पशुपतिशमशेर जबराले लिए ज्येष्ठ सदस्यको शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपतिशमशेर जबरालाई ज्येष्ठ सदस्यका रूपमा शपथ खुवाएकी छन्।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जबरालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ।
जबरा सबैभन्दा ज्येष्ठ सदस्य हुन्। उनको जन्म १९९८ मंसीर २४ गते भएको संसद् सचिवालयको रेकर्डमा उल्लेख छ।
त्यसपछि ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ। संसद् सचिवालयले मंसीर ७ गते प्रतिनिधि सभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ।