निर्वाचनको जनादेश: अपरिहार्य गठबन्धन संस्कृति
राजनीतिक चरित्रको गठबन्धन संस्कृति अबको एक मात्र विकल्प भए पनि दलहरूका गतिविधिले त्यस्तो सुधारलाई निषेध गर्ने देखिन्छ।
निर्वाचन-२०७९ बाट प्रतिनिधि सभा र प्रदेश सभामा आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चुनिएका छन्। निर्वाचन परिणामप्रति एकाध बाहेक राजनीतिक दल सन्तुष्ट देखिँदैनन्। तर, दलहरूका दाबी र जनआकांक्षाबीचको बढ्दो खाडल हेर्दा परिणाम अनपेक्षित लाग्दैन। यो खाडल बुझ्न निर्वाचन परिणाममा निहित सङ्केत पर्याप्त छन्।
राष्ट्रिय जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको उभार, राष्ट्रिय स्वतन्त्र पार्टीको हस्तक्षेपकारी उदय र राष्ट्रिय प्रजातन्त्र पार्टीको पुनरागमन यो निर्वाचनका रोचक र समीक्षा गरिनुपर्ने पक्ष हुन् जसले भविष्यको राजनीतिक स्वरूपसम्मको केही सङ्केत गर्छन्। यस्तोमा विद्यमान राजनीतिक प्रणालीका हिमायती र आफूलाई मूलधारका ठान्ने दलहरूले आफ्नो सान्दर्भिकता जोगाउने विकल्प कठोर आत्मसमीक्षा, आन्तरिक लोकतन्त्रको अभ्यास, नेतृत्व हस्तान्तरणको द्रुतमार्ग निर्माण र संगठनको सुदृढीकरण हो।
अभिमत निर्माण र न्यून मतदान
एक अमुक मतदाता अन्य मतदातासँग कसरी जोडिन्छ र अन्तर्संवाद गर्छ भन्ने कुराले कसलाई र किन मतदान गर्ने भन्ने धारणा निर्माण गरिदिन्छ। जब संगठनमा आधारित दलहरू जनतामा आधारित बन्दै जान्छन् तब तिनका नेताको भनाइभन्दा पनि दैनिक जीवनमा उनीहरूप्रति कस्ता सङ्कथन निर्माण भइरहेछन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
खास दल वा उम्मेदवारबारे मतदाताका स्मृतिहरू निर्वाचनमा निकै असरदार हुने रहेछन्। हिजो कांग्रेस भएकै कारण पारिवारिक पीडा खेपेकाहरूले आज गठबन्धन भन्दैमा माओवादीलाई भोट हालेनन्। बरु प्रतिनिधित्वको विकल्प रोजे। दल र उम्मेदवारका समकालीन गतिविधि र तिनले देखाउने सपना अर्को महत्त्वपूर्ण पक्ष हो। दल वा उम्मेदवारको इतिहास, वर्तमान र भविष्यको कथा कसरी भनिएको वा बुझिएको छ, त्यसले पनि भोट दिने/नदिने कुरा निर्धारण गर्दो रहेछ।
यस निर्वाचनमा दलका आन्तरिक विवाद, वैचारिक विचलन र सैद्धान्तिक सीमाभञ्जन जस्ता विषयले पनि मतदानमा प्रभाव पारेको देखियो। निर्वाचन आयोगको अनुमान र स्थानीय चुनावको दाँजोमा कम मतदान हुनुमा पनि यस्तै कारण निहित छन्। यसबाहेक मतदानका लागि योग्य बनेका, १८ देखि २२ वर्ष उमेर समूहका उल्लेख्य व्यक्ति मतदाता नामावलीमा सूचीकृत नै छैनन्।
अर्को कुरा, स्थानीय निर्वाचनको दाँजोमा कमै मात्र मतदाता गाउँ फर्किए। रोजगारी र अध्ययनका लागि विदेशिनेको संख्या पनि उल्लेख्य रह्यो। साथै, निर्वाचन आयोगको प्रक्षेपणभन्दा पाँच गुणा बढी मत बदर ठहरियो। कम मतदानको सीधा अर्थ हो, निर्वाचितहरूले सीमित जनताको मात्र प्रतिनिधित्व गर्न सक्नु।
सुखद परिदृश्य एउटै अवस्थामा मात्र सम्भव छ- निश्चित र साझा मान्यतामा आधारित गठबन्धनको संस्कृति र स्थायी सरकार।
सम्भावित परिदृश्य
सरकारमा साझेदार दलहरूले चुनावी गठबन्धनलाई निरन्तरता दिने भन्दै आए पनि गठबन्धन पुनर्गठनको सम्भावना समेत उत्तिकै छ। सम्भावित सत्ता साझेदारका अनेक भनाइले नै यस्तो सङ्केत गरिरहेछन्।
पछिल्लो निर्वाचनबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ दलसामु आफूलाई व्यवस्थित राजनीतिक दलका रूपमा विकास र वैचारिक धरातल निर्क्योल गर्ने चुनौती छ। यससँगै पुराना दलभित्र आन्तरिक शुद्धीकरणका बहस हुनेछन्। यद्यपि, सकारात्मक परिणाम अपेक्षा गर्नु अलिक हतारो हुनेछ।
पाँच वर्षभित्र सम्भवतः अधिकांश दल सरकारमा सहभागी हुनेछन् र आफूलाई असफल प्रमाणित गर्नेछन्। सबै दलका घोषणापत्र वस्तुगत नभई आदर्शबाट प्रेरित देखिन्छन्। तसर्थ, ती असफल हुन अभिशप्त हुनेछन्। निर्वाचितहरूले गरेका प्रतिबद्धता पूरा गर्न झन् धेरै संरचनागत अप्ठ्यारा पार गर्नुपर्ने देखिन्छ। संसद्मा धेरै दल उपस्थित हुँदा आपसी वैरभावका कारण राष्ट्रिय महत्त्वका सवालमा एकजुट हुन गाह्रो पर्नेछ। कर्मचारीतन्त्र झनै ‘हावी’ हुनेछ। फलस्वरूप अपेक्षित कार्यसम्पादन र सेवा प्रवाहमा जटिलता थपिनेछन्।
सुखद परिदृश्य एउटै अवस्थामा मात्र सम्भव छ- निश्चित र साझा मान्यतामा आधारित गठबन्धनको संस्कृति र स्थायी सरकार। यस्तो संस्कृतिले भविष्यमा समेत पुराना दलप्रतिको आकर्षण ब्युँताउन सक्छ।
प्रतिनिधित्वको सङ्कट
निर्वाचनमा देखिएको प्रतिनिधित्व गर्ने र गरिनेको बीचको खाडलले इङ्गित गर्छ कि दलहरूमा प्रतिनिधित्वको सङ्कट छ। दलहरू कसका प्रतिनिधि हुन् भन्ने अस्पष्टता बढ्दो छ। जस्तै- नेकपा एमाले देखिने नै गरी वर्गीय धरातल स्थानान्तरणमा लागेको छ। पाँचतारे होटलमा घोषणापत्र विमोचन, कार्यक्रममा अभिजात वर्गीय ‘सेलेब्रिटी’ हरूको उपस्थिति, लर्ड अफ ड्रिंक्स जस्तो नाइट क्लबमा पार्टी अध्यक्षद्वारा र्याप गीतको लोकार्पण, कमल थापालाई सूर्य चिह्न र राजेन्द्र लिङ्देनसँग सहकार्य आदि केही उदाहरण हुन्।
एमालेको अहिलेको परिदृश्य हो- मानिसका स्मृतिमा एउटा चित्र, वर्तमानमा त्यसभन्दा भिन्न गतिविधि र आकारविहीन भविष्य। पुरानो वर्गीय धरातल छुटिसकेको वा छोड्न चाहेको, नयाँ वर्गले स्विकारिनसकेको अर्थात् यता न उताको स्थितिमा देखिन्छ एमाले।
माओवादीले पनि हिजो आफूले गर्व गर्ने इतिहासप्रतिको दायित्व र साख जोगाउन सकेको छैन। उसले अझै संसदीय प्रणालीमा पूर्ण विश्वास आर्जन गर्न सकेको देखिँदैन। उसले न हिजोका खरा र प्रामाणिक कार्यकर्ता क्रमशः टाढिँदै जाने क्रम रोक्न सकेको छ न त नयाँ समूहलाई प्रतिनिधित्व गर्ने सामथ्र्य बनाएको छ।
अहिलेका सबै दल प्रतिनिधित्वको सङ्कटमा छन्। उनीहरू कसलाई र किन प्रतिनिधित्व गर्न चाहन्छन् भन्ने स्पष्ट सैद्धान्तिक जवाफ छैन।
निर्वाचनमा सबैभन्दा ठूलो दल बन्न सफल नेपाली कांग्रेसको सङ्कट मूलतः आन्तरिक छ। आग्रह गर्ने तर विद्रोह गर्न नसक्ने नयाँ पुस्ता र अपेक्षा गर्ने तर विश्वास आर्जन गर्न नसक्ने पुरानो पुस्ताको मनोदशाबाट पार नपाउँदासम्म उसलाई सबैभन्दा ठूलो दलको हैसियत कायम राखिरहन मुश्किल पर्नेछ। यद्यपि, वर्गीय र वैचारिक प्रतिनिधित्वको सवालमा कांग्रेस खासै सङ्कटमा देखिँदैन। तर, सत्ताप्राप्तिका लागि जस्तोसुकै गठबन्धन र निर्णयका लागि तयार हुने चरित्रले उसको राजनीतिक चतुर्याइँभन्दा निरीहता प्रदर्शन गर्छ।
पुराना ‘मधेशवादी’ दलहरूले मधेशका मुद्दा र आवेगलाई प्रतिनिधित्व गर्न नसक्दा जनमत पार्टी राष्ट्रिय दलका रूपमा उदायो। यस क्रममा राजेन्द्र महतो, उपेन्द्र यादव जस्ता ‘सिजन्ड’ राजनीतिज्ञले चुनाव त हारे नै, तिनले नेतृत्व गरेका दलले अपेक्षित सफलता पनि पाउन सकेनन्। नागरिक उन्मुक्ति पार्टी पनि विद्यमान दलहरूमा रहेको प्रतिनिधित्वको सङ्कटबाटै उदाएको हो।
हालका राजनीतिक उपलब्धिलाई अस्वीकार गर्दै आएको राप्रपा राजतन्त्र, हिन्दू धर्मसापेक्ष र एकात्मक राज्य व्यवस्था चाहन्छ। यिनै अजेन्डाको निरन्तरता नै उसको सीमितता हो। राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक दलको स्वरूप ग्रहण गर्नुअघि नै हस्तक्षेपकारी भूमिका पाएको छ। सत्तामोहमा फस्ने सम्भावना तथा अभियन्ताको जोश र व्यावहारिक राजनीति एवं संसदीय पद्धतिबीचको खाडल बुझ्न आलटाल गरे उनीहरू छिट्टै सङ्कटग्रस्त बन्नेछन्। पार्टीलाई वैचारिक, सैद्धान्तिक धरातलसँगै कस्तो प्रतिनिधित्व चाहेको हो भन्ने स्पष्ट पार्नुपर्ने चुनौती पनि छ। अन्यथा, अहिलेको शानदार उपस्थिति काकताली सावित हुनेछ।
अहिलेका सबै दल प्रतिनिधित्वको सङ्कटमा छन्। उनीहरू कसलाई र किन प्रतिनिधित्व गर्न चाहन्छन् भन्ने स्पष्ट सैद्धान्तिक जवाफ छैन। यस्तो प्रतिनिधित्वको सङ्कट फरक स्वरूपमा देखा पर्ला, तर केही अवधिसम्म निरन्तर रहने सम्भावना छ।
अबको बाटो
प्रतिनिधित्व सङ्कटकोे वर्तमान अवस्थामा केही व्यक्तिले वकालत गरे जस्तो दुई दलीय व्यवस्था सम्भव देखिन्न। दुई वा सीमित राष्ट्रिय दलको परिकल्पना त्यति वेला मात्र सम्भव हुन्छ जब दलहरू सहभागितामूलक, पूर्ण समावेशी, लोकतान्त्रिक, पारदर्शी, कार्यकुशल बन्दै जनताका आवश्यकता, पहिचान र आवेग बुझ्ने सामर्थ्य राख्छन्। सैद्धान्तिक एवं व्यावहारिक रूपमै तिनको प्रतिनिधित्व गर्न सक्छन्।
संगठन निर्माण प्रक्रिया, लोकतन्त्रप्रतिको अल्पनिष्ठा, नेतृत्वको अलोकतान्त्रिक र परम्परावादी सोच र वैचारिक दिवालीयापनको वर्तमान परिदृश्यमा दलहरू देशका विविध पहिचान, क्षेत्रीय आयाम, आवेग, मुद्दा र सपनाको प्रतिनिधित्व गर्न समर्थ देखिँदैनन्। तसर्थ, दुई वा सीमित दल मात्रको परिकल्पना यथार्थमा आधारित छैन।
गठबन्धनलाई सत्ता आसक्तिबाट बढेर राजनीतिक संस्कृति निर्माण र विकासमा उपयोग गर्नुकोे विकल्प हाललाई उपलब्ध छैन। विडम्बना, दलहरूकै गतिविधिले त्यस्तो अपेक्षित सुधारलाई निषेध गर्ने देखिन्छ। दलहरूमा हुने सत्ताको छटपटी तर अस्तव्यस्त पार्टी पंक्ति र वैचारिक असहमतिप्रति चरम असहिष्णु प्रवृत्ति निरन्तर रहँदासम्म उनीहरू झनै साँघुरिनेछन्। यो सबै दलको हकमा उत्तिकै सत्य हो।
यद्यपि, सुध्रिन र सुदृढ हुने अधिकतम अवसर, सम्भावना र सुविधा नेपाली कांग्रेस र नेकपा (एमाले)लाई जति अरूलाई छैन। उनीहरूप्रतिको हालको वितृष्णा वा नेताप्रतिको असन्तुष्टि र आक्रोश न उनीहरूले अवलम्बन गर्छौं भनेको विचारप्रतिको अविश्वास हो न त हालको राजनीतिक उपलब्धिप्रतिको असन्तुष्टि। आगामी पाँच वर्षका लागि राजनीतिक चरित्रको गठबन्धन संस्कृतिको अवलम्बन नै एक मात्र विकल्प हो।
(ढकाल मानवशास्त्री हुन्। हिमालको २०७९ पुस अङ्कबाट।)