कतार विश्वकप: कसले जित्यो, कसले हार्यो?
कतारको दोहा वरपरका आठ वटा रङ्गशालामा आयोजित फिफा विश्वकप २०२२ का ६४ मध्ये फाइनल खेलको रोमाञ्च अधीर बनाउने खालको थियो।
समूह चरण पनि उल्लेखनीय रह्यो। एकपछि अर्को आश्चर्य भए। मोरक्को तिलस्मी ढङ्गबाट सेमिफाइनलसम्म पुग्यो।
कतार विश्वकप अर्जेन्टिनाका स्टार लियोनल मेसीले लगे भने फ्रान्सका किलियन एम्बापेले गोल्डेन बलमा चित्त बुझाउनुपर्यो। एम्बापे विश्वकपको इतिहासमा फाइनलमा ह्याट्रिक गर्ने जेफ्री हस्टपछिका दोस्रा खेलाडी भए।
इङ्ल्यान्डका हस्टले सन् १९६६ को विश्वकप फाइनलमा पश्चिम जर्मनी विरुद्ध ह्याट्रिक गरेका थिए। इङ्ल्यान्डले पश्चिम जर्मनीलाई ४–२ गोल अन्तरले हराउँदै विश्वकप जितेको थियो।
खेलबारे अनेकौं कुरा भएका छन्, र प्रतियोगितामा को विजयी भए र को पराजित भए भन्ने यकीन गर्नु निश्चय नै अपजसको काम हो। यद्यपि, केही स्मरणयोग्य प्रसङ्गहरूको चर्चा गरौं।
पराजय: २०२६ को समूह चरण
फिफा अध्यक्ष जियानी इन्फेन्टिनोले कतारमा धेरै अर्थहीन कुरा गरे। उनले जेजति भने पनि एउटा कुरा भने सही थियो। त्यो के भने, यो विश्वकपको समूह चरण अहिलेसम्मकै ठूलो थियो।
तेस्रो दिनको म्याचमा अभूतपूर्व नाटक प्रदर्शन भए, प्रत्येक सेटको अन्तिम अवस्थामा आश्चर्यजनक परिणाम देखिए। सधैं ३२ टोलीको समूह अनुसार नै खेल खेलाइने गरिन्छ। यसले मारामारको जोखिमलाई घटाउँदै फाइनल चरणमा रोमाञ्चक स्पर्धाको बाटो खोल्छ। साथै, यसले १६ वटा टोलीलाई सहज मैदान उपलब्ध गराउने सुविधा पनि दिन्छ।
यो कुरा फिफाले हाल आएर मात्र महसूस गरेको छ। आफ्नै अन्तर्ज्ञानले प्रेरित फिफाले सन् २०२४ मा छनोट चरणमा ४८ देशलाई सहभागी गराउने भएको छ। यसो गर्नु भनेको समाधान गर्नुपर्ने नयाँ समस्या थपिए जस्तै हो। तीन टोली रहने १६ समूह बनाउने योजना रहेको भए पनि अध्यक्ष इन्फेन्टिनोले यसमा पुनर्विचार गर्नुपर्ने आवश्यकता देखेका छन्, किनभने चार वटा टोलीको एउटा समूह हुँदा उत्कृष्ट हुन्छ।
यद्यपि, उपलब्ध सबैभन्दा सजिलो समाधान के हो भने डरलाग्दो खाकाको पुनःस्थापना गर्नु हो, जसमा केही ‘उत्कृष्ट’ टोली जो तेस्रो स्थानमा छन्, तिनले पनि ‘नकआउट’ चरणमा प्रवेश पाउँछन्। यसो हुँदा पनि तेस्रो दिनको प्रतियोगितामा केही व्यर्थको खेल हुने समस्या सम्बोधन हुँदैन। यो योजना पूरै गोलमटोल छ, र यो फिफाको दोष हो।
विजयी: किलियन एम्बापे
एम्बापे कीर्तिमानको नयाँ किताब लेख्न स्वर्गबाटै खटाइएको प्राकृतिक गुणयुक्त व्यक्तित्व हुन्। डिडियर डेसच्याम्पले ‘विश्वकप एम्बापेको प्रतिस्पर्धा हो’ भन्नु सही नै हो।
विश्वकप खेलहरूमध्ये सबैभन्दा भव्य मञ्च हो र एम्बापेले यो मञ्चमा सजिलै आफ्नो प्रदर्शन गरे। उनले कहिल्यै आफ्नो भूमिकालाई खेलाँची ठानेनन्। कहिल्यै पनि त्यस्तो हुन दिएनन्।
यसबारे पुनर्विचार गरौं, के तपाईंलाई उनले अर्जेन्टिना विरुद्ध प्रहार गरेका तीन वटा पेनाल्टीमा एउटा पनि खेर फाल्लान् भन्ने लाग्यो? अझ त्योभन्दा पनि बढ्ता त जब बल उनका लागि ९५ सेकेन्ड मात्र उपलब्ध भयो, त्यो वेला सबैलाई थाहा थियो कि यिनले गोल गरेरै छोड्छन्।
एम्बापे अद्वितीय छन्। यदि उनी स्वस्थ रहे भने इतिहासमा उनी एक महान् खेलाडी बन्नेछन्।
पराजय: रोनाल्डोको ख्याति
पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भए। विश्वकप २०२२ ले क्रिस्टियानो रोनाल्डोलाई दिएको यो एउटा सुखद परिणति थियो।
तर, अब आउने प्रशिक्षकले पनि अहिले कतारमा बेन्चमा राखिए जस्तै सक्दो प्रयास नगर्ने खेलाडी विना नै टोलीले उम्दा खेल खेल्न सक्छ भन्ने नसोच्लान् भन्ने के ग्यारेन्टी? ओल्ड ट्र्याफोर्डका प्रशिक्षक एरिक टेन ह्यागले विगतमा यस्तै गरेका थिए।
यो प्रतियोगिता रोनाल्डोका लागि सङ्कटमोचक हुने अपेक्षा थियो। रोनाल्डोमा अझै उच्च खेल क्षमता छ भन्ने आशा गरिएको थियो। तर, सबैको अपेक्षाका विपरीत उनको नाटकीय पतन हुन पुग्यो। उनलाई यो हदको व्यवहार गरिन जरुरी पनि थिएन।
कतारमा रोनाल्डो फिट हुन सकेनन्, किनभने उनले म्यान्चेस्टर युनाइटेडमा हुँदै आफ्नो ख्यातिलाई बदनाम बनाइसकेका थिए। अनि उनले शीघ्र नै सान्तोससँग वैर साँधे र एक महान् खेलाडीका रूपमा रहेको प्रतिष्ठा धुवाँ बनेर उड्यो।
जो मान्छे सम्मानबारे धेरै कुरा गर्छ, उसैले कतारमा कसैलाई पनि सम्मान गरेन। न प्रशिक्षकलाई, न त आफ्नो टोलीका सदस्यलाई, न प्रतिद्वन्द्वीलाई, न त आफ्ना समर्थकलाई नै। अहंले आखिरमा बर्बाद गराइछाड्छ भन्ने यहाँ पनि देखियो।
विजयी: अजेन्टिनाका समर्थक
यो विश्वकपको उत्कृष्ट समर्थक कुन टोलीका हुन् त? सबैभन्दा सफासुग्घरी समर्थक जापानका देखिए, जसले खेलपछि रङ्गशाला सफा गर्न सघाए। त्यस्तै, बेलायती समर्थकलाई पनि विशेष मान्नुपर्ने हुन्छ। विगतमा हुल्याहा मानिने बेलायती समर्थक यस पटक भने एकै जना पनि पक्राउ परेनन्।
तर, जो मोरक्कोको खेलमा उपस्थित थिए, उनीहरूले थाहा पाएको हुनुपर्छ कि घण्टौं पछिसम्म पनि कानमा सिठीको प्रतिध्वनि गुन्जिरहेको थियो। जब आफ्नो टोलीले बल पायो, तब प्रत्येक सेकेन्ड सबै जना एकबद्ध भएर सिठी फुकिरहे। जसले टोलीलाई ‘काउन्टर अट्याक्क’ गर्ने ऊर्जा दिइरह्यो। समर्थनको दृष्टिले भने यस पटकको प्रतियोगिता अर्जेन्टिनाको पक्षमा गएको थियो।
पराजय: आर्सन वेङगर
आर्सन वेङगरलाई फूटबलको क्षेत्रमा सम्मानका साथ हेरिन्थ्यो, अब त्यो अवस्था रहेन। फिफाको संसारभरको फूटबल विकास हेर्ने गरी जागीरे बनेका आर्सनल फूटबल क्लबका म्यानेजरले गत साता मात्र खेलाडीको कल्याणका विषयमा नकारात्मक टिप्पणी गरे।
अझ त्योभन्दा पनि अघि बढेर जर्मनी र डेनमार्क बाहिरिंदै गर्दा कतारबारे राजनीतिक टिप्पणी गर्ने टोलीले खेल्न चाहिं नसकेको अभिव्यक्ति दिएर आफ्नो मूर्खता प्रदर्शन गरे।
उनले मोरक्कोको ऐतिहासिक विजयलाई पूर्णतया बेवास्ता गरे, जसले प्यालेस्टाइनी जनताको अवस्थालाई उजागर गर्ने हरसम्भव प्रयास गरेको थियो। यो उनको हरेक दुई वर्षमा विश्वकप आयोजना गर्नुपर्छ भन्ने तर्क जस्तै बेतुकको थियो।
विजयी: लुका मोडरिक
४० लाख जनसंख्या भएको क्रोएशिया सन् २०१८ को रसियामा आयोजित विश्वकपमा दोस्रो भएको थियो भने कतारको २०२२ विश्वकपमा तेस्रो हुन पुग्यो। क्रोएशियाको जादुमयी प्रदर्शनको पछाडि लुका मोडरिकको हात थियो। ३७ वर्षीय मिडफिल्डर मोडरिक प्रशिक्षक जलात्को दालिचले भने जस्तै ‘२० वर्षे उत्साहका साथ खेलिरहेका’ छन्।
उनी प्राविधिक दृष्टिले मात्र उम्दा होइन, मिडफिल्डमा बल खोस्ने मानवीय ‘डाइनामो’ लाई सम्झाउने खालका छन्। “केहीले ठानेका छन् कि यो नै उनको खेलको अन्त्य हो,” क्रोएशियाका प्रशिक्षक दालिचले भने, “मलाई लाग्छ, उनी हामीसँग अझ लामो समयसम्म रहनेछन्।” आशा गरौं, त्यस्तै होला, किनभने उनको खेल हेर्न पाउनु पनि एउटा विशेष सुविधा पाउनु सरह हो।
पराजय: जर्मन फूटबल
कतार विश्वकपमा जर्मन टोली केमा चुक्यो? सबै कुरामा। “हामीले सजिलै गोल हुन्छ भन्ठान्यौं,” कप्तान इलकाई गुन्डोगानले भनेका छन्, “हामीले बल पनि सजिलै गुमायौं र गोल गर्ने मौका पनि सजिलै गुमायौं।”
टोली र व्यक्तिगत रूपमा पनि राम्रो गर्न नसकेको उनको स्वीकारोक्ति छ। “जर्मन टोलीका रूपमा हामीले एउटा बेग्लै आकांक्षा राख्नुपर्ने थियो र हामीले आफूलाई राम्रोसँग समीक्षा गर्नुपर्ने थियो,” उनले भनेका छन्, “हामीले न टोलीको हिसाबले राम्रो गर्न सक्यौं न त व्यक्तिगत रूपमा नै राम्रो गर्न सक्यौं।”
जर्मन खेलाडीले जति गर्नुपर्ने हो, त्यति गर्न नसकेको उनको भनाइ छ। उनी भन्छन्, “हामी सबैले यसो हुनुको कारण के थियो भन्ने सोध्नुपर्छ र ऐनामा हेरेर आफैंलाई जति गर्न सकिन्थ्यो, त्यति गरिएन भन्नुपर्ने हुन्छ।”
पराजित: नेयमार
यो विश्वकपमा ब्राजिलका स्टार नेयमारले चोट मात्र पाए, अरू केही पाउन सकेनन्। सन् २०१४ को विश्वकपमा उनी हल न चलको स्थितिमा पुगेका थिए। सन् २०१८ को रसिया विश्वकपमा उनले गरेको नाटकीय व्यवहारको सर्वत्र आलोचना भएको थियो।
कतार विश्वकप २०२२ मा भने उनी ब्राजिलले खेलेको पहिलो खेलमै घाइते भए। जसै क्रोएशिया विरुद्ध शानदार गोल गरे, विगतका सबै कहानीलाई उल्टाइदिए। क्रोएशिया विरुद्धको उनले गरेको गोल उत्कष्टमध्येको एक थियो। यो गोलसँगै उनी ब्राजिलको कीर्तिमानी गोलकर्ताको रेकर्ड राख्न पनि सफल भए।
यद्यपि, यस पटकको उनको विश्वकप यात्रा आँसुमा आएर टुङ्गियो। “तिम्रो ख्याति टुङ्गिन अझ धेरै बाँकी छ,” पेलेले नेयमारलाई सान्त्वनाका शब्द भने। पेलेको आश्वासन उत्साह दिने एउटा प्रयास हो। तर, अवस्था उनको पक्षमा रहेको देखिंदैन, किनभने उनी अभिशप्त हुन बाध्य छन्।
विजयी: फ्रान्सको लडाकु उत्साह
फ्रान्सको एउटा पूर्ण खेलको यादगार प्रदर्शन देख्न पाइएन। कुनै पनि प्रतिद्वन्द्वीलाई ९० मिनेटसम्म र्याखर्याख्ती पार्न सकेको पनि देखिएन। फ्रान्सेली खेलाडीले खण्ड खण्डमा राम्रो खेले।
इङ्ल्यान्ड विरुद्धको खेलमा पनि त्यस्तै देखियो भने अर्जेन्टिनासँग पेनाल्टीसम्म पुग्नुपर्यो। फ्रान्सले विश्वस्तरका खेलाडीलाई गुमाएको अवस्था थियो, एन्गोलो कान्टे, पउल पोग्बा, करिम बेन्जेमाले खेल्न पाएनन्।
अनि विश्वकप प्रतियोगिता शुरू हुँदै गर्दा लुकास हेर्नान्डेज घुँडाको चोटले ग्रस्त भए, खेलको एक साताअघि मात्र टोली भाइरसले ग्रसित भयो। यसले फ्रान्सको सबलतालाई गहिरोसँग परीक्षण गर्यो, साथमा उनीहरूको लडाकू उत्साह र सीमाहीन लचकताको परीक्षण थियो। तर, उनीहरू लगातार दोस्रो जित हासिल गर्नबाट चुके। फ्रान्सको टोलीले ट्रफी घर लान नपाए पनि यस पटक च्याम्पियन टोलीका रूपमा रह्यो।
विजयी: लियोनल मेसी
अर्जेन्टिनाका कप्तान लियोनल मेसी किन अन्तर्राष्ट्रिय फूटबल प्रतियोगितामा रहन चाहन्छन् भन्ने बुझ्न गाह्रो छैन। उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलेभन्दा धेरै जमेका छन्। गत १८ महीनाको स्थिति हेर्ने हो भने उनले हासिल गरेका सफलता मात्र होइन, सहकर्मी लियोनेल स्कोलानी र साथीहरूसँग बेजोड संयोजन गर्न सकेका छन्।
यद्यपि, मेसीले खेलिरहन आवश्यक थिएन। उनले आफूले गर्न सक्ने र गर्नुपर्ने जति सबै गरे। त्यसमा विजयी भएर देखाए पनि। क्लबस्तरीय महत्त्वपूर्ण सफलता बाहेक पनि केही अंशमा उनलाई अन्तर्राष्ट्रिय सम्मान नपुगेको ठान्नेहरू पनि छन्। कोपा अमेरिकापछि विश्वकपको उपाधि जिते। आखिरमा मेसीले फूटबललाई पूर्ण बनाए!
(गोल डट कममा प्रकाशित मार्क ड्वेलको रिपोर्टको महेश्वर आचार्यले गरेको भावानुवाद।)