गत वर्षा याममा ११ अर्बको बिजुली भारत निर्यात
गत वर्षा याममा नेपालले ११ अर्ब रुपैयाँको बिजुली भारतीय बजारमा बिक्री गरेको छ।
गत जेठ १९ गतेदेखि ३ पुससम्म नेपालले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार, देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट निर्यात गरिएको हो।
गत वर्षा यामभरि भारत विद्युत् निर्यात गरेको नेपालले हिउँद शुरू भएसँगै भारतबाट विद्युत् आयात शुरु गरेको छ। हिउँद शुरू भएसँगै चिसो बढ्दा काठमाडौं उपत्यका लगायतमा विद्युत् माग बढेको तर खोलानालामा पानीको बहाव घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरूबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। उनले देशभित्रको उत्पादन घट्दा हिउँद यामका करीब चार महीनाको विद्युत् माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरे। आगामी जेठको पहिलो सातादेखि फेरि भारततिर विद्युत् निर्यात शुरू हुने प्राधिकरणले जनाएको छ।
“देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रूपमा विद्युत् आयात शुरू भएको छ, विद्युत् आयात करीब चार महीनासम्म रहने हाम्रो प्रक्षेपण छ,” कार्यकारी निर्देशक घिसिङले भने, “विद्युत् आयात परिमाण निर्यातभन्दा कम हुने अनुमान छ।” उनले विगतका वर्षहरूमा विद्युत् निर्यात परिमाण आयातभन्दा कम हुने गरेकोमा यस वर्षदेखि निर्यात बढी र आयात कम हुने बताए। यसबाट विद्युत् निर्यात र त्यसबाट प्राप्त हुने रकम दुवैमा नेपाल खुद निर्यातकर्ता बन्ने उनको दाबी छ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको विद्युत् २०७९ जेठ १९ देखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धा मार्फत बिक्री शुरू गरेको थियो। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ।
शुरूमा दुई वटा जलविद्युत् केन्द्रहरूबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री शुरू गरिएको थियो। त्यसपछि जेठ २७ देखि ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो। प्राधिकरणले गत कात्तिक १८ र ३० देखि थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो। योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारततर्फ निर्यात हुने विद्युत्को स्वीकृत क्षमता ४०८ मेगावाट छ।
प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। चालू आवको पुस ३ गतेसम्म एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ आर्जन गरिएको छ।
प्राधिकरणले आईएक्सको प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री र खरीद गर्दै आएको छ। “आईएक्सबाट मात्र खरीद गर्ने या उत्पादकहरूसँग छोटो अवधिको विद्युत् खरीद सम्झौता गरी आयात गर्ने भन्नेबारे छलफल भइरहेको छ‚” घिसिङले भने।
आईएक्समा विद्युत् खरीदबिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ। प्राधिकरणले पुस ३ सम्म निर्यात गरेको विद्युत्को औसत दर प्रति युनिट आठ रुपैयाँ २२ पैसा रहेको छ।