विश्वका १ नम्बर पूर्व टेनिस खेलाडीको जेल अनुभव
जेलमा २३१ दिन बिताएका संसारका पूर्व नम्बर १ टेनिस खेलाडी बोरिस बेकरले कारावासमा रहँदा ‘म को हुँ’ भन्ने थाहा भएको बताएका छन्।
सात महीना बेलायतको एउटा जेलमा बिताएका चर्चित टेनिस खेलाडी बोरिस बेकर रिहा भएको एक सातामै एउटा टेलिभिजन कार्यक्रममा सहभागी भए। कार्यक्रममा उनले जेलमा बस्दा अनुभव गरेको एक्लोपन, डर र जेलमा सिकेका पाठबारे बताए।
जर्मन टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा वेलावेला भावुक भएका बेकरले आफूले कठिन, पीडादायी र जीवनको महँगो पाठ सिकेको सुनाए। जेलको अनुभवले ‘म को हुँ’ भन्ने थाहा पाएको उनको भनाइ थियो। “यी यावत् अनुभवले मलाई धेरै महत्त्वपूर्ण र राम्रा कुरा सिकाए। जे पनि राम्रैका लागि हुन्छ,” बेकरले भने।
५५ वर्षीय बेकरलाई आफ्नो ऋण र बक्यौता तिर्न नपरोस् भनेर २.५ मिलियन पाउन्डको सम्पत्ति लुकाएको अभियोगमा साढे दुई वर्ष जेल सजाय सुनाइएको थियो। उनलाई सन् २०१७ मा झण्डै ५० मिलियन पाउन्ड ऋण लागेको घोषणा गरिएको थियो। स्पेनमा रहेको तीन मिलियन पाउन्डको भुक्तानी नगरिएका कारण उनी ऋणमा डुबेका थिए।
गत साता पूर्व टेनिस खेलाडी बेकर र बीबीसीका एक कमेन्टेटरलाई एउटा निजी विमानमा जर्मनी पठाइएको थियो जुन हवाई यात्राको खर्च उनका एक साथीले तिरिदिएका थिए। जर्मन प्रसारण संस्था स्याट-१ का प्रस्तोता स्टिभिन गैटिएनसँग बेकरले कुराकानी गरेका थिए जुन वार्ता यूरोपमा पुस ५ गते साँझ प्रसारण गरियो।
हिरासतको पहिलो साता उनलाई लन्डनको दक्षिण-पश्चिमा रहेको ब्यान्डस्वर्थ जेलमा राखिएको थियो। उनले कारावासको अधिक समय अक्सफोर्डसायर नजिकैको हन्टरकम्ब जेलमा बिताए। ‘ग’ वर्गको जेलका रूपमा रहेको सो कारागार अन्य खुला कारागारभन्दा अपेक्षाकृत सुरक्षित मानिन्छ, जसको दुई खण्डमा विदेशी नागरिकलाई राखिन्छ।
अन्तर्वार्ताका लागि कालो सुटमा देखिएका बेकर जेल जानुअघि भन्दा केही दुब्लो देखिएका थिए। कपाल पनि बाक्लो नै देखिएको थियो। “जेलमा तपाईं कोही पनि होइन, एउटा नम्बर मात्र हो,” उनले भनेका छन्। उनको नम्बर थियो- ए २९२३ इभी।
जेल पुगेपछि मात्रै भोकको अनुभव गरेको उनको भनाइ थियो। “जीवनमा पहिलो पटक मैले भोकको अनुभव गरें। किनभने त्यहाँ मैले भोकै सुत्नुपर्यो,” उनले भने।
जेल जानुअघि उनको तौल ९७ किलोग्राम थियो भने कारावासमा रहँदा सात किलो तौल घटाए। “स्वास्थ्यको दृष्टिले मेरो कारावास राम्रै देखियो। जेलमा पनि रक्सी त उपलब्ध थियो, तर मैले खाइनँ।”
उनको ख्यातिका कारणले ब्यान्डस्वर्थ जेलमा एउटा छुट्टै सेल दिइएको थियो। जेलको ढोका लागेसँगै आफूले जीवनमा पहिले कहिल्यै अनुभव नगरेको एक्लो महसूस गरेको बताए। जेलमा रहेका अनेकौं प्रकारका कैदीको चित्कारले आफूले राम्ररी निदाउन नसकेको बेकरले बताए।
हतियारका रूपमा उपयोग हुन सक्ने डर भएका कारण जेलमा ऐना हुँदैनथ्यो। आफ्नो अनुहार ऐनामा देख्दा धेरै बदलिएको देखेर चकित परेको उनले सुनाए।
फिल्ममा देखाइने दृश्यका कारण जेलमा नुहाउन पनि डर लागेको बताए। प्रसिद्ध टेनिस खेलाडीले जेलमा चाहिंदो गोप्यता हुने बताए। “त्यहाँ कसैलाई सर्वाङ्ग देख्न पाइन्न,” उनले भने। उनले जेलमा रहेको एउटा कैदीबारे पनि बताए जसले उनलाई पैसा दिएर फसाउन खोजेका थिए।
जेल सजाय साँच्चै नै चुनौतीपूर्ण थियो र उनले त्यहाँ रहँदा ज्यान लिने धम्की पाएको पनि बताउन भुलेनन्। जेलका सेलहरू ज्यादै नै फोहोर र कैदीहरू ज्यादै डरलाग्दा भएको उनको अनुभव थियो। “मलाई त दुई जना बस्ने सेल पर्ला कि भन्ने डर लागेको थियो। सेलमा पर्ने अर्को व्यक्तिले आक्रमण गर्न र तर्साउन सक्थ्यो,” बेकरले भने।
पहिलो तीन साता आफू बाहिर ननिस्किएको र चूपचाप लागेर बसेको उनले बताए। अन्य कैदीलाई आँखा जुधाएर हेर्ने गरेनन् र सधैं नजर निहुराएरै हिंडे। “अन्य कैदीलाई हेर्नु उचित हुने थिएन,” उनले भने।
कैदीसँग झगडा परेको पनि उनले सुनाए। “एक पटक मलाई मार्न चाहेको कैदीसँग झगडा गरेको थिएँ,” बेकरले भने, “उसले मलाई मार्नै आँटेको थियो र उसले मलाई भन्नु-नभन्नु भन्यो।”
जब उनले सहयोगको याचना गरे, अन्य कैदी आएर जोगाए। जेलका रक्षक त ढिलो गरी आउने वा आउँदै नआउने गर्दा रहेछन् भन्ने पनि उनको अनुभव थियो। त्यो मान्छेले बेकरलाई नजरअन्दाज गरेको रहेछ भन्ने उनको अनुभव छ, तर पछि उसले माफी माग्दै हात चुमेको बताए।
जेलमा नामैले चिन्ने तीन जना कैदी जेक, रसल र विल्ली थिए। तिनीहरूले उनका कुरा सुने र उनको ज्यान जोगाउन सहयोग गरे। हन्टरकम्ब जेलमा तीन महीना बिताएपछि उनलाई अर्कै खण्डमा पठाइयो। त्यहाँ उनले फिटनेस ट्रेनिङ तथा गणित, अंग्रेजी र ग्रीक फिलोसोफी पढाए।
उनलाई केही कैदीले राम्रै सम्मान गरेका थिए र तिनीहरूको राम्रै प्रशंसा गरे। साथै, बेलायतलाई राम्रैसँग चिन्ने दुई जर्मन खेलाडीको पनि प्रशंसा गरे जसबाट उनले सहयोग पाएका थिए।
पूर्व विम्बल्डन विजेता माइकेल स्टिचले उनलाई तीन पृष्ठ लामो चिठी पठाएका थिए र लिभरपुलका म्यानेजर जर्गन क्लोपले उनलाई जेलमा भेट्न खोजेका थिए। तर, प्रशासनले उनलाई भेटको अनुमति दिएन।
बेकरकी पार्टनर लिलियन डे कार्भालो मेन्टिइरो भने प्रत्येक दुई सातामा उनलाई भेट्न जान्थिन्। उनका दुई छोरा नोहा र इलिसा पनि उनलाई भेट्न आउँथे। तर, उनले आफ्ना साना दुई छोरालाई भने जेलमा आउन दिएनन्। साना बालकलाई जेलमा आउन दिनु राम्रो नहोला भन्ने उनको सोच थियो।
भेटको दुई घन्टा उनी आनन्दपूर्वक बिताउँथे र त्यसपछि घर वा इटालियन रेस्टुरेन्टमा जान चाहन्थे, तर वास्तवकिता त अर्कै थियोे। पारिवारिक भेटपछि उनी आफ्नो सेलमा फर्किनुपर्थ्यो र कारागारको जीवन शुरू हुन्थ्यो। दुई घन्टा लामो अन्तर्वार्ताका क्रममा उनी वेलावेला भावुक भए। अन्तर्वार्ताका लागि उनलाई पाँच लाख पाउन्ड दिइएको थियो।
जेलमा बिताएका २३१ दिनले आफूलाई जीवन बुझ्ने अवसर दिएको बताउँदै बेकरले चार सन्तान र पार्टनरप्रति अझ बढी नजिक भएको अनुभव गरेको बताए। “जब कारागारको ढोका बन्द हुन्थ्यो, तब केही बाँकी रहे जस्तो लाग्दैनथ्यो,” उनले भने।
कारागार मुक्त भएपछि अब उनले जीवनको एक सेकेन्ड पनि खेर नफाल्ने प्रण गरेका छन्।
(बीबीसी स्पोर्टस्मा प्रकाशित सामग्रीको भावानुवाद महेश्वर आचार्यले गरेका हुन्।)