‘मृत्युमार्ग’ छिचोल्दै तिलिचो
कुनै गन्तव्य पुग्दा नखसेको मेरो आँसु तिलिचो पुग्दा तुरुक्क भयो। हिमालमा मान्छे थाक्यो भने हिमाललाई नराम्रो देख्दो रहेछ।
मलाई बाले दुई पल्ट सम्झाउनुभएको छ। पहिलो पल्ट, एसएलसी फेल हुँदा। दोस्रो पल्ट, भर्खरै थोराङ पास गर्न नसकी फर्कंदा।
मेरा बा उमेरले पाको (८६ वर्ष) हुनुहुन्छ, कर्मले जवान। हाम्रा आआफ्ना तीर्थ छन्। बाका तीर्थ मठमन्दिर हुन्। मेरा तीर्थ हिमाल हुन्। हिंड्ने वेला बालाई भनेको थिएँ, “तपाईं मन्दिर गए जस्तै हो म हिमाल जानु। तपाईं मन्दिर जाँदा जति खुशी हुनुहुन्छ, म हिमाल पुग्दा उति नै खुशी हुन्छु।”
छोरो खुशी हुन हिंडेको रहेछ भन्ने थाहा पाएपछि भन्न छाड्नुभयो, “कुहिरोको काग झैं जथाभावी नउड्।”
हामी बा–छोरा आआफ्ना खुशी खोज्न घरबाट एकैदिन निस्किएका थियौं।
हप्ता दिन हाम्रो कुरा भएन।
म तिलिचो पुगेर चामे झर्दा बा पाथीभरा पुगेर घर फर्किसक्नुभएको थियो। मैले फोन गरें। सधैं आमाले उठाउने फोन त्यस दिन बाले उठाउनुभयो।
खबर सोध्नुअघि बाले सोध्नुभयो, “कहाँ पुगिस्?”
“तिलिचो पुगेर फर्किएँ। थोराङ पास गर्न सकिनँ,” हारेको आवाजमा भनें।
म हारेको बाले थाहा पाउनुभयो।
म एसएलसी फेल हुँदा बा जस्तो दुःखी हुनुभएको थियो, त्यस्तै दुःखी हुनुभयो। तर, छोराले थाहा नपाओस् भनेर बलियो देखाउन खोज्नुभयो। बाआमा दुःखी भएको छोराछोरीले थाहा पाउँछन्। मैले थाहा पाएँ।
“चिन्ता नगर्। यो पल्ट नसके अर्को पल्ट सक्छस्। अर्को वर्ष जा। अहिले घर फर्की। सपना नराम्रो देखेको थिएँ। पक्कै तँ पुग्दैनस् भन्ने लागेको थियो।”
बाले ममाथि थुप्रै सपना देख्नुभयो– सरकारी जागीर खाला। ठूलो मान्छे बन्ला। सुखको जिन्दगी बाँच्ला।
बाका कुनै सपना सत्य भएनन्। तर, यसपालि बाको सपना सत्य भयो। बाले सपनामा देखेकै कुरा भयो। थोराङ पास गर्न सकिनँ।
तिलिचो पुग्दा प्रशस्त गलिसकेको थिएँ। ‘अब मलाई हिमालले पुग्यो’ भन्ने भइसकेको थियो। बिहान चार बजे टाउकामा बत्ती बालेर बेसक्याम्पबाट उकालो लाग्दा कैयौं मानिस मभन्दा अगाडि थिए। टाढा टाढा भीरमा जूनकिरी जस्तै देखिन्थे। अँध्यारोमा भीर र कहालीलाग्दो बाटो देखिएन। चूपचाप आफ्नै पैतालाको सङ्गीत सुन्दै उकालो लाग्दा आनन्द आइरहेको थियो।
बिस्तारै उज्यालो भियो। टाढा टाढासम्मको अप्ठेरा बाटा देख्न थालें। बिस्तारै थाक्दै गएँ।
मलाई एक्लो यात्रा मन पर्छ। एक्लै हिंड्दा आफैंसँग बात मार्छु। आफूतिर फर्केर आफूलाई महसूस गर्छु। अरूसँग बोल्दिनँ। पुगेर फर्किनेलाई ‘अब कति समय लाग्छ?’ सोध्दिनँ। चूपचाप पैतालाको ध्वनि सुन्छु। आफ्नै श्वासको गति महसूस गर्छु। यात्रा मेरा लागि ध्यान हो। प्रत्येक वर्ष हिमालतिर लामो यात्रा गर्छु, र सुखबोध गर्छु।
तर, तिलिचो यात्रामा म एक्लो थिइनँ। पत्रकार राजु पौडेल थियो। ऊ र म शहरका यार हौं। चिया पसलमा आआफ्ना सुखदुःखको कथा सुनाउने साथी हौं। मेरो धेरै दुःख र धेरै सुख उसले नजिकैबाट देखेको छ। ऊ मेरो सुख–दुःख थाहा पाउने पहिलो हक राख्ने कैयौं साथीमध्येको एक हो।
१० वर्ष लामो सङ्गतमा हामीले सम्बन्ध जोगाउन आआफ्नो तर्फबाट मिहिनेत गरेका छौं। एकले अर्कालाई दिन सक्ने प्रेम र लिन सक्ने शुभेच्छा बराबर दिएका/लिएका छौं।
तर, शहरको चिया पसलमा मान्छे मिल्नु र हिमालको यात्रामा मान्छे मिल्नु फरक कुरा रहेछ। हिमालमा हाम्रो पैतालाको गति मिल्दैनथ्यो। राजु छिटोछिटो हिंड्थ्यो। म उसलाई भेट्न छिटोछिटो हिंड्थें, र छिटै थाक्थें।
हिमालमा मान्छे थाक्यो भने हिमाललाई नराम्रो देख्दो रहेछ। म तिलिचो पुग्दा यति धेरै थाकेको थिएँ कि मैले तिलिचोको सौन्दर्य महसूस गर्नै सकिनँ। जताततै देखिने सेतो हिमाल प्रियजनको शोकमा रोइरहे जस्तो लाग्यो। म जीवनको अनेकन् साना दुःख छाडेर महादुःखमा आइपुगे जस्तो महसूस भयो।
मेरो जिउ होशमा थिएन। जहाँ पनि थचक्क बस्न मन लाग्थ्यो। जहाँ छोए पनि दुख्थ्यो।
कुनै गन्तव्य पुग्दा नखसेको मेरो आँसु तिलिचो पुग्दा तुरुक्क भयो। राजुले देख्ला कि भनेर आँसुलाई चिसा गालामा जम्न दिएँ। त्यसपछि खुशीको अभिनय गरें, “सानदार यार सानदार! लास्टै रमाइलो।”
नीलो आकाशमुनि नीलै जमेको तिलिचो ताल जीवनको सबैभन्दा ठूलो दुःखमा रोइरहेको जस्तो उदास देखें। त्यहाँ पुग्ने प्रत्येक मानिसले भनिरहे जस्तो लाग्यो, ‘प्रिय तिलिचो, जीवन यस्तै हो। सबैले मर्नुपर्छ। सबैको जीवनमा दुःख छ। हामी पनि अथाह दुःख झेलेर यहाँ आइपुगेका हौं। तँ एक पटक हाम्रा लागि भए पनि मुस्कुरा।’
अर्को यात्रीसँग आफूलाई तुलना गरें। ऊ छिटो हिंड्छ, म ढिलो हिंड्छु भन्ने थाहा पाएँ। ऊ बलियो छ, म कमजोर छु भन्ने थाहा पाएँ। बाटोभरि कतै पनि आफूलाई महसूस गर्न सकिनँ। आफ्नै पैतालाको सङ्गीतले तानेन। आफ्नै श्वासको गति सुन्न सकिनँ। उदास पहाडमा हिंड्नका लागि मात्र हिंडिरहें।
भीरबाट दाजु खस्यो कि भनेर डराउँदै राजु अलि अगाडि मलाई पर्खिरहेको हुन्थ्यो। यो यात्राभरि मैले जस्तै उसले पनि आनन्द लिन सकेन। बाटोमा मेरो प्रशस्त चिन्ता गर्यो। हिंड्नै नसक्नेसँग बेकार आएँ भनेर पछुतायो।
राजुलाई मेरो माया धेरै लाग्यो। साथीलाई छाड्न हुँदैन, पर्खिनुपर्छ। भीरबाट खसेर मर्यो भने के गर्ने? के भन्ने? यात्राभरि राजुलाई यही लाग्यो।
म जस्तै ऊ पनि तिलिचो पुग्दा बेस्मारी गलेको थियो। मलाई लाग्छ, मैले जस्तै उसले पनि तिलिचो कुरूप र मृत महसूस गर्यो। तर, फेसबूकमा मैले जस्तै फोटो हाल्दै लेख्यो, ‘ठाउँ स्वर्ग हो। जिउँदै स्वर्ग देखें।’
स्वर्ग कुनै भूगोल वा गन्तव्य हैन, मनको सुख हो। नर्क भूगोल हैन, मनको दुःख हो। तिलिचो मेरा लागि नर्क थियो। त्यहाँ जाने सल्लाह कसैलाई दिन सक्दिनँ।
**
राजुको जीवनकै पहिलो लामो पदयात्रा थियो। हिमाली यात्रामा जाँदा पालना गर्नुपर्ने सबै नियम उल्लंघन गर्न सक्थ्यो। बाटो हिंड्ने प्रत्येक मानिससँग बोल्छ र तुरुन्तै घुलमिल भइहाल्छ। यात्रामा धेरै साथी बनायो। धेरै मानिसको घर र ठेगाना थाहा पायो।
मेरो जस्तै उसको पनि विदेशीसँग बोल्दाबोल्दै अंग्रेजी सकिन्थ्यो र अभर पर्थ्यो।
ऊ मेरो बा जस्तै थियो। पहाड घर सोध्न भ्याइहाल्थ्यो। भारतको केरलाबाट आएको एक ठिटोलाई सोध्यो, ‘दाइको पहाड घर कता हो?’
नेपाली नजान्ने ठिटो ट्वाँ पर्यो।
त्यसपछि कहाँबाट आएको भनेर अंग्रेजीमा सोध्यो।
सुक्खा भीरको बाटो भएर हिंड्नुपर्छ। बाटो साँघुरो छ। हिंड्दाहिंड्दै माथिबाट ढुङ्गा खसेन भने तिलिचो पुगेर घर फर्किन सकिन्छ।
तिलिचो पुगेर फर्केका एक जोडीलाई राजुले भीरको बाटोमै सोध्यो, ‘अब आउने बाटो कस्तो छ?’
बूढाले भन्यो, "एकदमै अप्ठेरो छ। अगाडि ढुङ्गा झरिरहेको छ। भोलि तिलिचो पुग्ने बाटो त झनै गाह्रो छ।"
राजुले त्यो जोडीको पहाड घर सोध्यो। अनि आफ्नै साथीसँग कुरा गरे झैं जिज्ञासा राख्यो, “पहिलो पल्ट तिलिचो ताल कसले पत्ता लगायो होला है!”
थकित र गलित बूढी चाहिंले झोक्किँदै भनी, “जसले पत्ता लगा’को हो, त्यसलाई भेटे भने म मार्थें। दुनियाँलाई दुःख देको छ। यस्तो भीरमा मान्छे लडेर मर्यो भने कसले जिम्मा लिन्छ?”
त्यसपछि यस्तो जिज्ञासा राजुले कसैसँग राखेन।
**
लमजुङ बेसीशहरमा मनाङ जाने जीपले आफन्तलाई सोधे झैं प्रेमपूर्वक सोध्छन्, ‘हजुर कहाँसम्म जानुहुन्छ?’ अनि यात्रा शुरू हुन्छ मनाङको।
प्रत्येक गाडी चालक तन्नेरी छन्, जसलाई यात्रुको माया लाग्दैन। तर, यात्रुलाई ती चालकको माया लाग्छ। ‘बिस्तारै कुदाऊ भाइ। ज्यानको माया मान्नुपर्छ’ भन्दै चालकलाई फकाउँछन् यात्रु। दुःखको वेला रोइरहेको मान्छेलाई साथीले ‘नरो यार, जिन्दगी यस्तै हो’ भनेर सम्झाउँदा झन् धेरै रुन मन लागे झैं झन् फुर्केर चालक गाडी हुइँक्याउँछ।
मनाङ जाने बाटो सुन्दर छ। बाटोमा डेन्से र अक्टोपस झर्नामा पानी नाचिरहेको देख्दा मन अघाउँदैन। निकट साथीले ईर्ष्या गरोस् भनेर तुरुन्तै फोटो ह्वाट्सएप वा फेसबूक मेसेन्जरमा पठाउन मन लाग्छ। साथीले गर्ने ईर्ष्या जीवनको सुन्दर कुरा हो।
जीपमा सवार सहयात्री आठै जनालाई राजुले साथी बनाइहाल्यो। ती छिटै लगौंटिया यार जस्ता भए। ‘भोलि सँगै ट्रेक गर्नुपर्छ है’ भनेर सल्लाह भयो। तर, ती हामीभन्दा छिटो हिंडे र छिटै एक्ला भयौं।
बाटामा हाम्रो गाडी मर्स्याङ्दीमा खसेन, हामी बाच्यौं।
गुड्दागुड्दै हाम्रो गाडीको स्टेयरिङ भाँचियो। गाडी एउटा ठूलो ढुङ्गोमा ठोक्कियो। त्यहाँ ढुङ्गो नहुँदो हो त गाडी सोझै मर्स्याङ्दीमा खस्थ्यो। मलाई पौडिन आउँदैनथ्यो। पौडिन आउनेहरू पनि पौडिने ठाउँमा पुग्दा मरिसकेका हुन्थे।
गाडीका सबै यात्रु ‘झण्डैको मृत्यु’ सम्झेर बेस्मारी डराए।
राजुले गाडी अड्काउने ढुङ्गोलाई ईश्वर भन्यो। बालबाल बाँचेका सहयात्रीमध्ये केहीलाई उसले सोध्यो, “तपाईंको पेशा के हो?”
कसैले जागीरे भने, कसैले व्यापारी।
“किन सोधेको पेशा?” उसलाई सोधें।
राजुले मेरो कानलाई मात्र पुग्ने आवाजमा भन्यो, ‘समाचारमा मृत्यु हुन्थ्यो कि निधन थाहा पाउन।’
समाचारको भाषा विभेदकारी छ। एकै ठाउँमा एकैचोटि धेरै मान्छे मरे भने पनि कसैको ‘निधन’ हुन्छ, कसैको ‘मृत्यु’।
भीरमा मुटु छाम्दै तल्लो पिसाङ (३,२१० मिटर) पुग्दा घाम हिमालमुनि खसिसकेको थियो। हामीले गाडी छाडिदियौं। बब मार्लीका फ्यानले खोलेको बब मार्ली होटल पस्यौं। बब मार्लीका पोस्टरले होटल सुन्दर देखिएको थियो। डाइनिङमा बब मार्लीको ‘एभ्रिथिङ्स गोन्ना बी अल राइट’ बजिरहेको थियो।
होटल साहु यति धेरै बोल्थे कि, ‘यो रुटमा सबैभन्दा सस्तोमा भात र बास बेच्छु’ भन्थे। तर, तिलिचो हाइक्याम्प पुग्दा उनको गफ यात्राकै सबैभन्दा महँगो प्रमाणित भयो।
सरकारलाई थाहा दिन नहुने एउटा खानेकुरो त्यो होटलमा जति खाए पनि फ्री छ। मान्छे कतिसम्म लोभी हुन्छ भन्ने थाहा पाउन त्यो होटलमा बास बस्दा रमाइलै हुन्छ।
होटल साहु ‘बब दाइ’ भन्दा फुर्किन्छन्। तपाईंलाई मान्छे फुर्क्याउन मन पर्छ भने उनलाई यही सम्बोधन गर्नुभए हुन्छ।
मोटरबाटो अझै बाँकी छ। यहाँबाट २२ किलोमिटर माथि खङ्सार (३,७६० मिटर) सम्म पुग्छ, गाडी।
‘हिमालतिर त हिंड्दा नै रमाइलो हुन्छ,’ हामीलाई लाग्यो।
ठाउँ सुन्दर छ। हरियो जङ्गल छ। जतासुकै हिमाल देखिन्छ। बिहानको घमाइलोमा यहाँबाट यात्रा गर्दा मन फुरुङ्ग हुनुपर्ने हो। तर, बाटो सुन्दर छैन। छिनछिनमा धूलो उडाउँदै गाडी आउँछ। धूलोले अललिन्छ मान्छे। जुन सुखका लागि हिंड्न खोजिन्छ, त्यो सुख भेटिंदैन। शान्ति भेटिंदैन। विदेशी साह्रै कम हिंड्न थालेछन्। ठूलो स्पीकरमा गीत बजाउँदै हिंड्ने नेपाली यात्रीले शान्ति बिथोल्छन्। सबै ठाउँमा सङ्गीत सुन्दर हुँदैन भन्ने सबैलाई थाहा हुन बाँकी छ।
बाटोमा हुम्दे गाउँ पर्छ। साँच्चै सुन्दर। गाउँको चारैतिर सेता हिमाल मुस्कुराइरहेको छ। मर्स्याङ्दीले बनाएको सानो हिमाली उपत्यकाबाट म जस्तो भावुक मान्छेलाई फर्कन मन लाग्दैन। तर, जीवनका अनेक बाध्यताले ओरालो झर्न बाध्य पार्छ।
यहाँ कहिल्यै हवाईजहाज नझर्ने एअरपोर्ट रहेछ। धावनमार्ग पक्की छ। सबै सुरक्षा छ। तर, किन जहाज उड्दैन? मलाई थाहा भएन। थाहा पाउन कसैलाई सोधिनँ पनि।
तल्लो पिसाङबाट हुम्दे पुग्न हामीलाई तीन घण्टा लाग्यो। बाटो सजिलै छ, धेरै उकालो हिंड्नु पर्दैन।
यहाँबाट मनाङ गाउँ पुग्न अरू तीन घण्टा लाग्छ। त्यहाँ जान अलिकति मूल बाटो छाड्नुपर्छ। तर, म मनाङ पुग्दा बाटोसँग, छिनछिनमा धूलो उडाउँदै आउने गाडीसँग, बाटो खन्ने मान्छेसँग प्रशस्त रिसाइसकेको थिएँ। धूलोले सास फेर्न नसक्ने गरी नाक थुनिए जस्तो भएको थियो। जतिसुकै राम्रो र सुन्दर भए पनि म मनाङ नपस्ने भएँ।
मेरो जिद्दीलाई जितेर राजु एक्लै गाउँ पस्न सकेन। लुरुलुरु अघि लाग्यो र टाढा पुगेर मलाई पर्खियो। “यहाँ आएर पनि मनाङ पस्न पाइएन,” गनगन गर्यो।
हामी बाटोसँग रिसाउँदै मनाङको अन्तिम गाउँ खङ्सार पुग्यौं। मोटरबाटो यहाँभन्दा माथि छैन। मोटरबाटो सकियो, मेरो खुशी शुरू भयो।
विकासको नाममा जुन मोटरबाटो पुगेको छ, त्यसले प्रकृति र हिमाली शान्तिलाई चिथोरेको छ।
यो बाटोमा पैदल हिंड्न कसैलाई पनि सिफारिश गर्दिनँ। म जस्तै अरू नरिसाऊन् भन्ने चाहन्छु।
हामी नेपाली हिंड्न खोज्छौं, तर जान्दैनौं। हामीलाई हिमाल पुग्नु छ, तर हिमाल महसूस गर्नु छैन। फेसबूक र इन्स्टामा फोटो हाल्नु छ। साथी पुग्यो, म पनि पुग्छु भन्ने लाग्छ। अनि हामी झोला टिप्छौं र दौडिहाल्छौं। यतिसम्म कि, कस्तो जुत्ता लगाउने भन्ने पनि थाहा पाउँदैनौं। तिलिचो यात्रामा पनि केही यात्री सामान्य जुत्तामै आएका थिए, हिउँको चिप्लो बाटोमा लडिरहेका थिए।
खङ्सारमा हामी बसेको होटलमा बुटवलतिरबाट आएका एक यात्रुलाई लेक लाग्यो। बेसीशहरबाट त्यसै दिन खङ्सार पुग्दा झण्डै तीन हजार मिटरको फरक भूगोल झेल्नुपर्छ। फोक्सो छक्क पर्छ। अनि फोक्सोले बेसीशहर नै खोजेर ‘मलाई पुग्ने अक्सिजन ले’ भन्छ।
भोको फोक्सोको पेट भरिंदैन र टाउकोमा लात्ताले हान्छ। र थर्काउँछ, ‘बाँच्न मन छ भने ओरालो झर्।’ फोक्सोको आदेशमा मान्छे लुरुक्क पर्छ।
लेक लागेका ती यात्री भोलिपल्ट अलि माथिसम्म त गए। तर, घरपरिवार र जीवन सम्झिए, र तुरुन्तै ओरालो झरिहाले।
खङ्सारबाट हामी उकालो लाग्यौं। एक घण्टाको हिंडाइमै तल्लो सिरुखर्क पुगिन्छ। त्यहाँ खाना खाँदा हुन्छ। तर, हामी माथिल्लो सिरुखर्क पुग्यौं, जहाँ एक मात्र होटल छ। बार्दलीबाट हात लम्काउँदा हिमाल भेटिन्छ झैं मनोरम लाग्छ।
आरामले जाने भनेर घाममा पल्टिन लाग्दै थिएँ। होटल साहुनीले भनिन्, “१२ बजेपछि बेस्मारी बतास चल्छ। ऊ त्यो पारिको बाटोमा ढुङ्गा खस्छ। छिटै जानु राम्रो हो।”
उनले ऊ त्यो भनेर देखाएतिर हेरें। हेर्दै सातो जाने भीर छ।
हामी त्यहाँबाट हिंड्यौं।
डरलाग्दो खहरे भीरको साँघुरो बाटो मान्छेको ओहोरदोहोरले झन् साँघुरो हुन्छ। झिनो धर्सो जस्तो बाटोमा कसैको मगज सन्कियो भने के होला? सम्झिँदा सम्झिँदै आफूलाई मर्स्याङ्दीमा खसिरहेको भेट्छु। जो देखे पनि डर लाग्न थाल्यो। त्यहाँ मान्छे कम, दुश्मन ज्यादा देख्न थालें।
जो देखे पनि तिलिचोबाट रिसाएर फर्किए जस्तो लाग्थ्यो। कोहीसँग बोलिनँ।
फर्कनेहरूलाई राजु आफ्नो स्वभाव अनुसार सोधिहाल्थ्यो, “यात्रा कस्तो भयो?”
कुनै सन्काहाले ‘तँलाई किन चाहियो मेरो यात्रा’ भनेर भीरमा ठेलिदियो भने? आङ ढक्क फुल्यो।
“सरासर हिंड् न यार। के कुरा गरिरहन्छ,” लाछी स्वरमा राजुलाई भन्थें।
“बोल्नुपर्छ मान्छेसँग,” ऊ आफ्नै स्वभावमा बत्तिन्थ्यो।
म ज्यानको मायाले भित्तातिर टाँसिएर साइड दिन्थें। त्यति लामो बाटोमा कतै पनि छेउतिर परिनँ। मेरो छेउबाट मान्छे पार भएपछि बाँचें भन्ने लाग्थ्यो। फेरि ढुक्कले हिंड्न नपाई अरू मान्छे भेटिन्थे। फेरि उस्तै पीर।
**
हामी तिलिचो पुगेर फर्कियौं। जानु थियो याकखर्क हुँदै थोराङ ला, तर झर्यौं खङ्सारतिर। जाँदा जुन होटलमा बसेका थियौं, फर्कंदा त्यहीं बास पायौं।
बेसीशहरबाट बाइकमा खङ्सारसम्म आइपुगेका एक प्रेमजोडीले हाम्रो यात्राबारे सोध्यो।
मैले धेरै गाह्रो छ भनें। राजुले ठीकै छ भन्यो।
राजु यात्रीहरूलाई सल्लाह दिन सक्ने गरी जान्ने भइसकेको थियो। जाँदै गरेकाहरूका लागि फर्किनेहरू विज्ञ बराबर बन्छन्। राजु विज्ञ बन्यो र सकेको ज्ञान दिन खोज्योः ‘जीवनजल खानू। टाउको दुख्यो भने सिटामोल खानू। तातो पानी धेरै पिउनू। हिउँको बाटो चिप्ले हुन्छ, ग्रिपवाला जुत्ता लाउनू। बिस्तारै हिंड्नू। पहिरोमुनिको बाटोमा हिंड्नुपर्छ, ढुंगा झर्छ विचार गर्नू।’
तर, त्यो जोडीसँग त सिटामोल पनि छैन। जीवनजल पनि छैन। केटासँग ट्रेकिङ जुत्ता छैन। सामान्य जुत्ता छ।
उसले मैले लगाएको जुत्ता हेर्यो। मैले जुत्ता हल्लाएँ।
उसकी प्रेमिकाकै अघि ‘तँलाई मेरो जुत्ता दिन्छु, जा तिलिचो पुगेर आइज’ कसरी भन्नु?
कत्रो सपना थियो होला तिलिचो पुगेर टिकटक बनाउने! हिउँको चिसोमा हिंड्दाहिंड्दै एकअर्काको चिसो हात समातेर न्यानो बनाउने! दुनियाँले सुन्दर मानेको ठाउँमा पुगेर एकअर्काको ओठमा सुन्दरता खन्याउने!
हिंड्दाहिंड्दै प्रेमीले प्रेमिकालाई ‘गाह्रो भयो?’ भनेर सोध्दा बेस्मारी गलेकी प्रेमिकाले ‘छैन’ भनेर झूट बोल्दा कति सुन्दर सुनिन्छ।
कष्टकर यात्रामा प्रेमी–प्रेमिकासँगै हुनु जति सुन्दर कुरा अरू केही छैन। तर, प्रेमीसँग जुत्ता छैन। कसरी पुग्लान्?
सुत्ने वेला राजुलाई भनें, ‘उसलाई जुत्ता दिऔं।’
राजुसँग अर्को एक जोर सामान्य जुत्ता थियो। उसले आफ्नो ट्रेकिङ जुत्ता त्यो प्रेमीलाई दियो। रेगुलर जुत्ता लगाएर काठमाडौं फर्कियो।
त्यो प्रेमीलाई हिजो टिकटकमा देखें। तिलिचोमा ऊ खुशी भइरहेको थियो। उसले तिलिचोलाई स्वर्ग देख्यो। संसारकै सबैभन्दा सुन्दर ठाउँ ठान्यो। कुनै चित्रकारले कोरेको संसारकै उत्कृष्ट चित्र जस्तो देख्यो। सेतो हिमालमाथि नीलो आकाश, आकाशमुनि नीलो तिलिचो ताल। तालमा आकाश खसे झैं। आकाशमा ताल जमे झैं।
तिलिचोमा बनेका कैयौं टिकटक भिडिओभन्दा सुन्दर भिडिओ त्यो प्रेमीको थियो। तिलिचो पुगेर खुशी भएका कैयौं मानिसभन्दा खुशी त्यो प्रेमी थियो।
नोट: तिलिचो जाने बाटो
लमजुङको बेसीशहर पुग्ने। जीप चढेर खङ्सार पुग्ने। खङ्सारबाट एक दिनमा पुगिन्छ तिलिचो बेसक्याम्प। दोस्रो दिन बेसक्याम्पबाट तिलिचो पुगेर खङ्सार झर्ने। अर्को दिन खङ्सारबाट जीप चढेर बेसीशहर फर्कने।