बाघको कथा
हाम्रा संरक्षणविद् तथा प्राणीशास्त्रीहरू बाघको संरक्षण, संख्या वृद्धि लगायत पाटोमा मात्र सीमित हुँदा यसको उद्विकास, विस्तार जस्ता विषयमा अनुसन्धान र जानकारीको कमी छ।
‘बिग क्याट’ समूहमा पर्ने बाघ, सिंह, जगुआर, चितुवा र हिउँ चितुवा प्यान्थेरा जातिका जनावर हुन्। बाघको नजिकको नातेदार हिउँ चितुवा हो। प्यान्थेराको लोप भएका अन्य ६ प्रजातिको जीवाश्म हालसम्म भेटिएका छन्। तीमध्ये २१ लाख वर्षअघि अस्तित्वमा रहेको प्यान्थेरा जेडान्स्कीलाई बाघको पूर्वज मानिन्छ। बाघ र हिउँ चितुवाका पूर्वज करीब ३० लाख वर्षअघि अलग भएका थिए।
करीब आधा शताब्दीअघिसम्म बाघ एशियाको दक्षिण–पश्चिमी भूभाग एनाटोलियादेखि रसियाको दक्षिण-पूर्वी तथा चीनको उत्तर–पूर्वी भेगसम्म र दक्षिणमा हिमालयको फेदबाट इन्डोनेशियाको बालीसम्म फैलिएको थियो। तर, २०औं शताब्दीको उत्तरार्द्धतिर बाघ अत्यधिक मारिँदा यसको संख्या ९३ प्रतिशतसम्म घट्यो। पश्चिम, मध्य र दक्षिण–पूर्वी एशिया, चीनका बाघ रहने ठूला क्षेत्र तथा जाभा र बालीका टापुहरूमा बाघ लोप भए। नेपालको कोशीपूर्वमा बाघ त्यसै वेला मासिएको हो।
नेपाली, हिन्दी लगायत भाषामा प्रचलित ‘बाघ’ संस्कृतबाट अपभ्रंश भई बनेको शब्द हो। संस्कृत भाषामा बाघलाई व्याघ्र र बघिनीलाई व्याघ्री भनिन्छ। बाघको वैज्ञानिक नामकरणको कथा रोचक छ। सन् १७५८ मा स्वीडेनका प्राणीशास्त्री एवम् वनस्पतिविद् कार्ल लिन्नियसले यसको नाम फेलिज टिग्रिस राखेका थिए। नामकरणमा दक्षिण-पश्चिम एशियास्थित टिग्रिस नदीको नाम प्रयोग गरियो, जसले उक्त नदी आसपासको क्षेत्रबाट बाघको छाला तथा अस्थिपञ्जरको नमूना लिइएको सङ्केत गर्छ। सन् १९२९ मा बेलायतका प्राणीशास्त्री रेजिनाल्ड इन्स पोकोकले बाघलाई फेलिज जातिबाट प्यान्थेरामा स्थानान्तरण गरे। जस अनुसार बाघको वैज्ञानिक नाम प्यान्थेरा टिग्रिस हुन पुग्यो। सन् १७५८–१९१२ को अवधिमा प्राणीविद्हरूले बाघलाई पाँच उपप्रजातिमा वर्गीकरण गरेका थिए। सन् १९२९ देखि २००४ को बीचमा बाघका थप तीन उपप्रजाति थपिए। तर, जर्मन वैज्ञानिक एन्ड्रियास विल्टिङ र अरूहरूले आनुवंशिक अध्ययन नतीजाका आधारमा सन् २०१५ मा बाघलाई केवल दुई उपप्रजातिमा वर्गीकरण गरे। उक्त नतीजालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)को क्याट स्पेशलिस्ट ग्रूपले सन् २०१७ मा अङ्गीकार गर्यो। यी दुई उपप्रजातिबारे क्रमशः चर्चा गरौं।
कन्टिनेन्टल बाघ
रसिया, चीन, पाकिस्तान, भारत, नेपाल, भुटान, कोरिया, इन्डो–चाइना, मलाया प्रायद्वीपसम्म पाइने बाघलाई कन्टिनेन्टल टाइगर अर्थात् महादेशीय बाघ भनिन्छ। यो उपप्रजातिको वैज्ञानिक नाम प्यान्थेरा टिग्रिस टिग्रिस हो। कन्टिनेन्टल बाघमा छुट्टाछुट्टै उपप्रजाति मानिएकाहरू बंगाल बाघ, क्यास्पियन बाघ, अमुर (साइबेरियन) बाघ, चिनियाँ बाघ, इन्डो–चाइना बाघ र मलयन बाघ हुन्।
डाइभर्सिटी एन्ड डिस्ट्रिब्युसन्स जर्नलमा सन् २०१६ मा प्रकाशित लेख ‘प्रेडिक्टेड प्लाइस्टसिन- होलेसिन रेन्ज शिफ्ट्स अफ द टाइगर’ मा भारतीय उपमहाद्वीपमा बाघको चहलपहल १२ हजारदेखि साढे १६ हजार वर्ष पहिलेबाट शुरू भएको उल्लेख छ। क्याट न्यूज म्यागेजिनमा सन् २०१० मा प्रकाशित लेख ‘स्टेटस अफ द टाइगर इन चाइना’ अनुसार, बंगाल बाघ पहिले दक्षिण र सुदूर दक्षिण–पूर्वी तिब्बतमा २,५०० मिटरभन्दा कम उचाइमा पाइन्थ्यो।
तिब्बतमा हाल मेदोग काउन्टीमा मात्र बंगाल बाघ पाइन्छ। चिनियाँ अनुसन्धानकर्ताले सन् २०१९ मा क्यामेरा ट्र्यापबाट अनुसन्धान गर्दा मेदोगमा ३,६३० मिटर उचाइमा बंगाल बाघ देखिएको थियो।
भुटानमा ४,२०० मिटर उचाइसम्ममा क्यामेरा ट्र्यापबाट बंगाल बाघको तस्वीर खिचिएको छ। सिक्किममा पनि सन् २०१९ मा क्यामेरा ट्र्यापबाट ३,६०० मिटर उचाइमा बाघ देखिएको थियो। नेपालमा भने सन् २०२० मा अन्तर्राष्ट्रिय संस्था रेडपान्डा नेटवर्कले इलाममा ३,१६५ मिटरमा बाघको तस्वीर क्यामेरा ट्र्यापबाट कैद गरेको थियो। यो नै नेपालमा अहिलेसम्म सबैभन्दा अग्लो भूभागमा बाघ देखिएको हो। भारतीय उपमहाद्वीपको बाघ अन्यत्र पाइने बाघको तुलनामा ठूलो र तौल २५८ किलोसम्मको हुन्छ।
बंगाल बाघपछि दोस्रो ठूलो बाघ क्यास्पियन बाघ थियो। टर्की, उत्तरी इरान, मेसोपोटामिया, ब्ल्याक सी र क्यास्पियन सीको मध्यभाग ककेसस्, उत्तरी अफगानिस्तान, दक्षिण–पश्चिम चीनको सिन्जिङमा पाइने बाघलाई क्यास्पियन बाघ नाम दिइएको थियो। यो बाघ युक्रेन र यसको सीमावर्ती रसियामा सन् १९७० को दशकसम्म पाइन्थ्यो। तर, वन विनाश, बाघ मार्ने प्रचलन र आहारा अभावका कारण उल्लिखित सबै भूभागबाट २०औं शताब्दीको अन्त्यसम्ममा उक्त बाघ लोप भयो।
नेपालमा कन्टिनेन्टल बाघ ३५५ जति छ। चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी १२८ वटा छन्। त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ तथा पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटामा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेको सरकारी तथ्याङ्क छ। गत मंसीरमा वन्यजन्तु फोटोग्राफर उत्सवजंग थापाले चितवनमा बाघका दुई डमरुको तस्वीर कैद गरेका छन्। ती डमरु तीन महीनाका थिए। नेपालमा प्राकृतिक बासस्थानमा खिचिएको यति सानो डमरुको यो दुर्लभ तस्वीर हो।
संसारको १०औं लामो अमुर नदी रसियाको सुदूरपूर्वी भागबाट शुरू भएर उत्तरी चीन हुँदै जापानको उत्तरी भाग नजिकै समुद्रमा मिसिन्छ। यो नदीको नामबाट उक्त क्षेत्रमा पाइने बाघलाई अमुर बाघ नाम दिइएको छ। साइबेरियन बाघ पनि भनिने यो तेस्रो ठूलो बाघ हो। १९औं शताब्दी अन्त्यतिर तीन हजार हाराहारीमा रहेको यो बाघको संख्या २०औं शताब्दीको अन्त्यमा ६०० वटामा खुम्चियो। सन् २०१९ मा त यसको संख्या ४११ मा सीमित भयो।
मध्य तथा पूर्वी चीनमा पाइने बाघलाई चाइनिज बाघ भनिन्छ। यो बाघको वासस्थान ताइवान पश्चिम र हेनानको उत्तरी क्षेत्र थियो। सन् १९४९ ताका चीनमा करीब चार हजार हाराहारी संख्यामा रहेको थियो। चीनमा बाघलाई खेतीपातीका लागि प्रतिकूल मानियो र सन् १९५० देखि एक दशकको बीचमा करीब तीन हजार बाघ सरकारद्वारा मारिए। त्यस वेला जङ्गलबाट ६ वटा बाघ चिडियाखानामा लगिएका थिए। तीबाट प्रजनन भएर पछिल्लो समय १४४ वटा पुगेको छ। यो बाघ प्राकृतिक वासस्थानमा भने एउटा पनि छैन।
दक्षिण-पूर्वी चीन, थाइल्यान्ड, लाओस, बर्मा र भियतनाममा पाइने बाघलाई इन्डो-चाइनिज बाघ भनिन्छ। सन् २०१९ सम्म यो बाघ थाइल्यान्ड, बर्मा, भियतनाम र लाओसमा क्रमशः १८९, २२, पाँच र दुई वटा थिए। यस्तै, मलेशिया प्रायद्वीपमा पाइने बाघलाई मलयन बाघ भनिन्छ। यसलाई साउदर्न इन्डो-चाइनिज बाघ पनि भनिन्छ। मलयन बाघ आकारमा कन्टिनेन्टल बाघमध्ये सबैभन्दा सानो हुन्छ। सन् २०१८ मा मलयन बाघको संख्या अनुमानित २५० जति रहेकोमा अहिले १५० हाराहारीमा जीवित छन्।
सुन्डा बाघ
इन्डोनेशियाको सुन्डा द्वीपमा पाइने बाघलाई सुन्डा बाघ भनिन्छ। यो उपप्रजातिको वैज्ञानिक नाम प्यान्थेरा टिग्रिस सोन्डाइका हो। यसलाई पहिले छुट्टै उपप्रजाति सुमात्रन भनिन्थ्यो। यस्तै, इन्डोनेशियाको बाली द्वीपमा पाइने बाली बाघलाई पनि छुट्टै उपप्रजाति मानिन्थ्यो, जुन सन् १९५० को दशकमा लोप भयो। सन् २०१५ मा प्रकाशित लेख अनुसार, बाली र सुन्डा एकै उपप्रजाति हुन्। यस्तै, इन्डोनेशियामा पाइने अर्को किसिमको बाघलाई जवन उपप्रजाति मानिएको थियो। सन् १९७० दशकपछि लोप भएको उक्त बाघलाई पनि सुन्डा उपप्रजाति नै मानिएको छ। इन्डोनेशियामा सुन्डा बाघ करीब ४०० वटा रहेको बताइन्छ।
मोलिक्युलर बायोलोजिक एन्ड इभोलुशन जर्नलको भाग ३८ अङ्क ६ (फेबु्रअरी २०२१) संस्करणमा प्रकाशित लेख अनुसार, बाघका उपप्रजाति करीब २० हजार वर्षअघि छुट्टिएका हुन्। यसबाट अनुमान लगाउन सकिन्छ, २० हजार वर्षअघिसम्म वन्यजन्तु रसियाबाट मलाया द्वीप हुँदै इन्डोनेशियासम्म सजिलै आवतजावत गर्न सक्थे। तर, त्यसपछि समुद्र सतह बढेसँगै उताको बाघ यता आउन र यताको बाघ उता जान सकेनन्। फरक भूगोलमा घुलमिल तथा अनुकूलन हुँदा यहाँको बाघ कन्टिनेन्टल बाघभन्दा आनुवंशिक रूपमा केही भिन्न हुन पुग्यो। शारीरिक संरचनामा खासै भिन्न नभए पनि कन्टिनेन्टल बाघको तुलनामा सुन्डामा पहेंलोपन कम हुन्छ। कालो धर्सा पनि अलि बढी हुने रहेछ। यसको भालेको तौल बढीमा ७५ देखि १४० किलोसम्म हुन्छ। जबकि, कन्टिनेन्टल पोथी बाघको तौल नै १०० देखि १८१ किलोसम्म हुन्छ।
उल्लिखित जर्नलको लेख अनुसार, अमुर (साइबेरियन) र सुमात्रन अर्थात् सुन्डा बाघका वंशाणु जोगाउनुपर्ने अवस्था छ। वंशाणुमा विविधता कम छ। तिनीहरूमा सीमित क्षेत्र तथा नजिकको नाता-सम्बन्ध बीचबाट मात्र प्रजनन प्रक्रिया भइरहेकाले वंशाणु कमजोर भएको हो। नजिकका नातेदारबीचका सन्तानमा आमाबुबाबाट आएका जीन मासिन्छन् वा दुर्बल हुन्छन्। टाढाको सम्बन्धबाट प्रजनन भएका सन्तानमा यस्तो समस्या हुँदैन।
माथि उल्लिखित बाघहरू बाहेक तास्मानियन बाघ पनि एक शताब्दीसम्म अस्तित्वमा थियो। तर, त्यो हिजोआज पाइने बाघ जातिको भने होइन। वैज्ञानिक नाम थाइलासिनस् साइनोसेफालस रहेको त्यो बाघ अस्ट्रेलियाको मेलबर्नभन्दा दक्षिणतर्फको तास्मानिया द्वीपमा पाइन्थ्यो। त्यसको रङ झण्डै बाघको जस्तो र काला घेरा ढाडमा छोटो र कम्मरदेखि पुच्छरतिर लामा थिए। टाउको चाहिं कुकुरको जस्तो थियो। हालसम्म यो जातिका पाँच प्रजातिको जीवाश्म पपुवा न्यूगिनीदेखि अस्ट्रेलिया हुँदै तास्मानियामा समेत भेटिएका छन्। तर, तास्मानियन बाघ तास्मानिया बाहेकका ठाउँबाट करीब दुई हजार वर्षअघि लोप भएको अनुमान गरिन्छ।
यूरोपेलीहरू १७औं शताब्दीको शुरूतिर अस्ट्रेलियाको मुख्य भूमिमा पुग्दा तास्मानियन बाघ लोप भइसकेको थियो। तास्मानिया द्वीपमा भने करीब पाँच हजारको संख्यामा रहेको अनुमानित विवरण पढ्न पाइन्छ।
संसारभर प्राकृतिक वासस्थान अर्थात् जङ्गलमा करीब तीन हजार ९०० बाघ छन्। तर, यो भन्दा झण्डै दोब्बर अर्थात् सात हजार बाघ अमेरिकामा चिडियाखाना र निजी स्वामित्वमा रहेको अनुमान गरिन्छ। बाघलाई मानिसको मनोरञ्जनका लागि कैदमा राखिएकोप्रति संरक्षणकर्मीहरूले आपत्ति जनाइरहँदा अमेरिकामा बाघ, सिंह लगायत ‘बिग क्याट’ समूहका जनावरको निजी स्वामित्वमा प्रतिबन्ध लगाउने विधेयक त्यहाँको माथिल्लो सदन सिनेटले हालै पारित गरेको छ। यो विधेयकमा राष्ट्रपति जो वाइडेनले हस्ताक्षर गरेपछि कानूनका रूपमा लागू हुनेछ। नयाँ कानून अनुसार अब उप्रान्त यी जनावरलाई वन्यजन्तु संरक्षित क्षेत्र, विश्वविद्यालय र मान्यताप्राप्त चिडियाखानामा मात्र राख्न पाइनेछ।
उपप्रजाति उद्विकास
‘विकासवादी सिद्धान्त’ का प्रतिपादक चाल्र्स डार्विनले प्राकृतिक छनोटको प्रक्रिया मार्फत जीवहरू समय अनुसार परिवर्तन हुँदै जान्छन् र क्रमिक विकासको त्यही प्रक्रियाबाट नयाँ प्रजाति बन्ने बताए। हिजोआज नयाँ प्रजाति, उपप्रजाति उद्विकासलाई जलवायु परिवर्तन अनुसारको अनुकूलन तथा जीन (आनुवंशिक तत्त्व) परिवर्तनको उपज मानिन्छ।
जलवायुमा परिवर्तनसँगै अनुकूलन हुने जीव नयाँ स्वरूपमा रूपान्तर हुन्छन्, अनुकूलन हुन नसक्ने लोप हुन्छन्। अनुकूलन हुनेहरूका बाहिरी स्वरूपसँगै आनुवंशिक संरचना समेतमा बदलाव भई तिनका डिएनए अनुक्रम परिवर्तन भएको हुन्छ, र कालान्तरमा नयाँ प्रजाति, उपप्रजाति, भेराइटी आदिमा विकास हुन्छन्। कुनै चाहिं नयाँ भूगोलमा पुगेर हजारौं, लाखौं वर्षपछि नयाँ प्रजातिमा रूपान्तरण हुन्छन्। नयाँ प्रजाति, उपप्रजाति बन्ने प्रक्रिया जनावरमा ज्यादै छिटो हुन्छ। वनस्पतिमा प्रजातिगत परिवर्तन देखिन दशौं लाख वर्ष लाग्छ भने जन्तुमा केही हजार वर्षकै अन्तरालमा हुन्छ।
बाघ चीनमा उद्विकास भयो र विभिन्न भागमा फैलियो। क्यास्पियन क्षेत्रको बाघ साइबेरियातिर आवतजावत गर्न सकेन र स्वरूपमा केही फरकपन देखियो। साइबेरिया र चिनियाँ बाघ सम्भवतः यल्लो रिभर क्षेत्रमा भएको याङशाओ सभ्यताका कारण दुवैतर्फ आवतजावत गर्न सकेनन्। यस्तै, साइबेरियादेखि मलेशियासम्मका बाघ समुद्री सतह बढेका कारण इन्डोनेशियाका द्वीपहरूमा आवतजावत गर्न सकेनन्। यसपछि हजारौं वर्षसम्म तिनीहरू पृथक् भूगोलमा रहँदा फरक वातावरण अनुसार केही भिन्न स्वरूपमा देखिए पनि आनुवंशिक रूपमा दुई उपप्रजाति बन्न पुगे।
(वनस्पतिविद् मादेन जैविक विविधताका विविध आयामबारे लेख्न रुचाउँछन्। हिमालको २०७९ पुस अङ्कमा ‘बाघ वृतान्त’ शीर्षकमा प्रकाशित छ।।)