'दर्दनाक विगतबाट नसिक्ने हो भने देश र समाज अगाडि बढ्न सक्दैन'
श्रीलंकाली लेखक शेहान करुनातिलकाको सन् २०२२ को बूकर पुरस्कार जित्ने कृति हो, सेभेन मुन्स अव माली अल्मेइदा। सन् १९८० को दशकमा चर्केको श्रीलंकाको जातीय द्वन्द्वको समयका ‘वार फोटोग्राफर’ माली अल्मेइदाको हत्याबाट शुरू गरिएको उपन्यासमा प्रेतको दुनियाँमा सात दिन बस्दा अल्मेइदाले गरेको आफ्नो हत्याराको खोजी यात्रा देखाइएको छ। अल्मेइदाको कथा मार्फत करुनातिलकाले श्रीलंकाको इतिहास, जातीय द्वन्द्वका साथै धार्मिक विश्वास र अभ्याससँग पाठकलाई परिचित गराएका छन्। यो उपन्यासको सेरोफेरो तथा लेखकीय दृष्टिकोणबारे लेखक करुनातिलकासँग सेवा भट्टराईले गरेको कुराकानी:
बूकर जित्दाको अनुभव कस्तो थियो?
बूकरको लङलिस्ट सार्वजनिक हुँदा नै म खुशी थिएँ। लङलिस्टमा परेका सबै १३ पुस्तक उत्कृष्ट थिए। शर्टलिस्टमा पनि मेरो किताब पर्यो। धेरै रमाइलो लागिरहेको थियो, तर तनाव पनि थियो। मैले पनि जित्न सक्छु भन्ने सम्भावना त थियो, तर जित्छु जस्तो चाहिं लागेको थिएन। जब पुरस्कारको घोषणा भयो, एकदम नर्भस भएँ। साँच्चै हो र जस्तो अचम्मको अनुभव भएको थियो।
द सेभेन मुन्स अव माली अल्मेइडा दुई वर्षअघि च्याट्स विथ द डेड नाममा प्रकाशन भएको थियो। त्यसलाई परिमार्जन गरेर अर्कै नाममा किन निकाल्नुभयो?
च्याट्स विथ द डेड श्रीलंकामा राम्रै चलेको थियो। भारतमा पनि मैले त्यसका लागि प्रकाशक पाएँ। त्यसमा केही सम्पादन चाहिन्छ जस्तो लागेको थियो, तर गरिएन। भारतमा श्रीलंकाका इतिहास, मिथक र द्वन्द्वबारे राम्रै ज्ञान भएकाले होला, पुस्तकले भारतमा पनि राम्रै पाठक पायो। तर, दक्षिणएशियाभन्दा बाहिर प्रकाशक पाउन निकै गाह्रो भयो। बेलायतको प्रकाशन संस्था सर्ट अफ बूक्समा यसको पाण्डुलिपि पठाएँ। उताबाट जवाफ आयो- किताब राम्रो छ, तर पश्चिमा पाठकले पढ्न सक्ने बनाउन यसमा धेरै काम गर्नुपर्छ।
पश्चिमा पाठकलाई दक्षिणएशियाका मिथक वा भूत, प्रेत जस्ता अवधारणाबारे त्यति थाहा हुँदैन। सर्ट अफ बूक्सले त्यो किताब छाप्ने भयो। पश्चिमा पाठकलाई कुन कुराले काम गर्छ र कुन कुराले गर्दैन भनेर राम्रोसँग बुझेका सम्पादकको हातमा मेरो किताब पर्यो। शुरूमा हामीले श्रीलंकाका केही सन्दर्भ स्पष्ट बनाउने भनेर सम्पादन थालेका थियौं: जेभिपी के हो, लिट्टे के हो, भारतीय शान्ति सेना के हो, सिन्हाला को हुन्, तमिल को हुन्, कसले के चाहन्छ आदि।
कोभिड महामारीका कारण किताबको प्रकाशन अझै पछि धकेलिने भयो। त्यसपछि हामीले किताबमा थप काम गर्न थाल्यौं। पहिले र अहिलेको किताब लगभग उस्तै हो, तर नयाँमा पुरानोभन्दा अलि छिटो कथा अगाडि बढ्छ, केही हिंसाका विवरण र अलमलिने कुरा हटाइएका छन्, र केही कुरा र पात्र थपिएका छन्।
के दक्षिणएशियाली लेखकले अन्तर्राष्ट्रिय पाठक पाउन पुस्तक सरलीकरण गर्नुपर्छ? त्यसो गर्दा लेखकले भन्न खोजेका कुरा वा दक्षिणएशियाका जटिल सन्दर्भ हराउने जोखिम त हुँदैन?
सरल नै हुनुपर्छ भन्ने छैन। मेरो किताब पुनर्लेखन गर्दा अझ सुधार भयो, त्यसमा म खुशी छु। र, त्यसरी मिहिनेत गर्दा सुधार हुन्छ भने गर्दा हुन्छ जस्तो लाग्छ। आफ्नो किताब बढीभन्दा बढी पाठकले पढून् भन्ने लाग्छ भने केही सम्पादन गर्नैपर्ने हुन्छ। पश्चिमा सन्दर्भमा दक्षिणएशियाका धेरै कुरा गर्न मिल्दैन। जस्तै- मेरो पहिलो उपन्यासमा भारत र पाकिस्तानको क्रिकेट म्याचबारे लेख्दा ‘पाकी’ शब्द प्रयोग गरेको थिएँ।
त्यो शब्द हाम्रा लागि त सामान्य हो, दैनिक जीवनमा प्रयोग गर्छौं। तर, बेलायतमा त्यो शब्द जातीय गाली जस्तै हो, किताबमा राख्न मिलेन। मलाई के लाग्छ भने, कुनै पुस्तक राम्रो छ भने त्यसलाई जसले जहाँ पनि पढ्न सक्छ। त्यसैले सम्पादन गरेर राम्रो बनाउनुमा कुनै खराबी छैन।
धर्म-दर्शनहरूमा मान्छे मरेपछि उसले मुक्ति पाउँछ, वा सम्पूर्ण रूपमा शून्यमा विलीन हुन्छ भन्ने मान्यता छ, तर तपाईंको पुस्तकमा मृतात्माको संसार जीवित मानिसको संसारभन्दा पनि बढी खतरनाक, शक्तिको भोक र भ्रष्टाचारले ग्रस्त र निराशापूर्ण देखिन्छ। किन त्यस्तो?
हो, पूर्वीय र पश्चिमा दुवै दर्शनमा मृत्युपछि एउटा उज्यालो ठाउँमा पुगिन्छ जहाँ ब्रह्माण्डका सबै सत्य उजागर हुन्छन् भन्ने खालको विश्वास छ। त्यो सुन्दर अवधारणा हो र त्यसले हामीलाई सान्त्वना दिन्छ। तर, मानिसको अन्तिम संस्कार नसकिएसम्म उसको आत्मा प्रेत बनेर पृथ्वीमै घुमिरहन्छ भन्ने विश्वास छ दक्षिणएशियामा। त्यो प्रेतको संसार कस्तो होला त, मलाई त्यसमा बढी रुचि लाग्यो। शायद त्यो समयमा मानिसले जीवन निरर्थक रहेकोमा विचार गर्छ होला। आफूले बिताएको जीवनको केही अर्थ देख्दैन। त्यो मान्छेका लागि प्रेतको संसार पनि पृथ्वी जस्तै छः भिसा चाहिएको छ। अनेक बेथिति छन्। त्यो संसारको असङ्गतिले मलाई आकर्षित गर्यो।
हामीले सानैदेखि के सुन्दै आएका थियौं भने, श्रीलंकामाथि श्राप लागेको छ। श्रीलंकाको उत्पत्ति कथामै त्यही भनिएको छ, श्रीलंकामाथि दुई हजार वर्षदेखि कुवेनीको श्राप छ। तर, मलाई त यो देशमाथि श्राप होइन, वरदान छ जस्तो लाग्छ। हामीसँग यति धेरै स्रोतसाधन छन्, यो ठाउँ यति सुन्दर छ, तर पनि किन यहाँ एकपछि अर्को विपद् आउँछन् त भन्ने प्रश्नमा ‘श्रापको कारणले’ भन्ने उत्तर मलाई चित्त बुझ्दैन।
यहाँ राम्रो व्यवस्थापन नभएर यस्तो भएको हो। यो अव्यवस्थित ठाउँका द्वन्द्वपीडितहरू जब प्रेत बन्छन्, फेरि त्यस्तै अव्यवस्थित संसारमा पुग्छन्। र, किन यस्तो भयो भनेर झन् अलमल्ल पर्छन्। प्रेत भनेको यस्तो चीज हो, जसले आफ्नो जीवनमा न्याय पाएन, र श्रीलंका त्यस्ता प्रेतले भरिएको छ होला। त्यसैले श्रीलंकाको प्रेतलोक पनि त्यस्तै होला जस्तो लाग्छ।
उपन्यासमा यस्तो संसार बनाउनुको कारण के थियो?
मैले मृतात्माहरूबारे सोचें। मरेर प्रेतको संसारमा डुलिरहँदा हामी के खोज्छौं? के हामी सजिलै मुक्तितिर जान्छौं? कि हामी पृथ्वीतिर फर्केर आफूले गर्न चाहेका काम गर्न खोज्छौं? आफ्ना नजिकका मान्छेसँग बिदा माग्ने वा अरू इच्छा पूरा गर्ने। शायद हामीमध्ये धेरै जना त्यो अन्तिम उज्यालोतर्फ जाँदैनौं होला। प्रेमको कारणले या निकट व्यक्तिलाई हेरिरहने चाहले धेरै मान्छे प्रेतको संसारमै अड्किन्छन् होला। त्यसैले त्यो प्रेतको संसारमा भिन्नाभिन्नै किसिमका प्रेत छन्, कोही अरूलाई उज्यालोतिर लैजान खोज्छन्, कोही अरूलाई पृथ्वीतिरै फर्काउन खोज्छन्। यस्तो संसार बनाउन मलाई एकदम रमाइलो भयो।
यो पुस्तकमा हिंसाको विवरण धेरै छ। बर्बर विगत भोगेर आएको श्रीलंकाको अधिकांश साहित्य यस्तै हुन्छ?
त्यसो होइन। यहाँ हास्यव्यंग्य पनि धेरै लेखिन्छ। मेरो पहिलो उपन्यास चाइनाम्यानः द लिजेन्ड अफ प्रदीप म्याथ्यु (सन् २०१०) लेख्दा आफैंलाई एउटा चुनौती दिएको थिएँ: द्वन्द्वबारे उल्लेख नै नगर्ने। त्यसैले त्यो किताब क्रिकेट हेर्ने एउटा पाको मान्छेबारे छ। श्रीलंकामा युद्ध भइरहेको छ, तर त्यो पात्रका लागि युद्ध कतै नेपथ्यमा छ। त्यो म र म जस्ता थुप्रै कोलम्बो निवासीको सत्य पनि हो। युद्ध छ देशका कुनाकाप्चामा, कोलम्बोमा कर्फ्यु छ, तनाव छ, तर पनि हाम्रो जिन्दगी चलिरहेको छ।
आज पनि आर्थिक र राजनीतिक सङ्कट छ, तर कोलम्बो क्रिसमस पार्टीको तयारी गर्दै छ। शायद यो श्रीलंकाको समस्या र कठिनाइसँग हेलिंदै अघि बढ्ने तरीका हो। मैले यी सबका बीचमा सन्तुलन देखाउन हास्यव्यंग्य र असङ्गतिको प्रयोग गरेको छु। हुन त श्रीलंकामा योभन्दा धेरै यथार्थपरक कथा पनि लेखिन्छन्। तर, श्रीलंकामा जे भयो, त्यो कुनै पनि उपन्यास वा कथाभन्दा धेरै दर्दनाक छ।
के तपाईंको जस्तो लेखाइ ‘कथार्सिस’ पाउने तरीका हो?
मलाई के लाग्छ भने, श्रीलंकामा हामीलाई सामूहिक रूपमै बिर्सिने बानी छ। हामी विगत बिर्सिहाल्छौं। मान्छेले मेरो आलोचना पनि गरे, सन् १९८० को दशकको कुरा किन निकालेको भनेर। तर मलाई लाग्छ, यी कुरा गरिनुपर्छ। विगतमा फर्केर नहेर्नु श्रीलंकाको समस्या हो। विद्यालयमा हामीलाई प्राचीन राजारानीबारे पढाइन्छ, तर पछिल्लो ४० वर्षमा के भयो भन्ने कुरा पढाइँदैन। जसले यो द्वन्द्व् भोगे, खास गरी जसले प्रियजन गुमाए, तिनको आघात अझै छ। तर, यी कुराले मूलधारमा ठाउँ नै पाउँदैनन्। विगतमा अल्झिने होइन, अब अगाडि बढौं भन्ने धारणा छ।
लेखनबाट विगतलाई हेर्न सकिन्छ कि जस्तो मलाई लाग्छ। यो किताबको मुख्य विषय पनि त्यही हो। प्रेतको संसारमा एकथरीले भन्छन्- सबै बिर्सेर अघि बढ, प्रकाशमा जाऊ। अर्काथरीले भन्छन्- होइन, तिमीले विगतलाई फर्केर हेर्नुपर्छ, जे भयो त्यसको लेखाजोखा र सामना गर्नुपर्छ। र, श्रीलंका पनि अहिले त्यही अड्केको छ जस्तो लाग्छ। हामीले हाम्रो विगतको सामना गर्ने कि त्यसलाई थन्क्याउने या उपेक्षा गर्ने?
सन् १९८० को दशकमा यी घटना हुँदा तपाईं किशोरवयमा हुनुहुन्थ्यो, र तपाईं कोलम्बोमा बस्ने भएकाले यी सबै कुराबाट धेरै प्रभावित पनि हुनुहुन्नथ्यो। ती घटना फेरि खोज्नु र लेख्नुको कारण के थियो?
कोलम्बोमा आफ्नै संसारमा बसेको एउटा अपराधबोध जस्तो थियो ममा। र, उमेर बढ्दै जाँदा मैले धेरै द्वन्द्वपीडित भेटें। क्रिकेटबारे एउटा हल्काफुल्का किताब लेखिसकेपछि एउटा भूतकथा लेख्ने विचार आयो। गृहयुद्ध र हिंसा भइरहेको बखत मेरो किशोरवयमा चेतना सीमित थियो, तर पछि यसबारे प्रशस्त पढें।
यो पुस्तक स्वैरकल्पना हो, तर पुस्तकमा भएका धेरैजसो घटना वास्तविक हुन्। यो सत्य उतार्नु चाहिं मेरो लागि चुनौती थियो। अनुसन्धानका लागि मैले धेरै पढें र धेरै मानिससँग कुरा पनि गरें।
द्वन्द्व र हिंसाका कुरा नबिर्सिनु किन महत्त्वपूर्ण हुन्छ? त्यसमा साहित्यको भूमिका के हुन सक्छ?
दक्षिणएशिया, रुवान्डा जस्ता ठाउँमा पनि द्वन्द्व भएका छन्, जुन कतिपय कोणमा श्रीलंकाको भन्दा धेरै डरलाग्दा छन्। ती देशमा पनि शान्ति र पुन:स्थापनाका प्रयास भएका छन्। युवावस्थामा मैले यूरोपमा सानो बजेटमा लामो यात्रा गरेको थिएँ। जर्मनी पुग्दा के थाहा पाएँ भने, त्यहाँ विद्यालयका हरेक विद्यार्थीलाई ‘औसविच’ (दोस्रो विश्वयुद्ध ताका राजनीतिक बन्दी राख्ने सबभन्दा ठूलो शिविर र जातीय नरसंहार गरिएको स्थान) लगिंदो रहेछ। त्यो कुराले मलाई छोयो, आजका पुस्ताले हिजो पुर्खाले गरेका हिंसाबारे कुरा गरिरहेका छन्। र, जर्मनी आज राजनीतिक स्थिरता भएको, यूरोपको सबभन्दा कम ध्रुवीकृत र बढी समृद्ध, खुशी देश छ।
श्रीलंकामा इतिहासको स्मरण नै गरिन्न। युद्धको स्मारक छैन, युद्ध भएको थियो भन्ने कुनै चिह्न छैन, कुनै क्षमायाचना गरिएको छैन। ती घटना भएकै थिएनन् जस्तो गरिएको छ। त्यसो गर्न मिल्दैन। अहिले श्रीलंका स्थिर छ, मानिसहरू पार्टी गरिरहेका छन् जस्तो देखिन्छ। ३० वर्षको युद्धपछि अब त युद्ध सकियो होला भन्ने हामीले ठानेका थियौं, तर पाँच वर्षभित्रै फेरि द्वन्द्व हुन थाल्यो। हामीले केही सिक्दै सिकेनौं जस्तो भयो।
हामीलाई सङ्कटमा पार्ने बूढा मान्छेहरू कहाँ छन् भनेर खोज्ने हो भने ती सामुन्नेमै देखिन्छन्। तासको पत्ती जस्तै फिटिन्छन्, तिनै अनुहार दोहोरिरहन्छन्, र तिनले यस्ता गल्ती गरिरहन्छन्। त्यो दोहोरिन नदिने हो भने हामीले विगतबारे कुरा गर्नुपर्छ, विश्लेषण गर्नुपर्छ।
हामीले युद्धको अनुभवबाट सिकेर फेरि युद्ध हुन नदिन साहित्यको भूमिका हुन्छ जस्तो लाग्छ। एउटा पुस्तकले सबथोक गर्न त सक्दैन, तर मेरो पुस्तक पढेर नयाँ पुस्तालाई धेरै कुरा थाहा हुन सक्छ, वा पाठकको मनमा धेरै प्रश्न जन्मिन सक्छ। हामीलाई इतिहासको एउटा पक्ष देखाइन्छ, तर विविध पक्ष थाहा पाउन साहित्यको भूमिका हुन्छ।
उपन्यासको मुख्य पात्र माली अल्मेइदाको चरित्र सन्दिग्ध छ। ऊ युद्धको फोटो खिच्ने काम गर्छ, विदेशी पत्रकारका लागि फिक्सिङ पनि गर्छ। ऊ कुन पक्षमा छ भन्ने हामीलाई थाहा छैन। ऊ समलिङ्गी हो, र आफ्नो प्रेमीप्रति वफादार छैन। ऊ किन यस्तो छ? उसको चरित्रले श्रीलंकामा समलिङ्गी र विविध लैङ्गिकता भएका मानिसको जीवनको चित्रण गर्छ?
ऊ किन यस्तो छ, मलाई थाहा छैन। धेरै लेखन र पुनर्लेखनपछि उसको चरित्र बनेको हो। समलिङ्गीको कुरा गर्दा, श्रीलंकामा १९८० को दशकमा समलिङ्गीको अवस्था राम्रो थिएन, उनीहरू धेरैजसो लुकेरै बस्नुपर्थ्यो। मैले यसबारे अनुसन्धान गर्न थुप्रै समलिङ्गी पुरुष साथीसँग कुरा गरें। आज श्रीलंका लैङ्गिकता र यौनिकताका विषयमा धेरै खुला छ। यहाँ विविध लैङ्गिकता र यौनिकता भएका मानिसप्रति कानून अझै पनि उदार त छैन, तर समग्रमा समाज समलिङ्गीप्रति अमैत्री पनि छैन।
यो किताब मैले फेरि लेख्नुपरेको भए माली समलिङ्गी नहुन सक्थ्यो। तर, त्यति वेला लेख्दा विपरीत लिङ्गीप्रति आकर्षित हुने खालको मालीको कल्पनै गर्न सकिनँ।
आज साहित्यको संसारमा प्रश्न नै छ, कसको कथा कसले भन्ने? तपाईं महिलासँग विवाहित हुनुहुन्छ, र तपाईंले समलिङ्गी पुरूषको कथा लेख्न पाउनुहुन्छ कि पाउनुहुन्न? त्यस्तो पात्रलाई तपाईंले न्याय दिन सक्नुहुन्छ? समलिङ्गी समुदायको कथा र अनुभव चोरेको आरोप त तपाईंलाई लाग्दैन? कोलम्बोमा बसेको, युद्धबाट बाहिरै र अप्रभावित रहेको व्यक्तिले ग्रामीण श्रीलंकाका मानिसको कथा, युद्धको अनुभवलाई कसरी न्याय दिन सक्छ? तपाईंको पात्र माली अल्मेइदा पनि त द्वन्द्वबाट अछुतो रहन सक्ने, कोलम्बोको अभिजात वर्गको मानिस छ नि!
हामी लेखकको काम नै विभिन्न पात्रबारे लेख्ने हो। हरेक पात्रको अनुभव आफूले गरेको हुनुपर्छ भन्ने छैन। मारियो पुजोले कहिल्यै कुनै ग्याङ्स्टरलाई भेटेका थिएनन् रे, तर ग्याङ्स्टरहरूबारे उनले लेखेको उपन्यास गडफादर उत्कृष्ट छ। त्यस्तै, मेरो पहिलो उपन्यास ६० वर्षीय मानिसबारे थियो, मभन्दा धेरै फरक। मेरो दोस्रो उपन्यासको पात्र पनि मभन्दा धेरै फरक छ। हुन सक्छ, भविष्यमा म महिला पात्रबारे लेखुँला। कसैबारे लेख्न कसैलाई बन्देज हुनु हुँदैन, तर लेखकले पात्रमाथि न्याय चाहिं गर्न सक्नुपर्छ। ग्रामीण श्रीलंका र द्वन्द्वको कथा मैले कसरी लेख्न सक्छु भन्ने प्रश्नमा पनि यही कुरा लागू हुन्छ। यदि मैले ती पात्र र कथालाई न्याय गरिनँ भने मेरो आलोचना गर्न सकिन्छ, तर मैले लेख्नै मिल्दैन भन्ने त हुँदैन। द्वन्द्वको अग्रपंक्तिमा भएका मान्छेले केही लेख्छन् भने म पढ्न उत्सुक छु, तर अहिले त्यो उपलब्ध छैन। त्यतिन्जेल म चाहिं लेखिरहन्छु।
अन्त्यमा, तपाईंका मन पर्ने पुस्तक र लेखक बताइदिनुस् न।
मलाई कर्ट भोनेगट, डग्लस एडम्स, मार्गरेट एटउड, जर्ज सौन्डर्स मन पर्छ। यी यस्ता लेखक हुन् जो गम्भीर र त्रासदीपूर्ण विषयलाई सजिलो गरी लेख्छन्। श्रीलंकामा जीवन र घटना यति त्रासदीपूर्ण छन् कि केही हास्यव्यंग्य विना हामी बाँच्न सक्दैनौं। र, यस्ता कथा हास्यव्यंग्य विना लेखियो भने पढ्न पनि सकिंदैन।
जर्ज सौन्डर्सको उपन्यास लिङ्कन इन द बार्डोसँग सेभेन मुन्स अव माली अल्मेइदा धेरै कुरामा मिल्दोजुल्दो छ। सन् २०१७ मा बूकर पुरस्कार जितेको यो किताब पनि मृतात्माको संसारमा आधारित छ, र यसमा पनि थुप्रै मानिसका आवाज छन्।