चार्ल्स शोभराजलाई आजै जेलमुक्त गर्ने तयारी
सिरियल किलरका नामले कुख्यात चार्ल्स शोभराजलाई जगन्नाथ देवल कारागारले आजै छोड्ने तयारी गरिरहेको छ।
कारागार प्रमुख ईश्वरीराज पाण्डेले भर्खरै जिल्ला अदालत, काठमाडौंबाट सर्वोच्च अदालतको फैसला अनुसार गर्नुहुन भनी पत्र आएकाले शोभराजलाई छाड्ने प्रक्रिया शुरू भएको बताए। “आजै जेलमुक्त गर्ने भनेर लागिरहेका छौं। अब केही समय लाग्ला,” उनले भने।
सर्वोच्च अदालतले शोभराजलाई तत्काल थुनामुक्त गरेर १५ दिनभित्र आफ्नो मुलुक फर्काउन पुस ६ मा आदेश दिएको थियो। शुक्रबार दिनभरि भने उनी छुट्ने कि नछुट्ने अन्योल रह्यो।
भक्तपुर जिल्ला अदालतले सर्वोच्चको फैसला अनुसार गर्नुहुन भनी कारागार कार्यालयलाई पत्र पठाउँदा सर्वोच्च अदालतसँगै जिल्ला अदालत, काठमाडौंलाई समेत बोधार्थ दिएको थियो। तर, सर्वोच्चले काठमाडौं जिल्ला अदालतलाई फैसला कार्यान्वयनका लागि छुट्टै पत्र काटेको थिएन।
त्यसपछि दिउँसो नै सर्वोच्च र जिल्ला अदालतमा कारागार कार्यालयले प्रष्ट पारिदिन भन्दै पत्र लेखेको थियो। काठमाडौं जिल्ला अदालतमा समेत शोभराज विरुद्ध तीन वटा मुद्दा चलेका थिए। राहदानी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो।
यी सबै मुद्दामा फैसलापछि कैदी पुर्जीको लागत भने एकमुष्ट रूपमा भक्तपुर जिल्ला अदालतबाटै जारी भएको काठमाडौं जिल्ला अदालत, फैसला कार्यान्वयन अधिकारी सीता अधिकारीले बताइन्। “यस पृष्ठभूमिमा हामीले सर्वोच्चको आदेश अनुसार गर्नू भनेर कारागारलाई चिठी पठाएका हौं,” उनले हिमालखबरसँग भनिन्।