मधेश प्रदेशका नयाँ सांसदलाई ल्यापटप बाँड्ने तयारी
मधेश प्रदेश सभाका नवनिर्वाचित सांसदलाई ल्यापटप वितरण गरिने भएको छ।
अहिले प्रदेश सभा सचिवालय प्रदेश सभा सदस्यको शपथको तयारीमा जुटेको छ। प्रदेश सभा सदस्यलाई शपथ ग्रहणसँगै प्रदेश सभाको लोगो र संविधान प्रदान गरिने भएको छ।
प्रदेश सभा सञ्चालन नियमावली केही समयपछि प्रदान गरिने भएको छ। प्रदेशको बैठकले प्रदेश सभा सञ्चालन नियमावली संशोधन गर्ने सम्भावना भएकाले त्यसपछि मात्रै वितरण गरिने सचिवालयले जनाएको छ।
त्यस्तै, शपथ ग्रहणको एक महीनापछि प्रदेश सभा सदस्यले नयाँ ल्यापटप पाउने भएका छन्। सांसदका लागि ल्यापटप खरीद प्रक्रिया थालिएको छ।
यसका लागि प्रदेश सभा सचिवालयले टेन्डर आह्वान गरेको छ। “ल्यापटप वितरणका लागि टेन्डरको सूचना निकालिएको छ। एक महीना जतिमा सबै प्रक्रिया पूरा भएपछि नयाँ सांसदलाई ल्यापटप वितरण गर्छौं,” प्रदेश सभाका सचिव रञ्जित यादवले भने।
मधेश प्रदेश सभामा १०७ सदस्यीय छ। सबै सांसदका लागि १०७ वटा ल्यापटप खरीद गर्न लागिएको हो।
यसअघि पनि प्रदेश सभा सदस्यलाई ल्यापटप प्रदान गरिएको थियो। त्यति वेला एउटा ल्यापटपको मूल्य भ्याट बाहेक एक लाख १७ हजार ९७५ रुपैयाँ परेको थियो।
डेल कम्पनीको ३३९० मोडेलको ‘टू इन वान, स्क्रिन टच’ ल्यापटप किनिएको थियो। त्यति वेला ११८ वटा ल्यापटप र सर्भर खरीद गर्न एक करोड ५९ लाख खर्च भएको थियो।
त्यति वेला वितरण गरिएको ल्यापटप भने फिर्ता मागिएको छैन। ती ल्यापटपको तीन वर्ष ग्यारेन्टी थियो। अहिले फेरि नयाँ प्रदेश सभा सदस्यका लागि ल्यापटप खरीद गर्न लागिएको हो।
अघिल्लो प्रदेश सभा सदस्यलाई दिएको ल्यापटप फिर्ता लिंदा काम नलाग्ने अवस्थामा हुन सक्ने भएकाले फिर्ता नगर्ने गरी वितरण गरिएको प्रदेश सभा सचिव यादवले बताए। उनका अनुसार, नयाँ सांसदलाई पनि फिर्ता नलिने गरी ल्यापटप वितरण गरिनेछ।
ल्यापटप खरीद गर्न प्रदेश सभाले निकालेको सूचना: