चार्ल्स शोभराजलाई छोड्न र १५ दिनभित्र फ्रान्स फर्काउने व्यवस्था गर्न सर्वोच्चको आदेश
ज्यान मुद्दामा कैद सजाय भोगिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई रिहा गर्न र १५ दिनभित्र फ्रान्स फर्काउने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश दिएको हो। ज्येष्ठ नागरिकलाई दिइने कैदमुक्तको सुविधा अन्तर्गत उनको कैद मिनाह गर्ने आदेश भएको हो।
कारागार नियमावली, २०२० को नियम २९ (२ ख) मा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई असल चालचलन वा निको नहुने बिरामी भएको अवस्थामा ७५ प्रतिशत कैद भुक्तान गरेको भएमा बाँकी कैद मिनाहा गर्ने व्यवस्था छ। ७८ वर्षीय शोभराजले ९५ प्रतिशत कैद भुक्तान गरिसकेकाले उनलाई रिहा गर्नुपर्ने सर्वोच्चको ठहर छ।
यससँगै सर्वोच्चले उनलाई १५ दिनभित्र फ्रान्स फर्काउने व्यवस्था गर्न पनि आदेश दिएको छ। सर्वोच्चको आदेशमा भनिएको छ, ‘अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउने आवश्यक व्यवस्था मिलाउन समेत यो आदेश जारी गरिएको छ।’
बुधबार शोभराजका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय लोकभक्त राणा र रामबन्धु शर्मा तथा अधिवक्ताद्वय शकुन्तला थापा र निहिता विश्वासले बहस गरेका थिए। त्यस्तै, सरकारी पक्षबाट सहन्यायाधिवक्ता लोकराज पराजुलीले बहस गरेका थिए।
उनी २०६० असोज २ मा काठमाडौंको रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेका थिए। उनी पक्राउ परेसँगै हत्या र फर्जी राहदानीको अभियोगमा जिल्ला अदालत, काठमाडौंले सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो।
२०३२ पुस ६ मा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र लरेन्टको हत्या आरोप लागेपछि उनी भाग्दै आएका थिए। कोन्नी र लरेन्टको हत्याको प्रकृति एकै भएकाले कोन्नीको हत्या अनुसन्धानमा फेला परेका प्रमाण नै लरेन्ट हत्यामा प्रमाणका रूपमा प्रस्तुत गरियो।
शुरूआतमा चार्ल्सले कोन्नी र लरेन्टलाई आफूले नचिन्ने दाबी गरेका थिए। पछि प्रहरीसँगको बयानका क्रममा उनले कोन्नी र लरेन्ट एकै गेस्ट हाउसमा बस्ने गरेको जानकारी दिएका थिए।
शोभराजलाई कोन्नीको हत्यामा सर्वस्व सहित जन्मकैदको सजाय २०७१ मा भुक्तान भए पनि त्यही समय लरेन्टको हत्याको मुद्दाको कारबाही प्रक्रिया अगाडि बढेको हो। भक्तपुर अदालतले शोभराजलाई जेल सजाय सुनाएको थियो। उनी त्यस विरुद्ध तत्कालीन पुनरावेदन अदालत पुगेका थिए। पुनरावेदनले पनि भक्तपुर अदालतकै आदेश सदर गरेको थियो।
अहिले उनी लरेन्टको हत्या मुद्दामा जेल सजाय भोगिरहेका छन्।