पर्वतीय पर्यटन: समृद्धिको अचुक सूत्र
‘हिमालयको देश’ नेपालले हिमाली क्षेत्रको पर्यटनबाट बृहत् लाभ लिन सक्ने भए पनि गहिरो योजना र पर्याप्त प्रचारको अभावमा अवसर खेर गइरहेको छ।
सात दशकअघि फ्रेन्च नागरिकद्वय मौरिस हर्जोग र लुइस लाशनलले पहिलो पटक अन्नपूर्णको आरोहण गरेसँगै बाहिरी दुनियाँका लागि नेपालका हिमालको पर्दा उघारिएको थियो। लगत्तै सन् १९५३ मा एडमन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाले जसै सगरमाथाको चुचुरो टेके, कौतुकमय सर्वोच्च शिखरमा मानव पाइला पुगेको खबर संसारभरि फैलियो। नेपाली पर्यटनलाई नयाँ युगमा प्रवेश गर्न ढोका खोल्ने घटना थिए यी। तर, हिमालयको देशको परिचय पाएको सात दशक बितिसके पनि नेपालले पर्यटनबाट यथेष्ट आर्थिक अवसर छोप्न सकेको छैन।
नेपालले पर्यटनको वास्तविक लाभ नपाएको निष्कर्ष निकाल्न बितेका दशकको पर्यटक आगमन र विदेशी मुद्रा आर्जनको तथ्याङ्क केलाए पुग्छ। साढे पाँच दशकअघि सन् १९६४ मा नौ हजार ५२६ पर्यटक नेपाल भित्रिएका थिए। वार्षिक दश लाखभन्दा धेरै पर्यटक भित्र्याउने एक दशक पुरानो लक्ष्य सन् २०१८ मा बल्ल पूरा भएको थियो। सन् २०१९ मा आएका १२ लाख हाराहारी पर्यटक अहिलेसम्मकै सर्वाधिक हुन्। बितेका दशकहरूमा संसारभरिको पर्यटन उद्योगले विस्मयकारी विस्तार गर्दा नेपालले भने लामो प्रतीक्षा गर्दा समेत वार्षिक २० लाख पर्यटक भित्र्याउन सकेको छैन। यसले नेपाली पर्यटन उचित अवसर समात्न चुकिरहेको सङ्केत गर्छ।
सम्भावना भएको जति नै भनिए पनि अहिलेसम्म पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड बनिसकेको छैन। देशको कुल गार्हस्थ्य अर्थतन्त्रमा पर्यटन जगत्को हिस्सा दुई प्रतिशतभन्दा कम छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, गत आर्थिक वर्ष २०७८/७९ को कुल गार्हस्थ्य उत्पादनमा होटल र रेस्टुरेन्टको योगदान १.७५ प्रतिशत मात्रै छ। विदेशी मुद्रा आम्दानीका हिसाबले पनि पर्यटन आम्दानीको मुख्य क्षेत्र होइन, सहायक मात्रै हो। कोभिड-१९ महाव्याधिका कारण प्रभावित बितेका दुई वर्ष छोडेर २०७६/७७ को गणना गर्दा देशको कुल विदेशी मुद्राको आम्दानीमा पर्यटन क्षेत्रबाट भएको आम्दानी ४.६ प्रतिशत मात्रै छ। यी तथ्याङ्कले देशको पर्यटन कायापलटका लागि लामो बाटो हिंड्न बाँकी नै रहेको सङ्केत गर्छ।
हिमालको हिसाबकिताब
बिदा मनाउन, सफारी वा धार्मिक पर्यटनमा अवसर पछिल्ला दशकमा खोजिए पनि नेपाली पर्यटनको विशेषता र महत्र्व हिमाली क्षेत्रको पदयात्रा र पर्वतारोहणमै छ। उत्तरतिरका हिमशृङ्खला नै नेपाली पर्यटनको मियो हुन्। संसारभरि नेपालले हिमालबाटै परिचय पाएकोमा शङ्का छैन।
बाहिरी विश्वले एभरेस्ट भनेर चिन्ने संसारकै अग्लो चुचुरोबारेको चासो र आकर्षण संसारभरि छ। आठ हजार मिटरभन्दा अग्ला संसारभरिका १४ हिमालमध्ये आठ वटा नेपालमै पर्नुले मुलुकको हिमाली विशिष्टता दर्शाउँछ।
पाँच हजार ५०० मिटरभन्दा अग्ला एक हजार ९१३ चुचुरामध्ये ३२६ वटा मात्रै पर्वतारोहणका लागि खुला गरिएका छन्। तर, यसको प्राकृतिक वैभव देखाउन विदेशी पर्यटक भित्र्याउने प्रचार पुगेकै छैन। पुगेको हुँदो हो त, दुई दशकअघि नै झण्डै पाँच लाख पर्यटक भित्र्याएको मुलुकलाई संख्या दोब्बर बनाउन २० वर्ष नलाग्नुपर्ने हो।
सन् २०१९ मा एक हिसाबले बन्द सरह रहेको उत्तरी छिमेकी तिब्बतमा पाँच लाख विदेशी सहित चार करोड र तुलनात्मक सानो हिमाली मुलुक भुटानमा तीन लाख १५ हजार पर्यटक भित्रिएका थिए। दक्षिण पूर्वी एशियाली मुलुक कम्बोडियाले नै पनि वार्षिक ६० लाखभन्दा धेरै पर्यटक भित्र्याउँछ। यी स्थानसँग तुलना गर्दा नेपालको पर्यटन क्षेत्रले सही लय नसमातेको देखिन्छ। भित्रिएका पर्यटकबाट मुलुकले कति लाभ पायो भन्नेमा पनि प्रश्न छँदै छ। नेपालमा विदेशी पर्यटकको खर्च दैनिक ४८ डलर मात्रै छ।
२०७६/७७ मा नेपालले पर्यटन क्षेत्रबाट रु.६० अर्ब ८८ करोड आम्दानी गर्यो। देशले उक्त वर्ष गरेको विदेशी मुद्रा आम्दानीको ४.६ प्रतिशत मात्रै हो यो। नेपाली युवा जनशक्ति वैदेशिक रोजगारीका लागि खाडी र अन्य मुलुक जानुअघि सीमित विदेशी मुद्रा आर्जनको स्रोत भएका वेला पर्यटनले दिएको योगदान भने उल्लेखनीय थियो। जस्तो- सन् १९७४/७५ मा देशको विदेशी मुद्रा आर्जनको ३०.२ प्रतिशत हिस्सा विदेशी पर्यटकबाट भित्रिएको थियो। यो सन् १९८१/८२ मा अहिलेसम्मकै उच्च ३६.८ प्रतिशतसम्म पुग्यो। जब, सन् १९९० को दशकपछि सघन भएको वैदेशिक रोजगारी, अन्तर्राष्ट्रिय व्यापार तथा लगानीको अवसर समात्दै नेपालीहरू भारत बाहेकका तेस्रो मुलुकमा काम गर्न जान थाले, नेपालको प्रमुख विदेशी मुद्रा आर्जनको स्रोत रेमिटेन्स हुन पुग्यो, पर्यटन छायामा पर्न थाल्यो।
अहिले मुलुकको कुल वैदेशिक मुद्रा आर्जनको दुई तिहाइ रेमिटेन्सबाट आउँछ। निर्यात, पर्यटन, विदेशी लगानी र सहयोगको एक तिहाइ मात्रै योगदान छ। पछिल्ला एक दशक (सन् २०१०/११-२०१९/२०)को वार्षिक औसत लिँदा पर्यटनको आम्दानीले देशको विदेशी मुद्रा आर्जनमा जम्मा ५.२ प्रतिशत मात्रै योगदान गरेको छ।
यद्यपि, हिमाली क्षेत्रका स्थानीय अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्न र नागरिकको जीवन उकास्न पर्यटनले दिएको योगदानलाई बिर्सन मिल्दैन। चौंरीपालन तथा आलु र फापर जस्ता सीमित परम्परागत खेतीमा निर्भर हिमाली क्षेत्रका नागरिकको जीवन पर्यटक आगमनले फेरिएको छ।
खुम्बु क्षेत्र र लाङटाङ त्यसका बलियो उदाहरण हुन्। पदयात्रा र पर्वतारोहणले झण्डै १९ हजार टे«किङ गाइड, ५० हजारसम्म भरिया र अन्य सेवा प्रदान गर्नेलाई रोजगारी दिन्छ।
सन् २०१९ मा आठ हजार २५४ पर्वतारोहीले रु.६८ करोड ६० लाख रोयल्टी रकम सरकारलाई बुझाए। करीब एक हजार ७०० जनालाई रोजगारी दिएका उनीहरूले पदयात्रा र पर्वतारोहणका क्रममा होटलको व्यवसाय चम्काउन पनि सघाए। त्यस्तै, उक्त वर्ष २४ हजार विदेशी पर्यटक पदयात्राका लागि हुम्ला, मनास्लु लगायत हिमाली भेगतिर उक्लिए।
नेपाल आउने पर्यटकमध्ये कम्तीमा १६ प्रतिशत पदयात्रा र पर्वतारोहणका लागि आउने तथ्याङ्क छ। सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक भित्रिएकोमा एक लाख ९८ हजार हाराहारी पर्यटक पदयात्रा र पर्वतारोहणका लागि आएका थिए। सबैभन्दा धेरै सात लाख ७८ हजार बिदा मनाउन आएको तथ्याङ्क छ।
विस्तारको आशा
पछिल्लो एक दशकमा निर्माण भएका र निर्माणाधीन सुविधासम्पन्न होटलको संख्या र पर्यटन पूर्वाधारमा भइरहेको लगानीले देशको पर्यटन क्षेत्र चलमलाउने आशा दिन्छ। बितेका वर्षहरूमा ठूलो लगानीका एक दर्जनभन्दा धेरै तारे होटल सञ्चालनमा आए । एक दर्जनभन्दा बढी पाँचतारे होटल निर्माणाधीन छन्। ठूला तारे होटलको निर्माण र यिनमा प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्डको साझेदारीले पर्यटनको विस्तार हुनेमा आशावादी बनाउँछ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पनि पर्यटन सम्भावनालाई गति दिन सघाउनेछ।
दशक लामो सशस्त्र द्वन्द्व र त्यसपछिको राजनीतिक अस्थिरतामा बढेको बन्द-हडतालबाट त्राण नपाउँदै मुलुक २०७२ वैशाखको भूकम्पको चपेटामा पर्दा पर्यटन क्षेत्रले फैलिनै पाएन। थुप्रै व्यवधानका बावजूद कोभिड-१९ महामारी शुरू हुनुअघिका दुई वर्ष पर्यटन क्षेत्रले आशा देखायो, १० लाखभन्दा धेरै पर्यटकको आगमनसँगै। तर, सन् २०१९ को अन्त्यतिरबाट फैलिएको विश्वव्यापी महामारीपछि नेपालको पर्यटन क्षेत्र पनि थलियो। पर्यटन सम्बन्धी थुप्रै व्यवसाय बन्द भए, लाखौंले रोजगारी गुमाए।
दुई वर्ष शिथिल बनेको पर्यटन क्षेत्र यो वर्षबाट भने तङ्ग्रिने सङ्केत देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार, पछिल्ला महीनामा पर्यटक आगमन मासिक ५० हजारभन्दा बढी छ। सन् २०२२ को ११ महीना (नोभेम्बरसम्म)मा पाँच लाख ४६ हजारभन्दा धेरै पर्यटक भित्रिएका छन्। यसले पर्यटनमा सुस्त पुनरुत्थानको सङ्केत गर्छ।
अपार सम्भावना रहेको भनिए पनि नेपालले पर्यटनमा फड्को मार्न किन सकेन? जानकारहरू विश्व बजारमा नेपालले आफूलाई ‘ब्रान्डिङ’ गर्नै नसकेको तर्क गर्छन्। पर्यटन व्यवसायी वसन्त मिश्र भन्छन्, “विश्व बजारमा मार्केटिङ, देशभित्र पूर्वाधार निर्माणमा गम्भीर र दरिलो रूपमा काम हुन सकेको छैन।”
हामीकहाँ पर्वतारोहण र पदयात्राका उत्कृष्ट गन्तव्य भए पनि ती विश्व पर्यटन बजारमा ओझेलमा रहेको उनी बताउँछन्। हिमाल चढ्ने र पदयात्रा गर्ने मात्र होइन, हिमाली क्षेत्रमा गरिन सक्ने पर्यटनका कैयौं गतिविधिमा ध्यानै दिइएको छैन।
मिश्रका अनुसार, अग्ला पहाडबाट बन्जी, पाराग्लाइडिङ, रक क्लाइम्बिङ, धारिलो छाल सहितका नदीमा र्याफ्टिङ लगायतबाट नेपाललाई साहसिक पर्यटनको गन्तव्यका रूपमा बाहिरी जगत्मा चिनाउन सकिन्छ। यसले हिमाली क्षेत्रको पर्यटनमा नयाँ अवसरको ढोका खोल्न सक्छ। तर, यी सबैका लागि पर्यटन पूर्वाधार, ब्रान्डिङ तथा अनेकौं सहयोगी प्रणालीको निर्माण र विकास गर्न आवश्यक छ।
नेपालको पर्यटन विषयमा विद्यावारिधि गरेका राजीव दाहाल पर्यटन नीतिगत प्राथमिकतामा पर्दै नपरेको बताउँछन्। “नेपाललाई पर्यटनबाटै कायाकल्प गर्न सकिन्छ भन्ने बुझाइ नीतिनिर्मातामा आएकै छैन। पर्यटनको सम्भावनाबारे गहिरो तरीकाले विचार नगर्दासम्म पर्यटन क्षेत्रले अपेक्षित गति लिँदैन,” उनी भन्छन्।
उनी लाखौं नेपालीलाई रोजगारी सिर्जना, आर्थिक आम्दानीको विस्तार, देशको अर्थतन्त्रलाई समृद्ध बनाउन पर्यटन नै देशको मियो भएको बताउँछन्। “तर, कति पर्यटक चाहिने हो, उनीहरूबाट कति पैसा खर्च गराउने हो, ती पर्यटक कहाँबाट ल्याउने हो भन्नेमा गम्भीर विचार गरिएकै छैन,” उनी भन्छन्।
(हिमालको २०७९ पुस अङ्कबाट।)