बनाउने कार्यक्रम शुरू गरेपछि गाउँपालिकाका प्रायः विद्यालयमा बगैंचा बनेको गाउँपालिका अध्यक्ष बबीकुमार राई बताउँछन्।
‘विद्यालयमा बगैंचा’ कार्यक्रम गाउँपालिकाभरका ३८ वटै विद्यालयमा चलाइए पनि दुर्गम क्षेत्रका केहीमा भने निरन्तर हुन सकेको छैन। विद्यालयहरूले आफ्नो अवस्था र अनुकूलतामा बगैंचा बनाएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशीनाथ खनाल बताउँछन्। “अधिकांश स्कूलमा बगैंचा कार्यक्रम सञ्चालनमा रहेको छ,” उनी भन्छन्।
गाउँपालिकाका २२ विद्यालयमा नौ हजार ३९ जना विद्यार्थी छन्। जसमध्ये सामुदायिक विद्यालयमा पाँच हजार ५५ जना रहेका छन्। विद्यार्थी संख्याका आधारमा विद्यालयलाई बगैंचा निर्माणका लागि २५ देखि ५० हजार हजारसम्म गाउँपालिकाले बजेट उपलब्ध गराएको थियो। मोरङ तराईको सुगम जिल्ला भनिए पनि उत्तरी मोरङ चुरे र पहाडी भेगमा पर्छ। त्यहाँ विद्यालयहरू कठिन भूगोलमा छन्। पानीको अभाव छ।
विद्यालयमा बगैंचा बनाउने कार्यक्रम शुरू गरेपछि गाउँपालिकाका प्रायः विद्यालयमा बगैंचा बनेको छ ।
मिक्लाजुङ-३ मा रहेको एक हजार १६ विद्यार्थी क्षमताको कालिका माविका प्रधानाध्यापक मातृका न्यौपाने बगैंचा कार्यक्रमका लागि विद्यालयका रेडक्रस, बाल क्लब, प्रकृति क्लबलाई सक्रिय बनाइएको बताउँछन्। “सिजनमा त बगैंचा स्याहार गर्न गाह्रो छैन तर पानीको अभाव हुने सुक्खा याममा स्याहार्न गाह्रो छ,” न्यौपाने भन्छन्।
गाउँपालिकाबाट ५५ हजार रुपैयाँ उपलब्ध भएको बताउँदै उनी भन्छन्, “शुरूमा बगैंचाका लागि भनेर यतिउति बजेट तोकिएन। हाम्रोमा बगैंचाको पूर्वाधार केही थिएन। माटो भरोट, पर्खाल लगाउँदा झण्डै डेढ लाख नै खर्च भयो।”
मिक्लाजुङकै कालीदह आधारभूत विद्यालयले भने बगैंचा मात्र होइन, आफ्नो जग्गामा आलु, प्याज, साग खेती गरेर विद्यार्थीलाई दिवा खाजाका लागि पनि स्रोत जुटाएको छ। सँधियारको बाँझो जग्गामा पनि तरकारी खेती गरिरहेको कालीदह आधारभूत विद्यालयकी प्रधानाध्यापक गणेशकुमारी पतङ्वा बताउँछिन्। कक्षा ५ सम्म पढाउने ८९ विद्यार्थी भएको कालीदहले अदुवा, आलु, प्याज, लसुन, साग लगाएको छ। ती तरकारी गाउँमै बिक्री हुने गर्छ, बिक्री नहुँदा विद्यालयले नै दिवा खाजाका लागि उपयोग गर्छ।
प्रधानाध्यापक पतङ्वा बजेट अभावमा बगैंचा कार्यक्रमलाई दिगो बनाउन गाह्रो हुने बताउँछिन्। “बगैंचा बनाउन पालिकाले २५ हजार दिएको थियो। हाम्रो ४० हजार जति नै खर्च भयो,” पतङ्वा भन्छिन्, “शुरूमा शिक्षक, कर्मचारी, विद्यार्थी सबै मिलेर बगैंचा बनायौं। तर‚ उहाँहरूलाई बगैंचामै मात्र सधैं सक्रिय बनाउन पनि नमिल्ने।” पानीको अभावका कारण बगैंचा कार्यक्रम चलाउन गाह्रो भएको प्रधानाध्यापक पतङ्वा बताउँछिन्।
८२४ विद्यार्थी रहेको कक्षा १२ सम्म पढाइ हुने भगवती माविका प्रधानाध्यापक प्रेमप्रकाश कोइराला बगैंचाले विद्यालयको सौन्दर्य बढाएको बताउँछन्। “शुरूमा बगैंचा मात्र बनाइयो‚ गर्दै जाँदा त्यसको व्यवस्थापन खर्च पनि थाहा हुँदै गयो। मोटर, पानी, पाइप र बिरुवाको खर्च हुँदो रहेछ,” कोइराला भन्छन्।
केही बिरुवा सालैपिच्छे रोप्नुपर्ने हुँदा स्थानीय सरकारले प्राविधिक सहयोग गर्ने हो भने आफूहरूलाई भरथेग हुने कोइरालाको भनाइ छ। शुरूमा गाउँपालिकाले बगैंचा निर्माणका लागि बजेट दिए पनि पछि सोही शीर्षकमा विनियोजन नगरिएको गाउँपालिका अध्यक्ष राई बताउँछन्। “हामीले शुरूमा बगैंचाकै लागि बजेट दिएका हौं‚ पछि भने सोही शीर्षकमा बजेट गएको छैन,” अध्यक्ष राई भन्छन्, “अब कसरी के सहयोग गर्नुपर्छ त्यसमा छलफल चल्दै छ।”
कार्यक्रम प्रभावकारी बनाउन विद्यालय-विद्यालयबीच बगैंचासँग सम्बन्धित क्रियाकलाप पनि गर्न सकिन्छ। विद्यालयको अतिरिक्त क्रियाकलापमा बगैंचाको क्रियाकलाप थप गर्न सकिन्छ।
कार्यक्रम प्रभावकारी बनाउन विद्यालय-विद्यालयबीच बगैंचासँग सम्बन्धित क्रियाकलाप पनि गर्न सकिन्छ। विद्यालयको अतिरिक्त क्रियाकलापमा बगैंचाको क्रियाकलाप थप गर्न सकिन्छ। गाउँपालिकाले बिरुवा उत्पादनका लागि स्थानीय सामुदायिक वनहरूसँग सहकार्य गर्न सक्छन्।
गाउँपालिकाले ‘पार्टटाइम’ वा करारमा बगैंचाबारे जानकारको व्यवस्था गरिदए हुन्थ्यो भन्ने विद्यालयहरूको सुझाव छ। गाउँपालिकाले वार्षिक पाँच–सात लाख बजेट विनियोजन गरेर बिरुवा, मलखाद र आवश्यक सामग्री व्यवस्थापनमा सहयोग गर्ने हो भने कार्यक्रम प्रभावकारी र दिगो हुने देखिन्छ। कार्यक्रमको प्रभावकारिता जाँच्न अनुगमन पनि आवश्यक छ।
विद्यार्थी र वनस्पतिलाई सिकाइसँग अनौपचारिक ढङ्गले जोड्न गण्डकी प्रदेशको स्याङ्जाको फेदीखोला गाउँपालिकाले ‘एक विद्यार्थी एक फलफूल बिरुवा’ कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रम तीन वर्षअघि शुरू गरेको हो। कार्यक्रमका लागि गाउँपालिकाले कक्षा ६ देखि १२ सम्मको विद्यार्थीलाई एउटा बिरुवा उपलब्ध गराउँछ।
“हामीले असार मसान्तमा बिरुवा दिन्छौं। विद्यार्थी आफैंले रोप्छन्‚ हुर्काउँछन्,” गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी भन्छन्, “विद्यार्थीमा आत्मनिर्भरता र उद्यमको विकास गराउन यो विधि अपनाएका हौं। साथै, वातावरणीय अध्ययनको विषयलाई पनि समेट्न खोजेका छौं।”
गाउँपालिकाले कागतीको बिरुवा बाँडिरहेको छ। स्थानीय नर्सरीबाट ल्याएर हालसम्म २५ हजार बिरुवा बाँडिसकेको छ। सामान्यतः कागतीको बिरुवाले पाँच वर्षमा उत्पादन दिन्छ। गाउँपालिकाले कागती पकेट क्षेत्र बनाउने उद्देश्य राखेकाले पनि कागतीको बिरुवा बाँडिरहेको हो। “हामी बिरुवा बाहिरबाट किनेर ल्याउँदैनौं, पालिकामै उत्पादन गर्छौं,” अध्यक्ष सुवेदी भन्छन्, “विद्यार्थीले घरमै लगाउँछन्।”
वन मन्त्रालय अन्तर्गतको वनस्पति विभाग मकवानपुरस्थित वनस्पति अनुसन्धान केन्द्रका प्रमुख तथा वनस्पतिविद् रघुराम पराजुली विद्यालयहरूले सिजनल फूल बाहेक बहुवर्षीय वनस्पति लगाउँदा उचित हुने बताउँछन्। त्यस्ता वनस्पतिमा धूपी, पाम, नीलकाँडा, बेगमबेली लगायत हुन्। माटो र मौसम अनुसार बिरुवा चयन गर्नुपर्ने उनी सुझाउँछन्।
“यदि विद्यालयमा राम्रै ठाउँ छ भने हर्बल गार्डेनको अवधारणामा मेडिसिनल प्लान्ट लगाउनु पनि उपयुक्त हुन्छ। यसलाई पढाइसँग पनि जोड्न सकिन्छ। बोझो, पुदिना, कुरिलो, सर्पगन्धा, तेजपात, अमला, हर्रो, बर्रो, तुलसी, घिउकुमारी, लगाउन सकिन्छ,” पराजुली भन्छन्, “बारका लागि हेज लगाउन सकिन्छ। यसले सौन्दर्य पनि दिन्छ र हरियाली पनि हुन्छ।”