पोखरामा साहित्य महोत्सव प्रारम्भ
नेपाल साहित्य महोत्सव बिहीबार पोखराको फेवाताल किनारमा प्रारम्भ भएको छ।
महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पूर्व पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई सम्झिए। अधिकारीको पहलमा पोखरामा सञ्चालन हुन थालेको महोत्सवले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको बताए।
महोत्सव आयोजक बूकवर्म फाउन्डेशनका कार्यकारी निर्देशक नीरज भारीले पनि स्वर्गीय अधिकारीलाई सम्झिए। “चौथो संस्करण सक्दै गर्दा रवीन्द्र दाइले पोखरामा पनि गर्नुपर्छ है भन्नुहुन्थ्यो। उहाँको जोडले पोखरा आउने निर्णय गर्यौं,” भारीले भने।
साहित्य महोत्सव सन् २०१६ बाट पोखरामा आयोजना गर्न थालिएको हो। त्यसअघि काठमाडौं तथा ललितपुरमा सञ्चालन हुँदै आएको थियो। सन् २०११ मा शुरू भएको महोत्सवको यो दशौं संस्करण हो।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले यस्ता महोत्सवका माध्यमबाट साहित्यक माहोल बनाउन हातेमोलो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।
महोत्सव उद्घाटन समारोहमा अर्थशास्त्री अच्युत वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा विद्वत्प्रवचन दिए। वाग्लेले नेताहरूको त्यागमाथि आशङ्का उब्जिएको बताए। “राजनीतिलाई जनमुखी बनाउने अहम् मुद्दाहरू त्याग, चरित्र, पात्र, इमानदारी, योग्यता, भविष्यदृष्टि सबै किनारातर्फ धकेलिएका छन्। यी शब्दहरूका अर्थ नै कतै हराएका हुन् कि जस्तो लाग्छ,” उनले भने।
पहिलो दिन ‘घरबाट विद्यालयसम्म’ शीर्षकमा डा.मिनाश्री दाहाल, शिशिर खनाल र दिनकर नेपालले संवाद गरेका छन्।
पुस ११ गतेसम्म चल्ने महोत्सवमा सहभागी हुन देश-विदेशबाट २०० जना साहित्यकार, राजनीतिकर्मी, लेखक, पत्रकार, कलाकार लगायत पोखरा पुगेका छन्। महोत्सवमा ५० वटा सेसन र साङ्गीतिक कार्यक्रम हुनेछन्।